नेपाल पत्रकार महासंघको निर्वाचन आज

सुनसरीमा दुई प्यानलबीच मुख्य प्रतिस्पर्धा


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २५

धरानः नेपाल पत्रकार महासंघको इतिहासमै पहिलोपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् नेतृत्व चयन हुँदैछ ।
आजै देशभरी केन्द्रीय, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयनका लागि मतदान हुँदैछ । बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।
सुनसरीमा २ सय ६२ सदस्यले मतदान गर्न पाउनेछन् । इटहरीस्थित लायन्स क्लबको भवनमा मतदानस्थल तोकिएको छ । सुनसरीमा यसपल्टको निर्वाचनमा मुख्यगरी दुई प्यानलबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि अध्यक्ष पदमा भने चारजनाको उम्मेदवारी परेको छ ।
नेकपा एमाले (ओली समूह) सम्बद्ध प्रेस चौतारीले सन्तोष काफ्लेलाई अघि सारेको छ भने नेपाली कांग्रेससम्बद्ध नेपाल प्रेस युनियन, नेकपा माओवादी केन्द्रसम्बद्ध प्रेस सेन्टर र नेपाल–खनाल समूहको प्रेस चौतारीको संयुक्त गठबन्धनबाट जनकऋषि राईलाई उम्मेदवार छन् । यस्तै, कांग्रेसनिकट प्रेस युनियनबाट दुईजनाको बागी उम्मेदवारी परेको छ । सुविद गुरागाईं र सचिन पोखरेलले बागीको उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्षमा संयुक्त प्यानलबाट गणेश निरौला र प्रेस चौतारीको गठबन्धनबाट सुमन पुरीबीच प्रतिस्पर्धा हुनेछ । महिला उपाध्यक्षमा भने चारजनाबीच प्रतिस्पर्धा देखिएको छ । उपाध्यक्षमा संयुक्त प्यानलबाट उषाकिरण भट्टराईको उम्मेदवारी परेको छ भने ओलीनिकट प्रेस चौतारीबाट सुमित्रा राई (सञ्जु) को उम्मेदवारी परेको छ । कांग्रेसनिकट प्रेस युनियनकी रञ्जना पौडेलले बागी उम्मेदवारी दिएकी छिन् । मनिता चाम्लिङले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् । राजनीतिक आस्थाभन्दा बाहिर स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएकी उनीप्रति पनि स्वतन्त्र पत्रकारहरुको सहानुभूति हुन सक्ने देखिएको छ ।
सचिव पदमा पनि बागी उम्मेदवारी परेको छ । सचिवमा तीनजनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी गठबन्धनबाट दिनेश गजमेरको उम्मेदवारी छ भने संयुक्त गठबन्धनबाट ध्रुव ढकालको उम्मेदवारी छ । प्रेस सेन्टरबाट भरतराज शर्मा (गोपाल कामत) ले बागी उम्मेदवारी दिएका छन् ।
सहसचिवमा प्रेस चौतारी गठबन्धनबाट विकल रेग्मी र प्रेस युनियन गठबन्धनबाट तीर्थबहादुर कार्कीको उम्मेदवारी रहेको छ । सहसचिवकै समावेशी पदमा प्रदीपकुमार चौधरी र भोला श्रेष्ठबीच पनि प्रतिस्पर्धा हुनेछ । यता कोषाध्यक्षमा अतिजकुमार झा, कृष्ण प्रसाद वहाव भट्टराई र निशान प्रकृति थारुबीच प्रतिस्पर्धा हुने भएको छ ।
पत्रकार महासंघ सुनसरीको कार्यसमिति सदस्यमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय परिषदको महिला सदस्यमा पनि एकजना भइसकेका छन् भने प्रदेश परिषदको महिला सदस्यमा पनि निर्विरोध भइसकेको छ । यस्तै, प्रदेश परिषदको समावेशी सदस्यमा पनि निर्विरोध भइसकेको छ ।
महासंघले भ्रममा नपरी आफूले मतदान गर्न पाइनेहरुलाई मात्र मतदान गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप