धरानमा रित्तो गाग्री प्रदर्शन


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

धरानः पानी माग्दै धरान उपमहानगरपालिकाअगाडि प्रदर्शन भएको छ ।
खानेपानीपीडित धराने एक होऔं, धरान खानेपानी व्यवस्थापन बोर्डको शर्तअनुसारको खानेपानी खोइ, जारको पानीले नुहाउन सक्दैनौं, बहानाबाजी चल्दैन, भागेर, लुकेर धर पाइँदैन, जनताको सर्वोच्चता लागू गर, जिम्मेवारी बहन गरलगायतका नाराबाजी गर्दै धरान उपमहानगरपालिका अगाडि रयाली आइपुगेको थियो ।
प्रदर्शन भइरहँदा व्यापकरुपमा सुरक्षाकर्मी पनि तैनाथ गरिएको थियो । धरान दीर्घकालीन खानेपानी संघर्ष समितिले उपमहानगरपालिकाअगाडि रित्तो गाग्रीसहित प्रदर्शन गरेको हो । संयोजक हर्क साम्पाङले एडिबी परियोजना असफल भएको भन्दै धराने जनतालाई नढाँट्न आग्रह गरे ।
नेपाल खानेपानी संस्थानलाई धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेपनि धरानका अधिकांश वडामा पानीको समस्या ज्युँका त्युँ छ । बोर्डका कर्मचारी भने अब धरान–१६ र ११ मा मात्रै पानीको समस्या रहेको बताउँदै आएका छन् । ‘यसअघि १५ र १६ नं. वडामा बढीजसो पानीको समस्या थियो, अहिले १६ र ११ मा पनि त्यस्तै समस्या छ, त्यो समस्या केहीदिनपछि हल गर्ने प्रयत्नमा छौं ।’ ती कर्मचारीले भने ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीले धरानमा खानेपानीको चरम अभाव देखिएको भन्दै ज्ञापनपत्र बुझाएको छ । नेता अइन्द्रविक्रम बेघासहितको नेताहरुको टोलीले उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएको थियो । यस्तै, केन्द्रले सुकुम्बासीहरुका लागि धनीपुर्जा प्राप्त गर्नका लागि फारम भर्ने प्रक्रिया सुरु गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको नेता बेघाले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप