धरानमा पानीको जीर्ण संरचना खोज्दै मेयर

बोर्ड मर्मतमै व्यस्त, बोर्डका कर्मचारीलाई गुनासो सुन्दै ठीक्क, पूर्णरुपमा पानीको समस्या हल हुन समय लाग्ने भयो तः आयोजना प्रमुख पोखरेल


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २४

धरानः नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज भएको एक महिना बढी भइसकेको छ । साविक संस्थानको अधिकांश संरचनाहरु जीर्ण अवस्थामा छन् । संस्थानको अधिकांश मेसिनरी सामग्रीलगायत पाइपहरु जीर्ण भएकै कारण धरानमा खानेपानी वितरणमा समस्या आएको पाइएको छ ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवं नगर प्रमुख तिलक राईको निर्देशनमा रातारात कामहरु भइरहेका छन् । सोमबार राति पनि नगर प्रमुख राई चारकोशे जंगलमा मर्मत हुँदै गरेको पम्प हाउसको अवलोकन तथा निरीण गर्न पुगेका छन् ।
‘धरानमा पानीको समस्या छ । हामी धरानेहरुलाई थाहा छ । त्यही कारण पनि समस्यालाई हटाउनका लागि आयोजना आएको हो । आयोजनाले नेपाल खानेपानी संस्थानको हस्तान्तरण भएर अहिले संरचनाहरु जिम्मा लिएको छ ।’ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भने, ‘लिइसकेपछि खानेपानी सहज हुनुपर्ने धराने जनतालाई लाग्नु स्वभाविक हो । तर, त्यो लिइसकेपछि त्यसमा भएको कमी–कमजोरी सुधार गर्न, जीर्ण संरचना मर्मत र बनाउन ज्यादै ठूलो समय लागिरहेकोछ ।’
साविक संस्थानको पुराना संरचनाहरु निर्माणको क्रममा रहेको उनले बताए । उनले भने, ‘चारकोशे जंगलमा संस्थानको चार वटा पम्प हाउस छन् । त्यस मध्ये ३ नं. र ८ नं. पम्प हाउस बिग्रिएको अवस्थामा थियो । बिग्रिएका कारण पानी उत्पादन हुँदैनथ्यो । ३ नं. पम्प केहीदिन अघि मात्र दुईदिन लगाएर बनाइसकेका छौं ।’

उनले संरचनाहरु अत्यन्तै जीर्ण रहेको बताउँदै पम्पमा आवश्यक पर्ने सामग्रीहरु भारतबाट ल्याउननुपर्ने बताए । ‘तर, अहिले कोरोनाका कारण सामान ल्याउनमा कठिनाइ भइरहेको छ’, उनले भने, ‘त्यसकारण ८ नं. पम्पको पुरानै संरचनाको मर्मत गरेर बनाएका हौं ।’
धरानमा हिजोअस्तिको भन्दा पानीको अलिक सहज हुने उनले बताए । ‘तर, पूर्णरुपमा पानीको समस्या अहिले नै समाधान हुने स्थिति छैन’, उनले भने, आयोजनामा खानेपानी संस्थान मर्ज भइसकेपछि ९ महिनाको अवधि चाहिँ मेनटेन गर्ने र अपरेशन गर्ने समय हो, हामीले अहिलेसम्म पाइप फेरयौं, अहिले ड्राई सिजन भएकोले पानी ज्यादै कम छ ।’ पोखरेलका अनुसार विभिन्न स्थानमा नन रेगुलेटर भल्व फेर्ने काम आजबाट शुरु हुँदैछ ।
साविक संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको छ । चुहावटकै कारण रिजर्भ ट्याङ्कीमा पानी तान्न समेत समस्या भएको उनले बताए । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो । खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सूचना नै जारी गरेर चारकोशे जंगलमा रहेको साविक संस्थानको मेन टङकलाइन पाइपको गएको बिहीबार राति नै मर्मत गरिसकेको छ ।
कर्मचारीलाई गुनासो सुन्दै ठीक्क
धरानस्थित खानेपानी बोर्डको कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीलाई पनि गुनासो सुन्दै ठीक्क रहेको पाइयो ।
‘खासमा भन्ने हो भने दिनमै धेरै गुनासो आउँछ, खातामा दिनहुँजसो गुनासो र फोन नम्बर छाड्न लगाउँछौं र गुनासो सुनिसकेपछि पठाउँछौं, संस्थान बोर्डमा मर्ज भइसकेपछि समस्या हरेकदिन आइरहेका छन्, साँच्चै भन्ने हो भने हामीले काम गर्न पाएका छैनौं, गुनासो सुन्दासुन्दै समय बितेको पत्तै हुँदैन ।’ बोर्डका एक जिम्मेवार कर्मचारी भन्छन्, ‘बोर्डमा रहेका र बोर्डका जिम्मेवार व्यक्तिहरुलाई यो कुरामा चासो न चिन्ता छ ।’
बोर्डका पदाधिकारीले कर्मचारीलाई योेजना, स्टिमेट साथै धरानेलाई कसरी पानी खुवाउने आदिबारेमा केही जानकारी नदिँदा पनि आफूहरु अलमलमा परेको र धराने काकाकुल बन्दै गएको उनले बताए । ‘साँच्चै भन्दा अहिलेसम्म कर्मचारी पनि पूरा भएका छैनन्, बोर्डमा प्राविधिक, इन्जिनियर नै पूरा छैनन्, कसरी काम गर्ने भन्ने अन्यौलता छ, यसका लागि पनि बोर्डले चासो दिएको छैन ।’ ती कर्मचारी भन्छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप