सुनसरीका पत्रकारलाई चुनाव लाग्यो, दौडधुप शुरु

अध्यक्षमा जनकऋषि राई र सन्तोष काफ्लेबीचको भिडन्त पक्का, बागीको लर्को, कांग्रेसनिकट युनियनबाट अध्यक्षमै दुईजना बागी


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २२

धरानः सुनसरीका पत्रकारलाई पनि चुनावले छपक्कै छोपेको छ । अहिले कुन पार्टीको प्यानललाई जिताउने भनेर पत्रकारहरु नै पनि दौडधुपमा लागिरहेका छन् ।
नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि सुनसरी जिल्लामा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । यसपटक अध्यक्षका लागि जनकऋषि राई र सन्तोष काफ्ले चुनावी मैदानमा होमिएका छन् । नामावली प्रकाशनपछि उनीहरुको भिडन्त पक्कापक्की भएको हो ।
जनकऋषि योसँगै तेस्रोपटक अध्यक्ष पदका लागि चुनाव लड्दैछन् । उनी नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल (माओवादी केन्द्रनिकट) र प्रेस चौतारी नेपाल (माधव नेपाल र झलनाथ खनाल) को अलाइन्सबाट चुनावी मैदानमा छन् भने सन्तोष प्रेस चौतारीको दुई खेमामध्ये ओली समूहबाट एक्लै प्रतिस्पर्धामा छन् ।
काफ्लेले चुनाव आउनुअघि नै अध्यक्ष पदको लागि उम्मेद्वारी पक्कापक्की गरेर चुनावी मैदानमा होमिइसकेका थिए भने राईको अलाइन्सबाट आजैमात्रै अध्यक्ष पद टुङ्ग्याइएको थियो ।
राईको प्रस्तावकमा गंगा पौडेल (बराल) रहेकी छिन् भने समर्थकमा पवन अधिकारी छन् । यस्तै, काफ्लेको प्रस्तावकमा हिमाल दाहाल र समर्थकमा चन्दन गुप्ता रहेका छन् ।
यस्तै, राई प्यानलबाट उपाध्यक्ष पदमा गणेश निरौला रहेका छन् । महिला उपाध्यक्षमा उषाकिरण भट्टराई, रञ्जना पौडेल, स्वतन्त्र उपाध्यक्षमा मनिता चाम्लिङ र ओलीनिकट प्रेस चौतारीबाट सुमित्रा राई (सञ्जु) चुनावी मैदानमा छन् ।
यस्तै, सचिव पदको उम्मेद्वारका लागि प्रेस चौतारीबाट दिनेश गजमेर, अलाइन्सबाट ध्रुव ढकाल र बागीमा भरतराज शर्मा (गोपाल), पर्शुराम (विनय) बाह्रकोटी रहेका छन् ।
यस्तै, सहसचिवमा अलाइन्सबाट तिर्थबहादुर कार्की, प्रेस चौतारीबाट विकल रेग्मी रहेका छन् । यस्तै, हिमाल राई सहसचिवमै प्रेस युनियनबाट बागीमा उठेका छन् ।
यस्तै, समावेशी सहसचिवमा प्रेस चौतारीबाट निशान प्रकृति थारु र अलाइन्सबाट भोला श्रेष्ठ रहेका छन् भने प्रदीपकुमार चौधरी बागीमा उठेका छन् । कोषाध्यक्ष पदका लागि अजिकुमार झा, कृष्णप्रसाद बहाव भट्टराई, निशान प्रकृति थारु चुनावी मैदानमा छन् ।
यसअघि अलाइन्सबाट गंगा बराल र राईमा को उठ्ने भन्ने थियो तर बराल एक कदम पछि हटेपछि राईको उम्मेदवारी पक्का भएको हो । ‘धेरैपटक उठेर कोसिस गरेको र यसपटक छोडिदिऔं भनेर छाडिदिएँ’, बरालले भनिन्, ‘उहाँको यसपटक राम्रै छ ।’ अध्यक्षमा बागी दिएका दुईजनाले नाम फिर्ता लिनसक्ने सम्भावना रहेको जनाइएको छ ।
निर्वाचन कार्यक्रमअनुसार आइतबार साँझ ६ बजेसम्ममा पहिलो नामावली प्रकाशन गरिएको छ । उम्मेदवारको नाम फिर्ता लिने समय भोलि दिउँसो २ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली भोलि दिउँसो ४ बजे प्रकाशन गरिनेछ ।
आगामी २५ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पत्रकारहरुले उम्मेदवारलाई मतदान गर्ने समय निर्धारण गरिएको छ ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप