आजको स्तम्भः रमाइलो शनिबार (शिक्षा र बालबालिका विशेष)

खर्च जुटाउन ‘सडकमा विद्यार्थी’

धरानमा पढाइ खर्च जुटाउन फुटपाथमा नलजाइ कपडा बेच्दै प्लस टु सकेका विद्यार्थी (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २१

धरानका अधिकांश विद्यार्थी फुर्सदमा गफ चुटेर, विभिन्न ठाउँ घुमेर, साथीभाइसँग रमाइलो गरेर साथै घरमै पनि मोबाइलमा झुम्मिएर बसिरहेको पाइन्छ । नराम्रो सङ्गत भेट्ने कोही कोही बिग्रिएर पनि अभिभावकलाई समेत हैरान पारिरहेका हुन्छन् ।
तर धरानका एक विद्यार्थी जो पढाइ खर्च जुटाउनका लागि दिनहुँजसो सडक छेऊ अर्थात् फुटपाथमा कपडा बेच्न तल्लिन छन् । उनी हुन्– मोहम्मद जुवेर । उनले फुटपाथमा मोजा, सस्तो भेष्ट बेच्दै आएका छन् । बाबुले ५० औं वर्षअघि गर्दै आएको व्यवसाय उनले धान्दै आएका छन् ।
यसअघि पनि उनको दैनिकी थियो–बिहान धरान–१ स्थित धरान आदर्श कलेज पुग्यो, पढ्यो अनि दिनभरी कपडा बेच्न लागिहाल्यो । धरान आदर्शबाट म्यानेजमेण्ट सङ्कायमा कक्षा–२ सिध्याएका उनले अहिले पनि सो काममा निरन्तरता दिइरहेका छन् । धरान–९ दीपपथमा रहेको बुद्ध आदर्श बोर्डिङ स्कुलबाट एसइई दिएका उनले त्यतिबेला पनि ‘ए’ श्रेणीमा उत्तीर्ण भएका थिए । ‘अहिले पनि पढाइमा खासै कमजोर छैन’, उनले भने ।
उनको अहिलेको दैनिकी फुटपाथमै बित्छ । धरान–१२ को मुख्य सडकको एक घरको एक छेऊमा उनको व्यवसाय चल्छ । ‘दिनभरी टन्टलापुर घाम हुन्छ, केही पनि बिक्री हुँदैन’, उनले भने, ‘जब घाम ढल्किन्छ, केही बिक्री हुन थाल्छ, त्यसैले परिवारको गुजारादेखि पढाइ खर्च समेत जुटाउँदै आएको छु ।’
उनी खासमा किन फुटपाथमा कपडा बेच्छन् ? प्रश्न गरियो । ‘जब मैले एसइई पास गरें, त्यतिबेलादेखि नै मैले धोको पालेको थिएँ– बिआएम पढ्ने’, उनले भने, ‘त्यही बिआइएम पढ्नका लागि रकम जुटाउनका लागि पनि यस्तो कार्य गरिरहेको छु ।’
बिआइएम त्रिभुवन विश्वविद्यालयको आइटी सेक्टरको विषय हो । यस विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । ‘विशेषतः आइटी सेक्टरलाई सहयोग पुग्ने र व्यवसायलाई पनि सहयोग पुग्ने हुनाले मैले पनि यो विषय रोजेको छु’, उनले भने, ‘तर यो विषय पढ्न महङ्गो खर्च लाग्छ, त्यही भएर खर्च जुटाउनकै लागि पनि अहिले सडकमा छु ।’
उनका अनुसार यो कार्यक्रम सक्न लगभग ५ देखि ६ लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । अहिले खर्च जुटाउन धौधौ रहेको उनले बताए । ‘दिनमा १ हजार पनि कमाइ हुँदैन’, उनले भने, ‘अहिले उधारो सामान ल्यायो, तिरयोबाहेक केही छैन, ५–७ लाख रुपैयाँ कसरी जुटाउने भन्नेमा अन्यौल छु ।’ उनले भने ।
उनका अनुसार धरानमा सुनसरी टेक्निकल कलेजमा पनि यो विषयमा अध्ययन अध्यापन हुने गरेको छ । ‘सुनसरी टेक्निकल कलेजमा पनि यो विषय पढ्न पाइन्छ, म त्यहीँ पढ्ने सुरसारमा छु तर पढ्नका लागि खर्च पो पुग्छ कि पुग्दैन, हेरौं ।’
उनले यो व्यवसाय गर्न थालेको पनि ४–५ वर्ष भइसकेको छ । उनको यो व्यवसाय बाध्यता हो रे । ‘खासमा पढाइ खर्च जुटाउनैपरयो, बुबाआमालाई पनि हेर्नैपरयो, त्यही भएर यो पेशा अङ्गालेको हुँ ।’
यो व्यवसायबारे उनलाई कक्षा–१ पढ्दादेखि नै बढी जानकार छन् । उनका बुबा पनि कपडाकै व्यवसाय गर्दथे । बिहानदेखि बेलुकीसम्म साइकलमा डोहोरयाउँदै कपडा बेच्ने उनका बाबु अहिले थाकिसके । ‘खासमा भन्ने हो भने बुबा हिँडेर व्यवसाय गर्न सक्नुहुन्नँ’, उनले भने, ‘त्यही भएर अहिले मैले सहयोग गर्दै आएको छु, पढाइ खर्च पनि जुटाउनु छ ।’
उनले धेरै सफल व्यवसायको जीवनी पनि पढिसकेका छन् । धरानमै पनि सुन्दै आएका छन्– नाङ्लो, फुटपाथमा सामान बेचेरपनि सफल व्यवसायी बनेका छन् । त्यस्तै, विदेशतिरका सफल व्यवसायीका जीवनी उनी बढीजसो अध्ययन गर्छन् । उनको भविष्यको लक्ष्य– सफल व्यवसायी बन्ने हो । ‘सफल व्यवसायी बन्नका लागि अध्ययन पनि जरुरी छ, त्यही भएर बिआइएम पढेर बिजनेशलाई सहयोग पुगोस् भन्ने चाहना छ ।’ उनले भने । तस्वीरः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप