धरानमा बास्केटबलका दक्ष प्राविधिक तथा रेफ्री उत्पादन गर्न क्लिनिक

दक्षलाई रेफ्री लाइसेन्सको लागि सिफारिस गरिने


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २१

धरानः धरान बास्केटबल संघको आयोजना तथा नेपाल बास्केटबल संघ र सुनसरी बास्केटबबल संघको सहयोगमा सम्पन्न बास्केटबल रेफ्री क्लिनिक समापन भएको छ ।
चैत्र १७ देखि २० गतेसम्म सम्पन्न क्लिनिकमा धरान, इटहरी, तरहरा, मोरङ र झापाबाट २७ जना प्राविधिक तथा खेलाडीहरुले सहभागिता रहेको थियो ।
धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न क्लिनिकमा सहभागिहरुलाई समापनको दिन सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई क्लिनिकका मुख्य प्रशिक्षक राजकुमार महर्जन र नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुवेदीले प्रमाणपत्र वितरण गरेका थिए । मुख्य प्रशिक्षक महर्जन फिवाको मान्यता प्राप्त एक मात्र अन्तराष्ट्रिय बास्केटवल रेफ्री हुन् ।
कुनैपनि खेलमा व्यवस्थित खेल सञ्चालनका लागि प्राविधिक टिमको महत्वपूर्ण भूमिका रहने हुनाले बास्केटबबल खेलमा दक्ष प्राविधिक तथा रेफ्री उत्पादन गर्ने उद्देश्यले क्लिनिकको आयोजना गरिएको बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाले जनाए । यसअघि पनि संघले दक्ष प्रशिक्षक एवं प्राविधिक उत्पादनका लागि विभिन्न प्रशिक्षण कार्यक्रममा सुनसरीका प्रशिक्षक तथा प्राविधिकहरुलाई सहभागिता गराइसकेको लामाले बताए ।

क्लिनिकमा सहभागीमध्येबाट सम्भावित दक्ष प्राविधिकलाई रेफ्री लाइसेन्सको लागि बास्केटवल संघलाई सिफारिस गरिने जिल्ला बास्केटबल संघ सुनसरी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
क्लिनिकका मुख्य प्रशिक्षक महर्जनको सल्लाहबमोजिम लाइसेन्सका लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले जनाए । चार दिनको क्लिनिकमा सहभागीहरुलाई लिखित र प्राक्टिकल दुवै गराइएको थियो । उनीहरुलाई लिखित र प्राक्टिकल रुपमा फिटनेस परीक्षा समेत लिइएको छ । यसैको नतिजाको आधारमा लाइसेन्सको लागि सिफारिस गरिने संघले जनाएको छ । क्लिनिकमा प्रदेश १ का बास्केटवल टिम क्याप्टेन नविन राईसहित विभिन्न क्लबका खेलाडीहरुले समेत सहभागिता जनाएका थिए ।
समापन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलास लिम्बूले स्वागत मन्तव्यसँगै सहभागीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, संघका पूर्व सल्लाहकार कुन्जन श्रेष्ठ, प्रदेश १ बास्केटबल मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप