आजको स्तम्भः अर्थतन्त्र विशेष

साकेला सिली सिक्न व्यस्त धराने पुस्ता

धरान उपमहानगरपालिका र संस्थाको लगानी (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १७

धरानः धरानमा धेरै युवापुस्ता साकेला सिलीबारे जानकार छैनन् । सिली नाचेको खुब देख्छन्, नाच्छन् पनि तर यो नाच कुन संस्कार, परम्परा र रितिरिवाजमा नाचिन्छ भनेर जानकार भने छैनन् । यसै कुरालाई मध्यनजर गर्दै धरानमा साकेला सिली सिकाउन थालिएको छ ।
धरान–१० स्थित किरात राई यायोक्खाको भवनमा सो संस्कार, संस्कृति सिकाउन थालिएको हो । १५ दिनसम्म यस्तो प्रशिक्षण दिइएको हो । महेश्वर राईले अहिले दिनहुँ प्रशिक्षण दिइरहेका छन् ।
युवापुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउन लागिपरेको किरात राई यायोक्खा धरान नगर अध्यक्ष लोकेन्द्र राई बताउँछन् । ‘बाबुबाजेको अन्त्यसँगै साकेला सिलीको मौलिकता लोपोन्मुख अवस्थामा पुगेको छ । यसको पुस्तान्तरण हुन जरुरी छ’, अध्यक्ष राईले भने, ‘युवालाई संस्कार संस्कृतिको बारेमा जानकारी गराउने र संरक्षणका लागि सचेत बनाउने हाम्रो उद्देश्य हो ।’
प्रशिक्षणमा साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका विषयमा मौलिकतालाई उजागर गर्ने, साकेला सिलीको विषयमा समान बुझाइको विकास गर्ने लगायतका लक्ष्य राखिएको जनाइएको छ ।
‘खासमा भन्ने हो भने हामीले ढोल, झ्याम्टाका बारेमा जानकारी साथै कुन बेला, कुन सिली नाचिन्छ, साकेला थानमा नाचिने सिली, साकेला थानसम्म जाँदा बाटोमा बजाइने सिली, छोरीचेलीलिाई चुलाबाट निकालिने संस्कार, ताल आदिबारे जानकारी दिन खोजिएको हो’, अध्यक्ष राईले भने, ‘यस्ता कुराले हाम्रो संस्कार, संस्कृति जोगिन्छ भन्ने नै हो ।’
संस्थाका उपाध्यक्ष सन्तकुमार राई (सन्तोष) ले धरान उपमहानगरपालिकाले एक लाख रुपैयाँ दिएको र संस्थाको २० प्रतिशत रकमले यस्तो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए । किरातीहरूको इतिहास र जीवनशैलीसँग सम्बन्धित साकेला नृत्य नजान्नेहरूका लागि प्रशिक्षण सुरू गरिएको उनले जानकारी दिए । अहिले तीन दर्जन बढीले साकेला सिली सिकिरहेको उनले जानकारी दिए । साकेला सिली नृत्य मात्र नभई यसको सम्बन्ध सिङ्गो किरात राईहरुको सभ्यता र पहिचानसँग जोडिएको उपाध्यक्ष राईले बताए । उनले जो जो प्रशिक्षित हुनेछन् उनीहरूले आ–आफ्नो टोलमा पुगेर नजान्नेहरूलाई सिकाउने विश्वास व्यक्त गरे ।
‘अहिले नै पछिल्लो युवापुस्ता पनि साकेला मजाले नाच्न थालिसकेका छन्’, उनले थपे, ‘युवाहरुमा आफ्नो संस्कृति जोगाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । उनीहरु प्रशिक्षित भइसकेपछि टोलटोलमा पुगेर सिकाए बेस हुन्थ्यो ।’
धरानका राई जातिको परम्परा र चाडअनुसार के वृद्ध, के युवा र बच्चा सबै गोलाकार भएर साकेला सिली नाचिरहेको भेटिन्छन् । उभौली र उधौली किरातीहरुको महत्वपूर्ण चाड, संस्कृति हो ।
साकेला सिली किरात राईहरुको पहिचान र राईहरुलाई एकताको सुत्रमा बाँध्ने सांस्कृतिक अमूल्य निधी भएको अध्यक्ष राई बताउँछन् ।
ढोलको ढ्याङ्कढ्याङ्कु र झ्याम्टाको झ्याम्झ्याम आवाजसँगै राई समुदायहरुले हातले विभिन्न हाउभाउ देखाउदै साकेला नाच्न थाल्छन् । त्यो हाउभाउलाई सिली भनिन्छ ।
किरात राईहरुले वर्षमा दुईपटक प्रकृतिको पूजा गर्छन् । आफ्नो पुर्खाहरुको स्मरण गरेर घरभित्रको पवित्र चुलालाई पुज्छन् । किरातीहरु प्रकृतिलाई सबथोक मान्छन् र पूजा गर्छन् । यस्तै, पुर्खाहरुकै कारण आफ्नो अस्तित्व भएकोले पुर्खाहरुको सम्मान गर्छन् । बैशाखे पूर्णेलाई साकेला उभौली र मंसिरे पूर्णेलाई साकेला उधौली भनिन्छ ।
मङ्सिरे पूर्णेमा पाकेको अन्नबाली घरभित्र हुलेपछि आफ्ना पितृहरुलाई चढाएर आफन्तजनसँग भेट गरी नयाँ बाली खाने र हर्षोल्लासले साकेला नाचिन्छ । यसलाई उधौली भनिन्छ ।
यस्तै, नयाँ अन्नबाली लगाउने बेला जिमी–भूमि, खोला नाला, हावापानीजस्ता प्रकृतिको पूजा गरेर प्राकृतिक प्रकोप नहोस्, अन्नबाली सप्रियोस्, सबै प्राणीहरुमा सुखशान्ति होस् भन्ने कामना गर्दै बैशाखे पूर्णेदेखि १५ दिनसम्म गाउँघर, टोलछिमेकमा साकेला नाचिन्छ । यसलाई साकेला उभौली भनिन्छ । उभौली लागेपछि बेसी झरेका करयाङकुरुङ र माछाहरु लेकतिर चढ्छन् । यसले वर्षायाम शुरु भएको र खेतीपाती गर्ने समय आएको पनि जनाउ दिन्छ ।
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप