
सानैदेखि कलाकारिता क्षेत्रमा लाग्छु भन्ने सोंच पालेकी रेखा फागो लिम्बू अहिले मोडल अनि नायिकाका रुपमा परिचित छिन् । संखुवासभाको पोखरी बजार (हाल चैनपुर नपा) मा जन्मिएकी उनी सानैदेखि फिल्मी क्षेत्रतर्फ रुचि लाग्ने गरेको बताउँछिन् । हाल उनको धरान–१३ मा छ ।
‘म युकेजीमा पढ्थें, घरमा ठूलो टिभी थियो, बजारको चोकमै घर थियो, त्यतिबेला बुबाआमाले टिभीमा फिल्म देखाउनुहुन्थ्यो, म सोंच्थे र लाग्थ्यो टिभीभित्र पनि ‘रियल’ मान्छे हुन्छन् र टिभीको वरिपरी घुमी घुमी पनि हेर्थें । म पनि पछि ठूलो भएर टिभीभित्र पसेर देखाउँछु भन्ने पहिलादेखि नै लागेकै हो ।’ उनले भनिन्, ‘त्यही बेलादेखिको प्यासनले अहिले कलाकार बनायो ।’
उनले दर्जनौं म्युजिक भिडिओमा अभिनय गरिसकेकी छिन् । ‘हामी कलाकारलाई म्युजिक भिडियोले इनर्जी दिन्छ भन्ने मैले बुझेको छु, यसले फिल्म क्षेत्रमा अघि बढ्न पनि सहयोग गर्छ ।’ उनले भनिन् । उनको तीनवटा फिल्म रिलिज हुन बाँकी छ । ‘तारेभिर’ फिल्मबाट फिल्ममा प्रवेश गरेकी उनले अहिले पनि फिल्म खेलिसकेकी छिन् । ‘फिल्म पनि खेल्दै आएको छु नि’, उनले भनिन्, ‘तीनवटा फिल्ममा अभिनय गरिसकेको छु, रिलिज हुन बाँकी छ ।’
मार्सल आर्टको ट्रेनिङ लिएकी उनले सानैदेखि नृत्यमा पनि पोख्त थिइन् । धरानमा बसेर मोडलिङ एवं अभिनय यात्रालाई अगाडि बढाएकी उनी कला यात्रालाई निरन्तरता अगाडि बढाइरहेकी छिन् । २०१२ मा मिस लिम्बूमा सहभागिता जनाएपछि आफूले यस क्षेत्रलाई निरन्तरता दिँदै अघि बढेको बताउँछिन् ।