
केराबारीः खेलकुद विकास समिति केराबारी २ ले नववर्ष २७०८ को अवसरमा प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
समितिले आइतबार केराबारीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । प्रथम जेफाले प्रदेश नम्बर १ पालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता नाम दिइएको सो प्रतियोगिता बैशाख ३ गतेदेखि सञ्चालन हुने आयोजक खेलकुद विकास समिति केराबारी २ ले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, झापाको बिर्तामोड नगरपालिका र दमक नगरपालिका, मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन् ।
२०४३ सालदेखि निरन्तर रुपमा हरेक नयाँ वर्षको अवसरमा भलिबल प्रतियोगिता गर्दै आएको भन्दै यसपटकदेखि दायरा बढाएर प्रदेश एकका पालिकास्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
नयाँवर्षको अवसरमा केराबारी २ सिंहदेवीस्थित जेफालेमा सांगीतिक कार्यक्रम, साहित्यिक कार्यक्रम अन्तरगत श्रृजना वाचन कार्यक्रम पनि गरिने आयोजकको भनाई छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाणपत्र यस्तै द्वितिय हुनेले नगद ५० हजार, कप मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा करिब ७ लाख खर्च हुने आयोजकको अनुमान छ ।