आजको स्तम्भः स्वास्थ्य विशेष

डाँडाकाँडा चहार्दै धराने

धरानमा हाइकिङः रोग भगाउन सहयोगी बन्दै (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत १५

हिँड्नु स्वास्थ्यका लागि फाइदा हो । एक अध्ययनअनुसार हिँड्दा धेरैप्रकारका रोग भाग्छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका प्रा.डा. सञ्जीव शर्माका अनुसार हिँड्नु स्वास्थ्यका लागि लाभदायी हो । ‘दिनहुँ आधा घण्टा हिँडे मात्रै धेरै प्रकारका रोग भाग्न सक्छन्, त्यही भएर दिनमा कम्तीमा २० मिनेटदेखि एक घण्टासम्म पैदलै हिँड्ने बानी गरौं ।’
एक अध्ययनअनुसार नियमितरुपमा दैनिक २० देखि ३० मिनेटको पैदलयात्राले मृत्युको खतरा २० प्रतिशतसम्म कम हुन सक्छ । यसको लागि तपाईंलाई दिनभर जिममा पसिना बगाउने आवश्यकता पनि पर्दैन । एक नयाँ अध्ययनबाट हरेक दिन औसत २२ मिनेटमात्रै पैदल हिँडेर मानिसले आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्ने खुलासा भएको छ ।
अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा छापिएको यो अध्ययनको नतिजा अनुसार जो मानिस हरेक दिन कम्तिमा पनि २० देखि २० मिनेट हिँड्छन् उनीहरुलाई नियमित हिँड्न अल्छी गर्ने मानिसहरुलाई भन्दा मृत्युको खतरा २० प्रतिशत कम हुन्छ । यो अध्ययन पूरा हुन करिब १३ वर्षको समय लागेको थियो । अध्ययनकर्ताले निचोडमा लेखेका छन्, ‘पैदल हिँड्नु आफैमा एक पूरा कसरत हो । यसको लागि कुनै पनि किसिमको उपकरण वा सरसामान वा ट्रेनिङको आवश्यकता पर्दैन ।’

अहिले धरानमा हाइकिङको मज्जा लिने बढेका बढेका छन् । यसले स्वास्थ्यका लागि धेरै फाइदा हुने गरेको अभियानमै लागिका धरानका राजीव हलवाई बताउँछन् । धरान र धरान नजिकका गन्तव्यहरुमा अहिले दिनहुँजसो धराने हिँडेरै पुग्छन् । अब हाइकिङ मज्जा लिने माध्यम मात्रै बनेन । यो विशेषतः स्वास्थ्य, एडभेञ्चर, फन, होलिडे, गेट टुगेदर अनि अन्य… बन्यो । ‘भनौं अहिले धरानमा हाइकिङ रोग भगाउन सहयोगी माध्यम बन्दै गएको छ ।’
किशोरकिशोरी मात्र होइन, अन्य उमेर समूहका व्यक्तिहरुका लागि पनि विदा मनाउने गज्जवको शैली बनेको छ हाइकिङ । शहरको व्यस्त जीवनशैलीको तनावबाट ‘रिफ्रेस’ हुन चाहनेहरुबीच लोकप्रिय छ, हाइकिङ । स्वास्थ्यप्रति सजगहरु होस् या समूहमा गफिँदै हिँड्ने तथा शहरको कोलाहालबाट एकदिन भएपनि मुक्त हुन चाहनेको रोजाइ बनेको छ, हाइकिङ ।
हाइकिङमा नयाँ ठाउँ घुम्न पाउनुका साथै वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा बारे जानकारी पाइन्छ । त्यसो त शारीरिक कसरत र रमाइलोका लागि पनि हाइकिङ गरिन्छ । त्यसैले त साप्ताहिक विदामा हाइकिङ गर्नेहरुको जमात बढ्दो छ ।
धरानमा दैनिक हिँड्न नभ्याउनेहरूले कम्तीमा महिनाको एकचोटी भएपनि हाइकिङ जाने संस्कारको विकास हुँदै गएको सेवाक अभियानका हलवाई बताउँछन् । विशेष गरी उकालो–ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि बढी लाभदायक मानिन्छ । लामो समय हिँड्दा शरीरबाट पसिना निकाल्न र मजाले रक्तसञ्चार गराउन सहयोग पुग्छ ।

‘उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेशसँग रमाउँदै, पसिनाले निथु्रक्कै भिजेको शरीरमा हिँड्नुको मज्जै बेग्लै,’ हलवाई भन्छन्, ‘स्वास्थ्यका लागि भएपनि धरानमा हाइकिङ संस्कृति मौलाउँदै गएको छ ।’
धरान आसपासका ठाउँमा हप्ता, पन्ध्र वा महिना दिनमा एकपटक हाइकिङमा जाने चलन अब नौलो नरहेको धरानका अभियन्ता राजीव हलुवाई बताउँछन् । ‘हाइकिङले रोग भगाउने अभियानका रूपमा अहिलेसम्म चलाइरहेको छु ।’
हलवाईले त हरेक शनिबार हाइकिङका लागि डोहोरयाउने गरेका छन् । हाइकिङका लागि कुनै पैसा तिर्नु पर्दैन तर हाइकर्सले फलफूल, पानी र आफूलाई चाहिने सामानको व्यवस्था आफैं गर्नुपर्छ । व्यस्त रहने कर्मचारी, विद्यार्थीदेखि व्यवसायीहरू समूह मिलाएर हाइकिङ जाने गरेको उनको भनाइ छ । धरानदेखि उकालो अर्थात् पहाडी भेगमा हाइकिङ बढी लोकप्रिय छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप