आजको स्तम्भः गुड फ्राइडे (साहित्य विशेष)

‘लोग्ने’ भन्दा ‘लोग्नेमान्छे’ गजब

हाँस्यव्यङ्ग्य


  • इन्द्र थापा ‘उदयपुरे कान्छो’
  • २०७७ चैत १३

भन्नु होला ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ उस्तै हो तर होइन । ‘लोग्ने’ भनेको स्वास्नीको पोइ र ‘लोग्नेमान्छे’ भनेको आमाबुवाको छोरो हो । जबसम्म छोरो भइन्छ तबसम्म ‘लोग्ने’ भइँदैन । जब ‘लोग्ने’ भइन्छ तब छोरो रहिन्दैन ।

‘लोग्नेमान्छे’ शब्द ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग शब्द संयोजन भएर बनेको समस्त शब्द हो । बिहेअघि पुरुषलाई दिइने यो शब्द बिहेपछि सम्बन्ध विच्छेद गरी ‘लोग्ने’ र ‘मान्छे’ अलग–अलग बन्न पुग्छन् । ‘मान्छे’ भन्ने शब्द अर्थसहित पोइल जान्छ र ‘लोग्ने’ शब्दले मात्र आफ्नो स्थान समाउँछ । त्यसैले बिहेअघिको पुरुषलाई प्रयोग गरिने ‘लोग्नेमान्छे’ शब्द बिहेपछि ‘लोग्ने’ मात्र बन्छ, मान्छेपन उसबाट भागेर हराइसकेको हुन्छ । तपाईङ्को आलोकाँचो गिदीले के सोच्छ, के भन्छ कुन्नि थाहा भएन तर मेरो भुक्तभोगी गिदीले चाहिं ‘लोग्ने’ र ‘लोग्नेमान्छे’ शब्दको अर्थगत तात्विक भिन्नता यही ठहर गर्छ । त्यसैले मलाई ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब लाग्छ ।

भन्न खोजेको कुरोको चुरो ‘लोग्नेमान्छे’ को हो तर ‘लोग्ने’ भित्रको कथाको व्यथा अघि सर्न खोज्दै छ । त्यसैले कलमको मसी ‘लोग्ने’कै व्यथातिर दौडिरहेको छ । हरेक पुरुष पहिले ‘लोग्नेमान्छे’ अनि ‘लोग्ने’ बन्छ । मैले भनिसकें – ‘लोग्ने’ भएपछि पुरुषको ‘मान्छे’ हराएर जान्छ । मेरो मान्छेपन हराएको लगभग डेढ दशक हुन लाग्यो । बिहेको कुरो चलेदेखि अधोगतितिर लागेको मेरो मान्छेपन आजसम्म फर्किएर आउने आशा त के रोकिएला जस्तो पनि छैन । बिहेका लागि बिहेपूर्व आएका शर्तनामाहरुको सूची बनाउने हो भने चालू आर्थिक वर्षको बजेट भाषणभन्दा लामो होला । त्यसैले यसलाई यहीं टुङ्ग्याऊँ । कुरो कोट्याउन मन लागिरहेको छ ‘लोग्नेमान्छे’ त्यागेर ‘लोग्ने’ हुँदाको पीण्डा पोख्न । किनकि मलाई ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ गजब लाग्छ ।

मैले आफूभित्रको मान्छे त्यागेर ‘लोग्ने’ बनिदिएकोले उसले ‘स्वास्नी’ बन्ने अवसर पाई तर धाक उसैको ठुलो हुन्छ – ‘‘मैले तिमीलाई लोग्ने बन्ने अवसर दिएँ र पो त तिमी लोग्ने बन्न पायौ नत्र तिमी लोग्नेमान्छे नै बसिरहन्थ्यौ ।’’ कुरा त ठिकै होला तर ‘धाकभन्दा धक्कु ठुलो पाइण्टभन्दा कट्टु ठुलो’ भने झैं मलाई अलिक पचेन । पचोस् पनि कसरी ? म एउटा साधारण वेतनभोगी लोग्नेमान्छे । सुन्नुहोस्, म तपाईलाई लोग्ने भइसकेपछिका केही घटनाहरू वेलिविस्तार लगाउँदै छु–

तरकारी काट्ने चुलेसो भाँचिए पनि, ढिस्कोले कुलेसो पुरिए पनि, भारी बोक्ने नाम्लो छिने पनि, भैंसीले दाम्लो चुँडाए पनि, गाईले फुकेर बाली खाए पनि, बाख्राले किलो उखले पनि किलोको पिलो त लोग्नेलाई नै आउँछ । दाह्री काट्दासमेत खर्चको हिसाव राख्नुपर्ने लोग्नेले साडी किन्दा लाग्ने खर्चको हिसाव राख्यो भने नामर्द भइन्छ । त्यति मात्र कहाँ हो र ? अनावश्यक रुपमा विकास भएका शरीरका केही अङ्गहरु– कान, नाक, केश, नङ, गर्धनले त झनै पिरलो गरेका छन् । देउताले पनि लोग्नेहरुमाथि नै अन्याय गरे झैं लाग्छ । कानको काम सुन्ने हो । त्यसका लागि प्वाल भए त भइहाल्यो नि, लोतीसहित बाहिर बोक्रो ठड्याउनुको के काम ? त्यही लोग्नेलाई दास्ती दिन होला । नाकको काम सुँघ्ने हो । सुँघ्ने गन्ध प्वालबाट सिधै मस्तिष्कमा पुर्याउँदा हुने ठाउँमा प्वाल ढाक्न पहाड जस्तो गजधुम्म बनाइदिएका छन् । स्वास्नी हुनु अगावै नाक खोपेर बसेका हुन्छन् । एउटा जाबो फुलीले टाल्न नसके ‘केको लोग्ने’ भन्ने आरोप लाग्छ । छुरा लगाएर घ्वाप्प टोपीले छोप्दा हुने लोग्नेको टाउकाको केश स्वास्नीले चाहिं पालेर लामो बनाउनै पर्ने । त्यसलाई चाडवाडपिच्छे कर्ली र स्टेट गर्नै पर्ने, मेहन्दी र कण्डिसनर त कति हो कति । लोग्नेकै खल्तीको दुरिदुहाई ।

खुट्टाको काम हिँड्नु हो । औंलाको काम हिँड्दा चिप्लिन नदिनु हो । आकामा ठेस लाग्ने खुट्टाको औंलाहरुमा चाँदीका ठेसा चाहिन्छ । तेरिमा टोक्ने १ कसरी खेप्न सक्छ लोग्ने ? मानिसले नङ्ग्रा गाडेर केही पनि खाँदैन भने नङ किन चाहियो ? इन्द्रेणीका रङहरुभन्दा बढी किसिमका रङ नङ्ग्रा पोत्न चाहिन्छ । भाँडा माझ्दा मेहदी घोटिन्छ रे, लुगा धुँदा नङ्ग्रा भाँचिन्छ रे । देउताले टाउको र शरीर जोड्नुपर्ने थियो भने मुठीभरिको गर्धनको आकार पनि बेकार जस्तो लाग्छ । सोलोडोलो बनाउन पनि सक्थे । न त छड्के चाहिन्थ्यो न त रानी हार, न त तिलहरी न त झ्वाप्प पोते । त्यसैले लोग्ने दुहुने यी अङ्गहरुको आविष्कारको वहिष्कार गर्न मन लाग्छ ।

ढिकी, जाँतो, ओखल, सिलौटौ सबै बन्द भए । विज्ञान र प्रविधिको चमत्कारले मिलको विकास भयो, लोग्नेकै पिठिउँमा धोक्रो र थाप्लोमा नाम्लो थोपरियो । स्वास्नीले डोकोमा दाउरा बोक्ने चलन हरायो, ग्याँसको सिलिण्डरले लोग्नेकै काँधमा चढ्ने मौका पायो । मलाई त लाग्छ घरदेखि परसम्मको काममा पुरुष नै लाग्ने हुनाले ‘लाग्ने–लागिरहने–लाग्ने–लागिरहने’ शब्द अपभ्रंश भएरै ‘लोग्ने’ शब्द बनेको होला । तीजको एकराते जाग्राममा लोग्नेको दुई महिनाको वेतन स्वाहा १ तैपनि ‘फलानीको फलान्थोक जस्तो मेरो भएन’ रे । ‘नामर्दकी स्वास्नी हुनुको पीण्डा आज बल्ल भोगें’ अरे । ‘जाग्राममा नाच्ने ठिटो पो ठिटो त तिमी त ……….’ रे । धन्य हो स्वास्नी १ मेरो गणितले भन्छ ‘माइनस (–) पतिदेवो भव: प्लस (ं) ठिटो देवो भव: बराबर (.) तीजको व्रत ।

एउटा जिब्रो बत्तीसओटा दाँत । दाँतभन्दा तिखारिएका दाँतैपिच्छेका कुराहरू । एक पटक उसँग जम्मा रु. दुई हजार सापट लिएको थिएँ । त्यही पैसा दुईपटक पूराको पूरा चुक्ता गरिसकें । अँझै रु. दुई हजार पाँच सय बाँकी छ रे । आफ्नो गणित त्यति कडा छ । लोग्नेको गणित गणितै होइन । पाक्षिक रुपमा केशलाई काँचो चाउचाउ जस्तो कर्ली बनाउन रु. दुई हजार पाँच सय, त्यसैलाई पुन: काँचो चाउमिन जस्तो स्टेट बनाउन रु तीन हजार पाँच सय, हप्तैपिच्छे आँखी भौं खुर्केर खुर्पा आकार बनाउन रु. दुई सय, नङ्ग्रा काट्न रु. दुई सय, नङ्ग्रा घोट्न रु. दुई सय, नङ्ग्रा पोत्न रु पाँच सय, आवश्यकता अनुसार गाला रङ्ग्याउन रु पाँच सय, ओठ रङ्ग्याउन रु. तीन सय, आँखा अङ्गार बनाउन रु चार सय ८०, फेसवास रु पाँचसय……..
(नोट : गरगहना र लुगाफाटोको बही चाहिं अर्को पानामा छ) ।

खानु कता हो, घरभाडा कता हो, टिएडिए कता हो, औषधी उपचार कता हो…… । भनिसकें महिना मरेपछि आउने वेतन र यो हिसाव मिलाउने गणितको टिचर आजसम्म फेला पार्न सकिएको छैन ।

यत्ति गरीकन ढुक्क कहाँ छ र १ गर्भवती हुँदाको घमण्ड बेग्लै छ – ‘हामीले जस्तो नौ महिनासम्म गर्भ बोक्नुपरे अनि थाहा पाउँथ्यौ तिमी लोग्नेहरुले’ अरे । फिसिक्क हाँस्न मन लाग्छ– ‘जसले एक क्वीण्टल बराबरकी यमानकी स्वास्नी जीवनभर बोकेर हिँड्न सक्छ त्यसले परिआएको खण्डमा जाबो अढाई–तीन किलोको डल्लो नौ महिनासम्म पेटमा बोक्न नसक्ला त ?’ कुनै–कुनै बेला त रिसले कन्सिरी पनि तात्तिन्छ । फूली र मुन्द्री नहुँदो हो त नाकको डाँडी भाँचिदिन्थें होला । टपका लस्कर नहुँदा हुन् त जर्नीसहित कान उखेलिदिन्थें होला तर के गर्नु आफ्नै गहना कुच्चिने डर । ३३ प्रतिशतले दुई तिहाइ अर्थात् ६७ प्रतिशतलाई के साह्रो हेप्नु त हेप्न पनि ? तर ….. ।

अङ्ग्रेजहरुले हानेको तोप फर्काउन सक्ने लोग्नेहरुले वर्तमान र भविष्यका स्वास्नीहरुको मति फर्काउन सकेनन् । स्वास्नीहरुकै चर्तिकलाले लोग्नेहरुले झैं नेपालीपन र मौलिक परम्पराले पनि स्वास्नीहरुका अगाडि घुँडा टेक्नुपर्यो । पिठिउँ फाटेका र कुम धस्केका ब्लाउजहरू देखेर चौबन्दीहरू रोइरहेका छन् । लेहङ्गा र गाउनहरुका डरले बाह्रहाते पटुकीहरू भागिरहेका छन् । नेट (झुल)का साडीहरू देखेर छिटका साडीहरू लाजले कुना पसिरहेका छन् । विचरा लोग्नेहरू १ न आफूले जोगाउँदा जोगिने ती परम्पराहरुलाई बरु आँखा, कान र मुख बन्द गरेर तीनछक्क खाई बसिरहेका छन्, बसिरहेका छन् । त्यसैले मलाई ‘लोग्ने’भन्दा ‘लोग्नेमान्छे’ नै गजब लाग्छ । मझेरी

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप