आजको स्तम्भः आजको स्तम्भः गुड फ्राइडे (साहित्य विशेष)

धरानमा भोगेको ‘मलाया भर्ती’

धरानमा लाहुरे लाग्दा, पछि थाहा भयो- लाहुरे भएर मलाया होइन हङकङ जानुपर्ने रहेछ


  • भीम राई
  • २०७७ चैत १३

तीनताका म फुसको छानोभित्र हुकिँदै गरेको सानो बबुरो जस्तै थिएँ । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर १८ वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै रहेका छन् । अति विपन्न परिवारमा जन्मेको हुनाले ‘मलाया भर्ती’ भन्ने विषय कुनै एउटा अजीव चीजको पहाड होला भन्नेझैं सोचिरहेको थिएँ । त्यसबेला तिनै मलाया भर्ती हुनको लागि हामी गाउँदेखि धरान घोपा क्याम्पसम्म जानुपर्दथ्यो । मैले धरान पुगेपछि बल्ल चाल पाएको थिएँ । तिनै अपरिचित र अनिश्चित स्थान मलाया भर्ती मलायामा नभएर हङकङ जान पर्ने रहेछ ।
मलाया भर्तीको लागि सबैभन्दा पहिले गाउँमा गल्लावालसँग नाम दर्ता गर्ने चलन थियो । ३२ इन्चदेखि उभो उभो फुलिँदै गरेको छाती लिएर म एकदिन गल्लावालको सामुन्ने हाजिर हुन पुगेको थिएँ । उनले मेरो नजिक आएर, ‘यति कलिलै रहेछ । अझै यसको तल्लो ओंठमा निचोरयो भने भर्खर चुस्दै गरेको आमाको दूध पनि आउँछ होला ?’ भनेको तिनै कर्णप्रिय शब्द मेरो कानमा अहिलेसम्म गुन्जिरहेकै छ । तैपनि उहाँले मेरो छाती, तौल र उचाईं नापिसकेपछि भर्ती हुनको लागि नाम लेखिदिएका थिएँ ।

म खोटाङको बुइपा भन्ने गाउँमा जन्मेको थिएँ । गाउँमा हरेकपटकको मनसुनले बिदा लिएपछि लरबरिँदै लरबरिँदै हिउँदे मौसम आउने गर्दछ । हिउँदमा पर्ने पुस र माघ महिनाहरु अति जाडो महिनाहरुमा विकसित हुँदै जाने गर्दछन् । त्यसबेला तीनै हिउँदे महिनाहरुले ल्याउने कठङ्ग्रिने जाडो मात्र नभएर सारा गाउँ नै उजाड देखिने गर्दछन् ।
२०४० सालको निर्मम हिउँद शुरु भएर माघ महिना बित्दै गइरहेको थियो । मध्य माघ महिनाको एकदिन मेरी ममतामयी आमाले अलिकति दाल, चामल र थोरै गुन्द्रुकको झ्याम्टा एउटा झोलामा तयार गरिदिनुभएको थियो । त्यसको भोलिपल्ट जमिनमा मिर्मिरे उज्यालो नखस्तै हामी सम्भावित भर्तीवाल साथीहरू सँगसँगै घर छाडेको थियौं । घर छाडेर हिँडेपछि बसेरी जङ्गलमा मानिस हिँड्ने स–साना गोरेटो बाटोहरु एउटा खाली कागजमा कोरिएका बक्ररेखाझैं लमटन्न टाङ्गिएका देखिएका थिएँ । र, हामी तिनै गोरेटो बाटोहरूमा जिन्दगीका असंङ्ख्य आशाका सपनाहरू बोकेर निरन्तर अगाडि बढिरहेका थियौं ।
बसेरी जङ्गलमा भेटिएका धुले गोरेटोलाई रातभरि परेको हिउँदे शितले मज्जाले भिजाएका थिएँ । तिनै धुले गोरेटोमाथि चालिएका हाम्रा पाइतालाहरूले प्रत्येक कदम–कदममा निर्लज्ज डोबहरु बनाइरहेका थिएँ । तर पाइतालाले निर्माण गरेका हरेक डोबहरुलाई त्यसरी बिर्सिंदै अगाडि बढ्ने क्रममा कहाँसम्म पुगिने होला भनेर मेरो हृदयभरी अनुत्तरित प्रश्नहरु वर्सिरहेका थिए । जिन्दगीको सुनौलो भविष्य निर्माण गर्न क्रमशः अगाडि बढिरहँदा आफ्ना आमाबुबा र सारा आफन्तहरुलाई गाउँमा छाडेर जान पर्दा स्खलित मन झन् विचलित र हलचल भइरहेकै थिए ।
बिहानको झिसमिसेमा शुरु भएको त्यसदिनको यात्रा बेलुकी साँझमा रसुवाघाट पुगेर अन्त्य भएको थियो । कोशीको किनारमा रहेको त्यो घाट नै मेरो जिन्दगीले घर छाडेको पहिलो रात थियो । बाँसको भकारीले छाएको पुरानो गोठभित्र सुमधुर रातलाई बिदा गर्दै बिहान अबेलासम्म भुईंमा तन्किरहेको अहिलेसम्म संस्मरण गरिरहेकै छु । लगातार १२ घण्टासम्मको अघिल्लो दिनको हिँडाइले दिइरहेको दर्दनाक पीडा सामना गर्दै भोलिपल्ट बेल्टार बजार झरिपुगेका थियौं । आजको मितिभन्दा ठीक ३७ वर्ष अगाडीको तिनै यादलाई निकोसिया, साइप्रसमा बसेर झलझली संस्मरण गरिरहेको थिएँ ।

त्यसबेला मेरा मन अति नै चञ्चल थिएँ । र, मेरो गाउँघरको अवस्था अहिलेको जस्तो पटक्कै थिएन । गाउँदेखि मोटर बाटो पुग्नको लागि टाउकोले टेकैर भएपनि फत्तेपुरसम्म पुग्नु पर्दथ्यो । मैले गाउँ छाडेको तेस्रोदिनमा फत्तेपुर पुगेर जिन्दगीको पहिलोपटक ‘विजय बस’ चढेको थिएँ । तिनै बसदेखि धरान जाने क्रममा देखिएका तराईका समथर भू–बनोट र चारकोशे झाडीलाई मन्त्रमुग्ध भएर यात्राका क्रमभरी हेरिरहेको थिएँ ।
त्यसदिन जनवरी १, १९८४ को दिन थियो । बिहानीको उज्यालो भुईंमा खस्दै गर्दा म धरानको घोपा क्याम्पभित्र पसेको थिएँ । म अहिले मेरो दिमागलाई राम्ररी खियाएर तीनै दिनहरु सम्झिरहेको छु अनि मैले त्यसबेला भोगेका तिनै यादहरु मेरा मानसपटलमा अहिलेसम्म नाचिरहेकै छन् । थोरै कौतुहल र हलचल मन लिएर क्याम्पभित्र पसेपछि हामीलाई भर्ती गराउने गुरुजीहरुले हिँडाएर समथर जमिनमा रहेको खाली चउरमा पुरयाइएको थियो ।
म त्यहाँ पुगेर चउर वरिपरी देखिएका ठूलठूला रुखहरुका मनोरम दृश्यहरु देख्न थालिसकेका थिएँ । विभिन्न चराचुरुङगीहरुले मधुर सङ्गीत भरिरहेको तिनै रूखहरुमुनी लहरै मिलाएर तम्बुहरुको सहर ‘टेन्ट सिटी’ निर्माण गरिएको थियो । मैले तम्बुहरुको सहरलाई दिग्भ्रमित हुँदै निक्कै लामो समयसम्म हेरिरहेको थिएँ । हरेक तम्बुहरुमा १०–१२ जना सम्भावित रिक्रुटहरुलाई बास बस्नको लागि सुखिलो स्थान बनाइएका थिएँ । जसलाई देखेर हामी सबैजना युवाहरु हर्षले आमोदी भएका थियौं ।
त्यस बेलुकीसम्ममा सबै युवाहरुले को कहाँ सुत्ने भनेर तम्बुमा आ–आफ्ना स्थानहरु पाइसकेका थियौं । तर सबैजनाले सुत्ने ठाउँ पाएको भएतापनि हामी एकअर्काको अनुहार बिल्कुलै फरक फरक देखिरहेको थिएँ । अब कसलाई के भनेर सम्बोधन गर्ने होला भनेर मेरो मनभरी काउकुति खेलिरहेको अवस्था थियो । किनभने तम्बुभित्र भेटिएका हरेक युवाहरुको पृष्ठभूमि फरक फरक धरातलदेखि आएका थिएँ । अझ भनौं, मैले जिन्दगीमा पहिलो चोटी लिम्बू, सुनुवार, शेर्पा र तामाङहरुलाई भेटेको (देखेको) थिएँ ।

कसोकसो अरु जातिका युवाहरु भन्दा लिम्बूहरुसँग म थोरै त्रसित पनि भइरहेका थिएँ । कुनैकुनै लिम्बू युवाहरुले निक्कै अग्ला अग्ला टोपीहरु पहिरिएका थिए । उनीहरूले लगाएका टोपी र बोलेको भाषा सुनेर म यदाकदा तर्सेको बाख्राझै छटपटी गरिरहेको हुन्थे । गाउँमा सानो छँदा सुँगुरको रौं किन्ने र चुरा बेच्ने लिम्बूहरुले बोक्ने खुकुरीको विषयमा भयङ्कर डरलाग्दो कथाहरू सुनेको थिएँ । यदि उनीहरुसँग नराम्रो व्यवहार गरियो भने शरीर र टाउको दुई टुक्रा पार्छन् भन्ने सुनेको हुनाले मेरा मन र मस्तिष्क थरङ्गै भइरहेका थिए । त्यसैले उनीहरुसँगको प्रत्यक्ष भेटघाटमा भित्रभित्रै कटटुमा छुलछुली पिसाब फेरिरहेको अहिलेसम्म याद गरिरहेकै छु ।
तर तम्बु सहरमा भेटिएका धेरैजसो युवाहरुले खस भाषाभन्दा पनि आ–आफ्ना जातीय भाषा एवम् उपभाषाहरु बोलिरहेको सुन्दा मलाई बिछट्टै अप्ठ्यारो महसुस भइरहेको थियो अनि उनीहरुले लगाएका विभिन्न प्रकारका भेषभुषाले म निश्चय नै अचम्मित भइरहेको थिएँ । अझै सबैभन्दा बढी अचम्म त म त्यसबेला भएको थिएँ, जतिबेला मैले सोच्दै नसोंचेका त्यति धेरै उपभाषा बोल्ने राईहरुका उपथरीहरूसँग पहिलोचोटी घोपा क्याम्पमा भेट भएको थियो ।
धरानमा रहेको बेलायती सैनिक क्याम्पभित्र लगभग एक हप्तासम्म रिक्रुट छान्ने काम भएको थियो । सम्भावित रिक्रुटहरुको शारीरिक, मानसिक, भौतिक, शैक्षिक र चिकित्सासम्बन्धी सम्पूर्ण परीक्षाहरु भएका थिए । सबै परीक्षाहरु सकिएको अन्तिम दिन क्याम्पभित्रको विशाल फुटबल खेल मैदानमा युवाहरुलाई एकैठाउँ भेला गरिएको थियो । रिक्रुट परीक्षण कालभरी हामी सबै युवाहरुको छातीमा अल्पकालीन नम्बर दिइएको थियो । र, मध्याह्नको समयमा युवाहरुको छातीमा लेखिएको तिनै नम्बर बोलाएर हामी सबैजनालाई दुईभागमा विभाजन गर्न थालिएका थिएँ ।
हामी त्यसबेलासम्म भर्ती हुने सुन्दर सपना साँचेर बाँचिरहेका थियौं । त्यसैले निषध्यान लगाएर आ–आफ्नो नम्बर आउने प्रतीक्षा गरेर बसिरहेका थियौं । भर्ती लागेका हरेक युवाहरुको छाती नम्बर नजिकै रहेको तीनकुने जङ्गल थर्कने गरेर पुकारिरहेको थियो । केहीबेरमा मेरो छाती नम्बर पनि हावामा बरालिँदै आएर कानसम्म पुगेर बज्रिएको थियो । त्यसरी आएको नम्बर हावामा बिलिन हुन पाउँदा नपाउँदै म भर्ती लागेका युवाहरुको नजिकै पुगेर थपक्कै बसेको थिएँ ।

दुर्भाग्यवश ! छाती नम्बर आउन नसकेकाहरुलाई अर्को वर्ष प्रयत्न गर्नु है भनेर क्याम्पबाट बिदाइ गरेर पठाइएको थियो । भर्ती हुने सपना टुटेपछि उनीहरुका अनुहार अति मलिन मलिन भएका थिएँ । त्यतिमात्रै नभएर जिन्दगीको उज्वल भविष्य बनाउने सपना तुहिएपछि कसैकसैले आँखाभरी आँशु बनाएर घोपा क्याम्प छाडेको दृश्य देख्दा मलाई साह्रै नरमाइलो लागिरहेको थियो ।
भर्ती हुन नसकेकाहरुले क्याम्पदेखि बिदा लिएपछि भर्ती भएकाहरु चउरको बिचौबीच भागमा झुरुप्पै बसिरहेका थियौं । केहीबेर पछि हामी सबैको ध्यानाकर्षण गराउँदै नेपाली भाषामा, ‘ल केटा हो, तहरु आजदेखि भर्ती भइस,’ क्याम्पका कमाण्डर ब्रिग्रेडियर जनरल हन्ट डेभिसले नजिकै रहेको तीनकुने जङ्गल गर्जने गरी आवाज निकालेर बधाई तथा शुभ–कामना दिएका थिएँ । पूर्व सातौं गोर्खा राइफल्सका दक्ष नेपाली भाषी बेलायती सैनिक अधिकृतदेखि मैले त्यसबेला प्रथमचोटी नेपाली ब्याकरणमा प्रयोग गरिएको ‘एकवचन’ शब्दलाई ‘बहुवचन पुच्छर’ झुन्डाउने गरेको ‘ब्रिग्रेड अफ गोर्खाजको’ चलन चल्तीको भाषालाई सुनेका थिएँ ।
सन १९५९ देखि धरान घोपा क्याम्पमा पहिलोपटक पूर्व नेपालका नेपालीहरु बेलायती सेनामा भर्ती हुन थालेका थिए । त्यसको ठीक २५ वर्षपछि ७ फेब्रुवरी १९८४ का दिन मैले बेलायती सैनिकमा भर्ती भएर सैनिक नम्बर ‘२११६६५३४’ हात पारेको थिएँ । भर्ती हुँदा पाएको त्यस नम्बरसँग औधी खुशी भएतापनि त्यस नम्बरलाई कण्ठस्त बनाउनको लागि मलाई फलामको च्युरा चपाएझैं चर्को परेको थियो । अझै त्यसबेला मेरो सैनिक नम्बर मात्र नभएर आफू जन्मेको र भर्ती भएको मिति अङ्ग्रेजी पञ्चाङगअनुसार जान्नुपर्ने भएकोले निक्कै हम्मेहम्मे परेको याद अहिलेसम्म सम्झिरहेको छु ।
त्यसवर्ष हामी धरानदेखि २३५ जना कलिला युवाहरु बेलायती गोर्खा सैनिकमा भर्ती भएका थियौं । र, पश्चिम नेपालका हकमा भने पोखरामा भर्ती हुने चलन रही आएको थियो । त्यो भन्दा पहिले बेलायती सेनामा भर्ती हुनको लागि पक्लिहवा क्याम्प पुग्नुपर्छ भन्ने मैले सुनेको थिएँ । हामी भर्ती भएको त्यसदिन मध्याह्नको टण्टलापुर घाम सँगसँगै ब्रिग्रेडियर जनरलको भाषण पनि सकिएको थियो । ब्रिग्रेडियर जनरलले भर्ती भएको आधिकारिक जानकारी दिएपछि खुशीले उफ्रिँदै हामी आ–आफ्नो तम्बुमा फर्केका थियौं । तर हामीलाई त्यसबेला आफू बसिरहेको तम्बुदेखि नयाँ तम्बुमा सारिएको रहेछ । नयाँ तम्बुमा सरेपछि नयाँ साथीहरुसँग चिनजान गर्न मलाई झन् चुनौतीको पहाड थपिइरहेको थियो ।
तैपनि भर्ती भएपछिको गोधुली साँझले मलाई खुबै आकर्षण गरिरहेको थियो । भेडेटारदेखि बहँदै झरेका चिसो बतासले मलाई मात्र होइन, हरेक रिक्रुटहरुको भौतिक शरीरलाई शान्त बनाइरहेको थियो । त्यति शान्तमय वातावरणमा सँगसँगै भर्ती भएका नयाँ साथीहरुसँग हाम्रो सुस्तरी परिचय हुन थालिसकेका थिएँ । चारैतर्फ फलामे तारले बारेको जालीभित्र एउटै समयमा भर्ती भएका साथिहरुलाई पल्टने साइनो अनुसार ‘नम्बरी’ भनेर बोलाउन पर्ने चलन थियो ।

भर्ती भएका भोलिपल्ट नम्बरीहरुलाई भेट्न धरान वरिपरिका आफन्तहरु क्याम्पभित्र आउन थालेका थिए । आफन्तहरु क्याम्पभित्र आउँदा उनीहरुको हातहातमा सुन्दर सयपत्री फूलका मालाहरु पनि लिएर आउँदथे । तर त्यति ठूलो धरान सहरमा मेरा कुनै आफन्तहरु चाहिँ छँदै थिएनन् किनभने म गाउँदेखि आएको बिलकुल एक्लो ठेट्ना थिएँ । त्यसैले मैले कुनै सयपत्री फूलका माला लगाउन पाइनँ र पाउने आशा पनि गरेको थिइनँ । तर झ्याम्मै टुक्रेर फुटेका शिशाझैं दिल लिएर तम्बुको एउटा कुनामा बसिरहेको थिएँ । अनि नम्बरीहरुले गालाभरी गर्लम्मै सयपत्री फूलका माला उनेका दृश्य वितृष्णासहित निक्कै लामो समयसम्म हेरिरहेको थिएँ ।
नयाँदिनको नयाँ ब्रेकफास्टपछि हामी सैनिक बर्दीहरु लिनको लागि मुख्य गोदामको कार्यालयमा पुगेका थियौं । हामीले त्यहाँ एउटा सुरिलो प्लाष्टिकको झोलाभरी खाकिबाट बनेका विभिन्न प्रकारका पोशाकहरु पाएका थियौं । तिनै झोलामा तयार भएका एकभारी कपडाहरु लिएर आ–आफ्ना तम्बुमा फिरयौं । दशैताका गाउँमा मुश्किलले एकजोर कपडा फेर्ने चलन थियो । अब त्यति धेरै सैनिक पोशाकहरु कुनकुन समयमा पहिरन गर्नुपर्ने होला भनेर म रनभूलमा परिरहेको थिएँ ।
भोलिपल्टको झुल्केघाम सँगसँगै तम्बुमा गुरुजीहरुको अनुहार देखापरेका थिएँ । त्यसपछि उहाँहरुले कुन समयमा कुन पोशाक लगाउने भनेर हामीलाई सिकाउन थालेका थिए । त्यस दिनदेखि हामीले सैनिक पोशाक पहिरन गर्न मात्र नसिकेर अनुशासनको साथसाथमा खान, पिउन, हिँड्न र बोल्न पनि सिक्न सुरु गरिसकेका थियौं । हुन त धेरै नम्बरीहरु म जस्तै गाउँको एउटा अनकन्टर कुनादेखि आएको थिएँ । त्यसैले खाना खाँदा प्रयोग गरिने साधनहरु चम्ची, काँटा र छुरीको प्रयोग कसरी गर्ने भनेर गुरुजीहरुले प्रर्दशन गरेको दृश्य रमाइलो मान्दै हेरेका थियौं ।
त्यसदिनदेखि फित्तावाल चप्पलले मेरो पयर पड्काउन छाडेका थिएँ । जिन्दगीमा पहिलोपटक जुत्ता धारण गर्दा हृदय औधी हल्का भएका थियो । अझ त्यसदिनको रमाइलो क्षण चाहिँ त्यतिबेला भएको थियो, जतिबेला एकजना भुक्तभोगी नम्बरीले भैंसीको पुँठो आकारका टोपी पहिरन गरेर हामी सबैलाई देखाउँदै ख्यालठट्टा गरिरहेका थिए । तर विधिको बिडम्बना र समय कति बलवान रहेछ । तिनै विनम्र, मिलनसार, फरासिला र मृदुभाषी मेरा नम्बरी केही वर्षअगाडि ईश्वरको प्यारो भइसकेका थिए । अहिले यी हरपहरु कोर्दै गर्दा तिनै प्रिय नम्बरीको आत्मालाई चिरशान्ति मिलोस् भन्ने कामना व्यक्त गर्न चाहन्छु ।
हरेक बिहानीको नित्यकर्मदेखि बेलायती सैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण काम सिक्दै गरेको भएतापनि त्यसबेला ‘कसम खाने कवाज’ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कार्य थियो । त्यसैले तिनै कवाजलाई सफल बनाउन क्याम्पमा सबैभन्दा धेरै प्राथमिकत्ता दिइएको थियो । त्यस बिहानदेखि हामीले कसम खाने कवाजको अभ्यास पनि सुरु गरिसकेको थियौं । तर भर्खरभर्खरै पहाडदेखि मधेश झरेका ठिटाहरुलाई धराने गर्मीले सातो लिइरहेको थियो ।
परेड मैदानमा विस्तारै विस्तारै कसम खाने कवाजको तालिम आरम्भ भएको थियो । कवाज सुरु भएको हरेक ४५ मिनेटमा रिक्रुटहरुलाई एउटा सानो विश्राम मिल्ने गरेको थियो । त्यो विश्राम केवल १० मिनेटको लागि मात्र हुन्थ्यो । म पहिलो पटक गाउँदेखि धरान सहर झरेको आलाकाँचो एउटा युवा थिएँ अनि उनीको मोजा लगाएर कवाजको अभ्यास गर्दा खुट्टाका औंलाहरू पसिना नै पसिना भएर रोइरहेको भित्रभित्रै आभाष गरिरहेको थिएँ । त्यसैले तिनै १० मिनेट विश्रामको फाइदा लिँदै जुत्ता र मोजा खोलेर आँपको रुखमुनि शितल तापेर बसेको थिएँ ।
‘रिक्रुट ! परेडको समयमा जुत्ता खोल्छस् ?’
निक्कै टाढाबाट गिद्दे दृष्टि लगाइरहेका गुरुजीले अचानक कराएर मेरो सातो खाइदिएका थिए । उनले केवल मेरो सातो मात्र खाएका थिएनन् । नजिकै रहेको फोहोर पानी बग्ने नालीको वारपार सुतेर पुल बन्न पनि सिकाएका थिए । अहिले सम्झँदा सम्भवतः त्यो नै मेरो सैनिक जीवनको सबैभन्दा पहिलोपटकको सजाय थियो । सैनिक जीवनमा बिताएको त्यसपछिको सजायहरुलाई संस्मरण गर्ने हो भने प्रशान्त महासागरको पानीभन्दा धेरै भएका छन् । अझै त्यस्तो सनकी गुरुजीले हङकङको तालिम केन्द्रमा पुगेपछि लामालामा जुङ्गा पालेका गुरुजीहरुले गर्ने अमानवीय व्यवहार चाल पाउने छस् भनेको सुन्दा मेरा आङ जिरिङ्गै भएका थिएँ । जेहोस्, सैनिक कवाजको बेला जुत्ताखोल्न नपाइने रहेछ भनेर पहिलो पाठ मैले धरानको घोपा क्याम्पमा सिकेको थिएँ ।
जलमार्ग, वायुमार्ग र स्थलमार्ग कुनैपनि ठाउँदेखि आएको दुश्मनलाई दुईटुक्रा पार्छु भन्दै बेलायती झण्डा छोएर ठूलो तामझामको साथ अर्को हप्ता मैले कसम खाएको थिएँ । त्यसपछि धरानदेखि काठमाण्डौ हुँदै हङकङ जानको लागि हामीलाई विभिन्न समूहहरुमा छुट्याइन थालिएको थियो । त्यसबेलासम्म मैले घर छाडेको पुरै तीन हप्ता भइसकेको थियो । मलाया भर्ती मेरो लागि सोखको विषय नभएर दरिद्रताको उपज रहेको थियो ।
तर हङकङ जाने समय जतिजति नजिकिँदै थियो । नयाँनयाँ ठाउँहरु के कस्तो हुने होला भनेर मेरा हृदयभित्र केही असहज उत्पन्न भइरहेको थियो । कताकता अनेकन भावहरु सलबलाइरहेका जस्ता अनुभव गरिरहेको थिएँ । अझै त्यति कलिलो उमेरमा आफ्नो परिवारलाई छाडेर हिँडनुको पीडाले कताकता सताइरहेको जस्तो अनुभूति हुन्थ्यो । किनभने भर्ती भइसकेपछि आफ्नो जन्मघर फर्केर आउन टन्नै तीन वर्ष कुर्नुपर्दथ्यो । अझै त्यो समयभित्र जिन्दगीले डोरयाएर कहाँकहाँ पुग्नुपर्ने होला ? र, के के अनुभव गर्नुपर्ने होला भनेर झन हृदयमा असंख्य हलचल पैदा भइरहेका अवस्था थियो ।
त्यसदिन फेब्रवरी १४, १९८४ को दिन थियो । बिहानीको नास्ता खाइसकेपछि हामी आ–आफ्नो कुम्लो कुटुरो बोकेर कवाज खेल्ने मैदानमा पुगेको थियौं । घडीले बिहानीको समय १०ः०० बजाएपछि गुरुजीले सबै रिक्रुटहरुको नाम र नम्बर बोलाएर हाजिरी गरेका थिए । सबैको नाम आएपछि धरान छाडेर काठमाण्डौ जानका लागि हामी तयार भएका थियौं । हाम्रा सिधै अगाडी कवाज खेल्ने मैदानमा चारवटा कोचहरु लहरै मिलाएर रोकिएका थिएँ । गुरुजीले हाजिरी गरिसकेपछि हामीलाई कोचमा चढने आदेश दिएका थिएँ । त्यसपछि कमिलाको पङ्क्तिझैं मिलेर हामी कोचभित्र पसेका थियौं ।
हामी कोचमा पसेको केहीबेरमा कोचको चक्का सुस्तरी गुड्न थाल्यो । घोपा क्याम्पको पछाडि ढोकादेखि निस्केको कोचले विस्तारै तीनकुनेलाई सधैसधैको लागि छाड्दै गयो । थोरै भत्केको गाउँले मन र मुटु लिएर म कोचको सबैभन्दा पछाडि सिटमा आसन गरिरहेको थिएँ । त्यति आरामले कोचभित्र बसेतापनि मेरा हृदयभित्र अनेकन प्रश्न र जिज्ञासाहरु सुस्तसुस्त गतिमा सल्बलाइरहेका नै थिए । मैले विस्तारै कोचको झ्याल खोलेर चारकोसे झाडीलाई निक्कै लामो समयसम्म नियालिरहे । त्यसपछि झ्यालदेखि मुन्टो फर्काएर कोचको अगाडि हेर्दा गुरुजीको इसारामा हामी सन् १९८४ सालको रिक्रुटहरुले, ‘नैनी ताल नैनी ताल, घुमि आयो रेल……,’ भन्ने गीत सुरु गरिसकेका थियौं ।
दिउँसोको १ बजे विराटनगर विमानस्थलदेखि आरएनएसीको एभ्रो विमानले विराटनगर सहरमाथी धुँवा छाड्दै गर्दा मेरा अनुहार नरमाइलो मान्दै कालो बादलमा परिणत भइसकेका थिएँ । विमानले सुस्तरी–सुस्तरी खुला आकाशलाई चुम्नको लागि सिधै माथि आकासिँदा मैले आफ्नो सिधै अगाडिको सिटलाई मज्जाले समातिरहेको थिएँ । बिनाबादलको त्यस मध्याह्नको मौसम अति नै आकर्षक रहेको थियो । तिनै आकर्षक मौसमको बेला मेरा पापी नयनहरुले दुरदृष्टिमा रहेका हिमालय श्रृङ्खलाको क्रमशः नजर लगाइरहेका थिए । केहीबेरमा निक्कै टाढा क्षितिजमा देखिएको ‘सगरमाथाको’ लोभलाग्दो दृश्यमा मेरा नजर मज्जाले गढिरहेका थिए । मैले सगरमाथादेखि पटकपटक नजरलाई हटाउन प्रयत्न गरेतापनि मेरो दिल पटक्कै मानिरहेको थिएन ।
बुइपा, खोटाङ, हालः बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप