अपडेटः ताप्लेजुङमा आगलागी

आगलागी नियन्त्रणमा, ८५ घरमध्ये ५५ जले


  • दिलकुमार लिम्बू
  • २०७७ फागुन १८

ताप्लेजुङः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहानबाट फैलिएको आगोले ५५ घर खरानी भएको छ । जलेका सबै घर कामै नदिने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारीका अनुसार कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरु तथा भण्डारण गरिएका अलैंचीजस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन् ।
बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो । सदरमुकामबाट १७ किमि दूरीमा रहेको सो बजारमा ८५ वटा घर थिए ।
आगो पूरै नियन्त्रणमा आइनसकेको उनले जानकारी दिइन् । सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको थियो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो ।
प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । उनले भोला पौडेलको घरबाट आगो सल्किएको जानकारी दिए । ‘खासमा पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको पाइयो’, उनले भने, ‘बजारको वस्ती बाक्लै भएको र जस्तापाताले छाएको घर हुनाले आगो चाँडो फैलियो ।’ क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप