प्रतिनिधिसभा पुनस्थापना भो राम्रै भो: प्रम ओली


  • कोशी अवाज
  • २०७७ फागुन १६

बिर्तामोडः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्थापन भएकोमा आफूलाई पनि ठीकै लागेको बताएका छन् ।
गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा पुनस्थापना भो राम्रै भो । उहाँले (प्रचण्ड–माधव) लडडु खुवाउनु भो ।’
ओलीले सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा हारे पनि आफूलाई केही नहुने जिकिर गरे । उनले अदालतबाट मुद्दा जितेर प्रधानमन्त्री नभएको बताए । देशको विकास रोक्नका लागि आफूलाई हटाउन लागेको ओलीले आरोप पनि लगाए । ‘अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउनुपर्छ’, उनले चुनौती दिँदै भने, ‘प्रस्ताव ल्याएर पास भए जनताकोमा गएर फेरि पदमा आउँछु ।’
ओलीले प्रचण्ड–नेपाललाई झुसे बारुलाको संज्ञा दिदै फूर्ती नलगाउन चेतावनीसमेत दिएका थिए । ‘झुसे बारुलाले फुर्ती नलगाए हुन्छ । सङ्घर्ष हाम्रो जीवन हो । लोकतन्त्रको रक्षा गरिन्छ। राजा फालेर आएका हौं,’ उनले भने ।
ओलीले आफूले भोट माग्दा गरेका केही वाचा सम्झिए र ती पूरा गरेको पनि दाबी गरे । आफ्नो वाचा पूरा गरेको भन्दै ओलीले भने, ‘आज त्यो प्रमाणित भएको छ । पुष्टि भएको छ ।’ प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले पुल, बाटो तथा औद्योगिक क्षेत्र निर्माणमा चमत्कार नै गरेको दाबी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने बताएका छन् । ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समाधान गर्नेछौं’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले घर बसेर नै समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप