अन्ततः धरान-१६ पनि बालमैत्री

बालमैत्री वडा घोषणा हुन वर्षदिन लाग्यो, धरानमा १४ वटा वडा बालमैत्री वडा घोषणा भइसके


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १६

धरानः धरान उपमहानगरपालिकामा घोषणाअनुसारको काम हुन सकेको छैन । २०७५ सालभित्र धरान उपमहानगरलाई बालमैत्री घोषणा गर्ने उद्घोष गरिएपनि कतिपय वडा अहिले पनि बालमैत्री घोषणा हुन सकेका छैनन् । विशेषतः कोरोना कहरका कारण कतिपय वडा बालमैत्री घोषणा हुन नसकेका हुन् ।
धरान–१६ लाई पनि बालमैत्री वडा घोषणा गरिएको छ । यो घोषणासँगै यो वडा १४ औं बालमैत्री वडा बनेको छ । अब धरानमा ६ वटा वडा मात्रै बालमैत्री वडा घोषणा हुन बाँकी छ ।
२०७५ फागुन महिनाभित्र यस वडालाई बालमैत्री घोषणा गरिसक्ने प्रतिबद्धताका साथ काम अगाडि बढाइएको तर कोरोना कहरका कारण बालमैत्री घोषणा हुन एक वर्ष नै लागेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए । वडा घोषणा प्रतिवेदन सार्वजनिक गर्दै उनले भनेका छन्– स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले निर्धारण गरेका सूचक तथा तहगत खुड्किलाहरु पूरा गर्दै २०७६ चैत महिनाभित्रमा बालमैत्री वडा घोषणा गर्ने गरी काम सम्पन्न गरिएपनि कोरोना कहरले यतिका समय पर धकेलिदियो ।’
उनले ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए । उनले हाल ३२ वटा सूचकमा शत प्रतिशत र बाँकी ७ वटा सूचकमा ८० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गर्न सफल बनेको बताए । उनले ६ महिनासम्मको शिशुलाई आमाले पूर्ण स्तनपान, बालबालिकाले पूर्ण खोप पाएको, भिटामिन ए खुवाइएको, गर्भवती आमाको दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएको लगायतका सूचक पार गरेको जानकारी दिए ।

उनले बालबालिकाको क्षमता विकासका लागि १५ प्रतिशत बजेट अनिवार्य छुटयाउने गरेको जानकारी दिए । उनले यस वडामा २७८ जना बालबालिका बाबलक्लब तथा बाल सञ्जालमा आवद्ध भई विभिन्न गतिविधि सञ्चालन गर्दै बालमैत्री अभियानमा सक्रियरुपमा लागिपरेको बताए ।
वडाध्यक्ष गिरीले बालमैत्री घोषणा भएर मात्र यसले पूर्णता नपाएको बताउँदै बालमैत्री स्थानीय शासनलाई दिगो र संस्थागत बनाउन थप चुनौती रहेको बताए । उनले दिगोपनका लागि पञ्चवर्षीय योजना तयार गरिएको र यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद उमिता विश्वकर्मा, सावित्री जोशी, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीलगायतको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन सभामुख भण्डारीले गरेका थिए ।
यस वडामा बालबालिकाको संख्या ३ हजार ७ सय ७५ जना रहेका छन् । २०७५ सााउनमा गरिएको घरधुरी सर्वेअनुसार २४ सय ३५ घरधुरी रहेको यस वडाको कुल जनसंख्या १४ हजार ६६ रहेको छ ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप