गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा


  • दिलकुमार लिम्बू
  • २०७७ फागुन ११

फुङलिङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ–गाउँमै स्वास्थ्य सेवाको बहुँच बढाउँदै लगेको छ । समुदायहरुले आफ्नै गाउँपालिकाभित्र स्वास्थ्य सेवा लिनका लागि स्वास्थ्य चौंकीहरुमा आवश्यक उपकरणहरु जोड्दै गएको हो ।
गत हप्ताबाट फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा पहिलोपटक प्रयोगशाला, गर्भवती महिलाहरुको पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्थालाई बुझ्नको लागि भिडियो एक्सरे सेवा शुरु गरेको फक्ताङलुङ गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख दिनेश भट्टराईले बताए ।
मान्छेको संवेदनशिल अंग मुटुको स्वास्थ्य अवस्थाको परीक्षण गर्नका लागि इसिजी सेवा गत हप्तादेखि शुरु भएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।
जिल्ला अस्पतालमा पाउने स्वास्थ्य सेवा गाउँपालिकामै दिन लागेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । विगतका दिनहरुमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालाको प्रयोग गर्न सदरमुकामसम्म पुग्नु पर्दथ्यो । स्वास्थ्य सेवा गुणस्तरीय सेवा दिनको लागि फक्ताङलुङ गाउँपालिकाले एकजना चिकित्सक करार सेवामा लिएर गुणस्तरीय सेवा दिरहेको प्रवक्ता लामाले बताए ।
आफ्नै गाउँमा भिडियो एक्सेर, इसिजी र प्रयोगशालाको सेवा लिन पाउने भएपछि हर्षित भएको स्थानीयबासी पूर्णकुमारी लिम्बूले बताइन् । फक्ताङलुङ गाउँपालिकामा १४ हजार आठ सय ८४ जनाको जनसंख्या भएको फक्ताङलुङ गाउँपालिको तथ्याङ्कमा रहेको छ । यस गाउँपालिकामा सात वटा स्वास्थ्य चौंकी र आठ वटा सामुदायिक स्वास्थ्य इकाइबाट फक्ताङलुङ गाउँपालिकाले स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए । ४७ जना स्वास्थ्यकर्मी र १०५ स्वयसेविका फक्ताङलुङ गाउँपालिकामा परिचालित भइरहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप