धरानको आठौं नगरसभा स्थगित

फागुन २१ गते फेरि सभा बस्ने


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १०

धरानः धरान उपमहानगरपालिकाको आठौं नगर सभा फागुन २१ फेरि बस्ने गरी स्थगित भएको छ ।
तीन घण्टा ढिलो शुरु भएर नगरसभा आधा घन्टामै सकिएको हो । आजको नगरसभा सम्बोधन गरेर नै सकिएको छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गरेर सकेपछि सभा टुंगिएको थियो ।
धरान–१९ र ३ का वडाध्यक्ष, जनप्रतिनिधि, केही कार्यकर्ता नगरसभा गर्ने हलअगाडिको ढोकामा पुगेर नाराबाजी गर्न थालेपछि सभा तीनघण्टा ढिलो भएको हो । साढे १ बजे नगरसभा डाकिएको थियो । खानेपानीको समस्या समाधान गर, खानेपानी संस्थालाई मर्ज गरलगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेपछि उपमहानगरपालिकाका मेयर तिलक राईले २१ गतेभित्र खानेपानीको समस्या समाधान गर्दै संस्थानलाई खानेपानी बोर्डमा गाभ्ने प्रतिबद्धता जनाएका थिए ।
छैटौं, सातौ र अहिले आठौं नगरसभा हुँदा पनि संस्थानलाई बोर्डमा गाभ्ने कार्यमा ढिलाइ हुँदा धरानबासी काकाकुल बन्ने अवस्थामा पुगेको र नगरसभाअघि नाराबाजीको कार्यक्रम राखिएको धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बूले जानकारी दिए ।
मेयर तिलक राईले फागुन २१ गतेभन्दा अगाडि नै खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने र एकद्वार प्रणालीमार्फत् पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । मेयर राईले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानको खानेपानी संरचना पनि संस्थानले नै व्यवस्थापन गरेको र सो संरचनाको प्रतिवेदन आउन ढिलो हुँदा मर्जमा ढिलाइ भएको बताए । ‘प्रतिष्ठानबाट प्रतिवेदन र पत्रसमेत आइसकेको छ’, उनले भने, ‘अब भोलिदेखि हस्तान्तरण प्रक्रिया अघि बढ्छ, फागुन २१ गतेअगावै टुंगोमा पुगेर मर्ज हुन्छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप