धरान उपमहानगरमा नाराबाजी

मेयर तिलक राईले फागुन २१ गतेअघि नै खानेपानी संस्थान बोर्डमा गाभिनेछ भनेर प्रतिबद्धता जनाएपछि नगरसभा शुरु


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन १०

धरानः धरान उपमहानगरपालिकामा हुन लागेको नगरसभा केहीबेर रोकिएको छ ।
साढे १ बजे हुने भनिएको नगरसभा जनप्रतिनिधि र नगरबासीले नाराबाजी गर्न थालेपछि केहीबेरका लागि सरेको हो । पहिला पानी, त्यसपछि कुराकानी भन्दै वडाध्यक्ष, वडा सदस्य, केही धराने जनताले नगरसभास्थलमै नाराबाजी गर्न थालेपछि नगरसभा ढिलो भएको हो ।
खानेपानी संस्थानलाई मर्ज गर, नगर प्रमुख पानी देऊ, धराने जनतालाई पानी देऊलगायतका नारा लगाइएको थियो । उपमहानगरपालिकाका मेयर तिलक राईले तीन चारदिनभित्रै खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने प्रतिबद्धता जनाएपछि नाराबाजी रोकिएको थियो । मेयर राईले उपमहानगरपालिका प्राङ्गणमा रहेको बरपिपलको रुखमुनि उभिएर सो प्रतिबद्धता जनाएपछि नगरसभा शुरु भएको थियो । धरान–१९ र ३ का वडाध्यक्ष र जनप्रतिनिधिमात्रै सो नाराबाजीमा सहभागी थिए ।
छैटौं, सातौ र अहिले आठौं नगरसभा हुँदा पनि संस्थानलाई बोर्डमा गाभ्ने कार्यमा ढिलाइ हुँदा धरानबासी काकाकुल बन्ने अवस्थामा पुगेको र नगरसभाअघि नाराबाजीको कार्यक्रम राखिएको धरान–१९ का वडाध्यक्ष पूर्णबहादुर लिम्बूले जानकारी दिए । उनले जसरी पनि धरानबासीलाई खानीपानी खुवाउन उपमहानगरपालिका चुक्न नहुने धारणा राखे । कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले कुरा उठाउँदा पनि वास्ता नगरिएपछि यस्तो कदम चालिएको वडाध्यक्ष आशाकुमार श्रेष्ठले जानकारी दिए ।
यसैबीच निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिलो नगरसभा शुरु भएको छ । दिउँसो साढे १ बजेको लागि नगरसभा बोलाइएपनि यस्तै कारणले सफल भएन ।
मेयर तिलक राईले फागुन २१ गतेभन्दा अगाडि नै खानेपानी संस्थानलाई बोर्डमा गाभ्ने र एकद्वार प्रणालीमार्फत् पानी वितरण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि आन्दोलित केही वडाध्यक्ष नगरसभामा सहभागी भएका थिए । नगरसभामा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । नगरसभा फागुन २१ गतेसम्म स्थगित हुनेछ । ‘आजको नगरसभा सम्बोधन गरेर सकिनेछ’, मेयर राईले भने, ‘२१ गतेअगाडि नै अथवा भोलि, पर्सि नै यो विषयमा ठोस निर्णय हुन्छ तपाईहरु ढुक्क हुनुहोस्, अर्को नगरसभा बस्नुअघि नै संस्थान बोर्डमा गाभिनेछ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप