आकस्मिक पत्रकार सम्मेलन

धरानमा खानेपानी संस्थान दिन बिराएर पनि खानेपानी वितरण गर्न सहज नहुने भन्दै पन्छियोः आयोजना प्रमुख


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ९

धरानः खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठले बोर्डले जानकारी नदिइ इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने र एक संस्थाबाट मात्र पानी वितरणको प्रक्रिया अघि नबढेसम्म दिन विराएर पनि खानेपानी आपूर्ति गर्न सहज नहुने जनाएपछि धरान खानेपानी व्यवस्थापन बोर्डले आपत्ति जनाएको छ ।
संस्थानले आइतबार एक विज्ञप्ती जारी गर्दै दिन बिराएर पनि खानेपानी आपूर्ति सहज नहुने जनाएको थियो । खानेपानीको हाहाकार भएको धरानमा यसको दोष धरान खानेपानी व्यवस्थापन बोर्डलाई लगाएर उम्कन खोजेको बोर्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संस्थानको यो विज्ञप्तिपछि आइतबार साँझ नै बोर्डले उपमहानगरपालिकामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले आयोजनाले शुरुवातदेखि नै संस्थानसँग सहकार्य गरेको जनाउँदै संस्थानले हालसम्म धरानबासीहरुसँग महशुल उठाइरहेको बताए । उनले महसुल लिएका ग्राहकहरुलाई खानेपानी पुरयाउने दायित्व र जिम्मेवारी संस्थानकै भएको बताए ।
बोर्डले हाल संस्थान र आयोजनाको संरचना प्रयोग गरेर पानी वितरण गर्न लागिपरेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘धरान खानेपानी व्यवस्थापन बोर्ड धरानबासी लाई खानेपानी र आयोजनाको संरचना प्रयोग गरी पानी वितरण गर्ने प्रयोजनमा लागि परेको छ । हाल संस्थानले व्यवस्थापन गरिरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बोर्डले पानी सञ्चालन गर्नुपर्ने दायीत्व रहेको हुँदा प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानी संरचनाको यथार्थ विवरण पेश गर्न गठित समितिको प्रतिवेदन पर्खिरहेको छ ।’ बोर्डले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर र मिति भने उल्लेख छैन ।

खानेपानी आपूर्ति सम्बन्धी प्रेस विज्ञप्ति
नेपाल खानेपानी संस्थान, धरान शाखाको खानेपानी आपूर्ति सम्बन्धी प्रेस विज्ञप्ती सम्बन्धमा यस बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।
धरान नगर क्षेत्रमा पानीको सहज आपूर्तिका लागि उपमहानगरपालिकाले निर्माण गरेको एकीकृत शहरी विकास आयोजनाले नेपाल खानेपानी संस्थानसँग आयोजनाको शुरुवातदेखि नै सहकार्य गरी कार्य गरेको र सम्पूर्ण निमार्णको जानकारी समेत गराएको छ ।
आयोजनाको डिजाइनमा संस्थान र आइयुडिपी एकीकृत गरी खानेपानी सञ्चालन गरिने व्यहोरा अवगत नै छ । धरान खानेपानी व्यवस्थापन बोर्ड धरानवासीलाई खानेपानी संस्थान र आयोजनाको संरचना प्रयोग गरि पानी वितरण गर्ने प्रयोजनमा लागि परेको छ ।
हाल संस्थानले व्यवस्थापन गरिरहेको वी.पी.को.स्वा.वि.प्र.मा समेत बोर्डले पानी संञ्चालन गर्नुपर्ने दायित्व रहेको हुदा प्रतिष्ठानको स्वामित्वमा रहेको खानेपानी संरचनाको यथार्थ विवरण पेश गर्न समिति गठन भई काम भइरहेको छ । स्थलगत निरीक्षणमा संरचनाहरु जिर्ण र डिएच ६ को वेल बिग्रिएर पानी उत्पादनमा समस्या देखा परेको पाइएको र सो मर्मत गर्नुपर्ने कुराहरु मर्मत गर्ने र निमार्ण गर्नु पर्ने संरचनाहरु सम्झौताअनुसार दुरुस्त गरी संस्थानले प्रतिष्ठानलाई बुझाई प्रतिष्ठान र बोर्डबीच सम्झौता हुन बाँकी रहेको जानकारी गराइन्छ ।
खानेपानी संस्थानले हालसम्म धरानवासीहरुसँग पानीको महशुल नियमित रुपमा उठाइरहेकोले महशुल लिएका ग्राहकहरुलाई पानी पुरयाउनु पर्ने जिम्मेवारी संस्थानको नै रहेको छ । पानीको महशुल काउन्टर बन्द गरी हस्तान्तरण प्रक्रिया सहज बनाउन उपमहानगरपालिका तथा बोर्डले गरेको अनुरोधलाई बेवास्ता गरी पानी आपूर्ति गर्न असहज हुने भनी विज्ञप्ती निकाल्नु आफ्नो जिम्मेवारीबाट पन्छिने वहाना मात्र भएको बोर्डको ठहर रहेको छ ।
हस्तान्तरणका सम्बन्धमा उपमहानगरपालिका र प्रतिष्ठानप्रति उत्तरदायी बन्न संस्थानलाई आग्रह गर्दै यथाशक्य छिटो बोर्ड मार्फत धरानवासीलाई नियमित खानेपानी आपूर्ति गरिने प्रतिबद्धता समेत व्यक्त गरिन्छ ।
राजु पोखरेल
कार्यकारी निर्देशक

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप