
ताप्लेजुङः नवजात शिशुको हत्या आरोपमा दुई महिला पक्राउ परेका छन् ।
आफैंले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका हुन् । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएकी थिइन् । गत माघ ३० गते अलैंची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो । उनले हत्या गरेको प्रारम्भिक बयानमा स्वीकारेको प्रहरीले जनाएको छ ।
यस्तै, फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा रहेको अम्रिसो रोपिएको पाखामा शनिबार दिउँसो नवजात शिशुको शव फेला परेको थियो । शव भेटिएको खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धानका क्रममा सोही गाउँकी लाक्पा दिकीलाई पक्राउ गरेको थियो । ३७ वर्षीय लाक्पादिकीले पनि अवैधरुपमा रहन गएको गर्भबाट गत माघ ७ गते शिशु जन्मिएको हुनाले हत्या गरेर फालेको प्रारम्भिक बयानमा बताएको प्रहरी निरीक्षक मोहान पोख्रेलले जानकारी दिए । शवको प्रारम्भिक अनुसन्धानपछि जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम भइरहेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।