आजको स्तम्भः स्वास्थ्य विशेष

धेरै मन रमाए मानसिक समस्या

युवायुवतीमा यस्तो समस्या बढी


  • डा. सुमन अर्याल
  • २०७७ फागुन ९

बाइपोलर इल्नेस एक किसिमको कडा मानसिक रोग हो । नकारात्मक सोचाइ, दैनिक गतिविधि, निद्रामा गडबडी भई मन असन्तुलित हुनु यो रोगको लक्षण हो । कहिले धेरै उदासीपन तथा कहिले असामान्य रूपमा मन रमाउने पनि हुन्छ । जीवनभरिमा यो रोग लाग्न सक्ने सम्भावना ०.३५ देखि १.५५ प्रतिशतसम्म हुन्छ । बाइपोलर इल्नेस पनि बाइपोलर–१ र बाइपोलर–२ गरी दुई प्रकारका छन् । यो रोग लाग्न सक्ने औसत उमेर २०/२१ वर्षमा हो । यो रोग महिला वा पुरुष दुवैलाई समान रूपमा लाग्न सक्छ ।
रोगका लक्षण रोगको चरणअनुसार बिरामीमा विभिन्न किसिमका लक्षण देखापर्न सक्छन् :
♦ अस्वाभाविक रूपमा मन रमाउनु वा अत्यधिक खुसी हुनु ♦ अनावश्यक रूपमा धेरै रिसाउने वा अत्यधिक चिडचिड हुने ♦ निद्रा धेरै कम लाग्ने तथा कम समय सुते पनि चुस्त स्फूर्त नै देखिनु ♦ सामान्यभन्दा अत्यधिक बोलिरहने तथा जोसँग पनि कुरा गर्न खोज्ने ♦ अत्यधिक सोचाइ आउने तथा मन धेरै अस्थिर तथा चञ्चल हुने ♦ सामाजिक रूपमा अपाच्य हुने किसिमका गतिविधि गर्ने ♦ अत्यधिक रूपमा यौन चाहना बढ्ने वा विपरीत लिंगीप्रति असामान्य रूपमा आकर्षण बढ्ने
डिप्रेसिभ चरणमा देखिने लक्षण ♦ धेरै उदासीन भइरहने ♦ अनावश्यक रूपमा शरीर सिथिल हुने ♦ पहिलेजस्तो जाँगर वा चाहना कुनै काममा नहुने ♦ काममा ध्यान केन्द्रित नहुने तथा अनावश्यक रूपमा स्मरण शक्ति कमजोर हुने ♦ अनावश्यक रूपमा हीनताबोध हुने ♦ निराशावादी सोचाइ आइरहने तथा भविष्य अन्धकार देख्ने ♦ निद्रा नलाग्ने, खान अरुचि हुने तथा यौन चाहना घट्दै जाने ♦ आत्मविश्वास घट्दै जाने ♦ बाँच्ने चाहना नहुने तथा आत्महत्याका सोचाइ आउने
रोगको उपचार
मानसिक तथा शारीरिक स्वास्थ अवस्थाको परीक्षण गर्ने । शारीरिक आवरण, मनको अवस्था, सोचाइमा देखिएको असन्तुलन तथा अरू लक्षणका बारेमा जानकारी लिएर रोगको निदान गर्ने गरिन्छ्र । अन्य शारीरिक रोग तथा नशालु पदार्थको सेवनबाट पनि यो रोगका लक्षण देखिन सक्ने हुनाले बाइपोलर इल्नेसको परीक्षण गर्नुपर्ने हुन्छ ।
बाइपोलर इल्नेसको उपचार रोगको चरणसँग सम्बन्धित छ । अन्य पक्षहरू जस्तै रोगको गहनता, मादक पदार्थको सेवन, रोगबाट प्रभावित व्यक्तिको व्यक्तित्व आदिले पनि उपचार प्रक्रियालाई प्रभावित पार्ने गर्छ ।
मुख्यतया औषधिको प्रयोग तथा मनोवैज्ञानिक पद्धतिद्वारा यो रोगको उपचार गरिन्छ । । मनोवैज्ञानिक पद्धतिअन्तर्गत कोग्निटिभ बिहेभिएर थेरापी, इन्टपर्सनल रिदम थेरापी, फ्यामिली थेरापीजस्ता पद्धति प्रयोग गरिन्छ । कहिलेकाहीँ इलेक्ट्रोकन्भुल्सिभ थेरापी पनि प्रयोग गर्ने गरिन्छ । परिवारका कुनै सदस्यमा यो रोग हुनु, व्यक्तित्वको असन्तुलित अवस्था, कम उमेरमा यो रोगबाट ग्रसित हुनु, धेरै उन्मादका लक्षणहरू देखा पर्नु, नशालु पदार्थको सेवन आदिले यो रोगको उपचारमा प्रतिकूल प्रभाव पर्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप