विराटनगरमा ओली नेतृत्वको आमसभा

चुनाव हुन्छ नै अगाडि बढ्नुहोस्ः प्रधानमन्त्री


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ८

विराटनगरः प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् ।
शनिबार आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि अगाडि बढ्ने बताएका हुन् ।
‘यदि कहीँ कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौ’, उनले भने ।
उनले नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफूहरुले नै पाउने बताए । उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको दाबी गरे । ‘चुनाव हुन्छ नै, त्यसकारण तपाईंहरु आत्मविश्वासकासाथ अगाडि बढ्नुस्’, उनले भने । उनले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।
‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भने । उनले प्रतिनिधि सभा पुनस्र्थापना भए सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र लोकतन्त्र कमजोर हुने बताए ।

‘सर्वोच्च अदालतले देशभर भइरहेका यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हेरेको होला’, उनले भने, ‘संविधानको मर्म र भावना हेरेको होला। यसपछिका परिणतिहरू, मुलुक कतातिर जान्छ भन्ने हेरेको होलान ।्
प्रधानमन्त्री ओलीले नेपाललाई समृद्धि र सुखी बनाउन कुनै पनि कसर बाँकी नराख्ने उद्घोष गरे । ओलीले जनमानसको उपस्थितिलाई नियाल्न अन्य विपक्षीलाई आग्रह गरे । उनले विराटनगरको जनमानसलाई हेर्न टेलिभिजन क्यामरा, ड्रोनले समेत नभ्याउने बताए । उनले भने, ‘दुईचार हजार भेला गरेर हेर्न भन्नेलाई आजको भेला हेर्न आग्रह गर्दछु । विराटनगरको भेलालाई हेर्न न ड्रोनले भ्याएको छ, न क्यामेराले । यसलाई हेर्न आकाशको चन्द्रबाट मात्र सम्भव छ । चन्द्रमाबाट मात्र आमसभाको उपस्थिति देखिने छ ।’

सिद्धी सकेको प्रचण्डलाई जोगाइदिएको स्मरण गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रचण्डलाई आफूले सास हालिदिएको बताए । उनले भने, ‘सिद्धी सकेका र चुनावमा दुई चार सिटक पनि नजित्ने प्रचण्डलाई बचाएको हो । सिङ लामो भएपछि हामीलाई नै सक्न लागे ।’
कार्यक्रममा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादलले आगामी वैशाख १७ र २७ गते जसरी पनि मुलुकमा निर्वाचन भएरै छाड्ने बताए । बादलले मुलुकमा समृद्धि र विकास हेर्न नचाहने शक्ति विरोधमा नाममा सडकमा निस्किएको पनि बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा नेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने बताउँदै उनले तोकिएकै समयमा निर्वाचन हुने बताए । नेम्वाङले आफू कानुनको विद्यार्थी भएकाले कानुनका विषयमा केही विषय जानकारीमा राख्ने गरेको भन्दै संसद विघटन प्रधानमन्त्रीको अधिकारभित्र रहेको बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल नेपाल खनाल कम्पनी मुलुकलाई अस्थिर बनाउँदै प्रदेशलाई समेत भाँड्न खोजिरहेको आरोप लगाए । बहुमत रहँदै गर्दा अस्थिरता फैलाउन विरोधमा उत्रिएको कम्पनीलाई प्रदेश कब्जा गर्न नदिने उनले चेतावनी दिए ।
उनले मुलुकमा अस्थिरता सृजना गर्ने कार्य भइरहेको बताउँदै उनले अस्थिरताको फोहरी खेलमा लाग्नेलाई ठेगान लगाउन प्रधानमन्त्री ओलीले मुलुकको रक्षाका लागि ताजा जनादेशको तयारी गरेको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप