
धरानः गीतकार दुर्लभ केसीको शब्दमा लोक स्टार विजेता गायक शनि विश्वकर्मा र समीक्षा अधिकारीको युगल गायनमा समावेश ‘ज्यानमारा मुस्कान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिलशैलीको यस गीतमा आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ । युवायुवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको म्युजिक भिडियोमा नायक पल शाह र स्वस्तिमा खड्काको धमाकेदार नृत्य देख्न सकिन्छ ।
सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भरतबहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर विष्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।
दाङ जिल्लामा रहेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका गीतकार केसीको शब्दमा रहेको यसअघि ‘झुम्का झलक्कै’ गीत दर्शक स्रोतामाझ लोकप्रिय छ । म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन गीतकार केसीले सम्पूर्ण दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।