धरानमा कांग्रेसको विरोधसभा

डा. शेखरले भने- विपक्षको धर्म हो, अविश्वासको प्रस्ताव ल्याएर प्रदेश १ र ३ को सरकार गिराउँछौं (भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ फागुन ३

धरानः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेको पनि बताए ।
प्रतिनिधिसभा विघटनविरूद्धमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा धरानमा भएको विरोध प्रदर्शन र सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले संसद पुनर्थापनाबाहेक केही नरहेकाले अदालतले कसरी निर्णय गर्छ हेर्न बाँकी रहेको बताएका छन् । उनले संसद पुनस्थापित हुनेमा आफू विश्वस्त रहेको बताए । ‘गलत कदमलाई कसैले साथ दिन हुँदैन, विधि र नियमअनुसार हो भने संसद पुनस्थापना हुन्छ’, उनले भने ।
प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी प्रर्दशनअन्तर्गत धरानमा कांग्रेसले विरोधसभा आयोजना गरेको हो । यसअघि डा. शेखर धरानमा पहिलोपल्ट कांग्रेसलाई जिताउन लागिपरेका थिए ।
‘मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव’
कार्यक्रममा बोल्दै उनले प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा लाग्ने बताएका छन् । उनले कांग्रेसले मुख्यमन्त्रीविरुद्धको प्रस्ताव लगेर सरकार ढाल्ने दावी गरे । ‘प्रम ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत दलले ओली पक्षीय टिमको समर्थनमा जान हुँदैन’, उनले भने, ‘त्यही भएर अविश्वासको प्रस्ताव लान्छौं र सरकार ढाल्छौं ।’
बीपीले कम्युनिष्टसँग कहिल्यै सहकार्य नगर्नु भनेको स्मरण गर्दै उनले भने, ‘तर पनि बाध्यताबश २०४६–४७ र ०६२–०६३ मा सहकार्य गरयौं’, उनले थपे, ‘तर अब कांग्रेस आफ्नै खुट्टा, पहिचानमा उभिएर अगाडि बढ्छ, त्यतिमात्रै होइन अहिले प्रदेश १ र ३ प्रदेशमा यो मन्त्रीमण्डललाई अविश्वासको प्रस्ताव आइरहेको छ, हाम्रो विपक्षीको नेता राजीव जी यही उपस्थित हुनुहुन्छ, मेरो विनम्र आग्रह छ, नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन । तर हामी विपक्षमा छौं, विपक्षको धर्म हो, अविश्वासको प्रस्तावको पक्षमा भोट दिएर यो सरकारलाई गिराउनुपर्छ ।’
विरोध सभाअघि धरानको छाताचोकबाट रयाली निस्किएको थियो । छाताचोकबाट शुरु भएको विरोध रयाली भानुचोक, माछाभौडी हुँदै सिंहदेवी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
केन्द्रीय सदस्य मीनकुमार सुब्बा, मिना सुब्बा, कल्पना गच्छदार, नरेन्द्र चौधरी, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, सुनसरीका वरिष्ठ नेता प्रदीप चौधरी, ३ नं. क्षेत्रका क्षेत्रीय सभापति मेहदी हुसैन, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, देवानगञ्ज गाउँपालिकाका सहदेव मेहता, भातृ संगठनका तर्फबाट तरुण दल सुनसरी सभापति सिजन गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुजेन्द्र तामाङले गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष राजीव कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

 

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप