युवापुस्ताको प्रेमः गाँसिने, छुट्ने

आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस: प्रविधिले झनै बिगार्दै


  • मिलन कार्की
  • २०७७ फागुन २

प्रेम दिवस आफैँमा एक महत्वपूर्ण दिन, युवा युवतीले एक आपसमा प्रेम प्रकट गर्ने दिन । आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । प्रेम सम्बन्ध स्थापित भएका प्रेमी प्रेमिकाको प्रेम अझ दरिलो र सुदृढ पार्न मद्दत पुर्याउने दिन । यति प्यारो दिन, विश्वभरि मान्यता पाएको प्रेम दिवसको प्रारम्भ र महत्व बारेमा प्रष्ट पार्ने प्रयास यस लेखमा गरिएको छ । प्रेम दिवस को प्रारम्भ तेश्रो शताब्दीको अन्ततिर रोमनबाट सुरु भएको हो । तेश्रो शताब्दीको अन्ततिरबाट प्रारम्भ भएको प्रेमदिवस अहिले आएर विश्वभरि नै प्रसिद्ध भएको छ ।
आजका विश्वका युवायुवतीहरू प्रेम दिवसका दिन अत्यन्तै रमाउने गर्दछन् । विश्वव्यापी रूपमा मान्यता पाउँदै गएको यो दिवसले प्रेमको सार्थकता र उचाईलाई अझ बढी उचाईमा पु¥याउदै लगेको छ । प्रेम दिवसको प्रारम्भको इतिहासलाई फर्केर हेर्दा नारीसँगको सम्बन्धको कारण सुरक्षाकर्मीहरू कमजोर हुने र गाप्य सूचनाहरू बाहिर जाने डरले रोम सम्राटले प्रेम र विवाहमा रोक लगाए तापनि त्यसको उल्लंघन गर्दै भ्यालेन्टाइनले थुप्रै सैनिक र प्रहरीलाई वैवाहिक सूत्रमा बाँधिदिए पछि उनलाई सम्राटले मृत्युदण्ड दिए ।
रोमका एक जेलरकी छोरीसँगको प्रेममा पागल भएका भ्यालेन्टाइनले मृत्युदण्ड पाउनुभन्दा केही दिनअघि अन्तिम प्रेम पत्र लेखेका थिए ।उनको सामाधिस्तमा बनाएको स्मारकमा मानिसहरूले प्रेमका कारण उनले गरेको त्याग र प्रेम विवाहका कारण सम्राटबाट पाएको मृत्युदण्डलाई हाँसी हाँसी स्वीकार्नुलाई पूजा गर्दै प्रत्येक वर्ष उनलाई श्रद्धाञ्जली अर्पण गरे । त्यही दिनबाट या भना फेब्रुअरी १४ का दिन युवा युवतीले प्रेम पत्र साटासाट गर्न थाले र फेबु्रअरी १४ लाई विशवभरि नै प्रेम दिवसको रूपमा मनाउन थालियो । अहिलेको विश्वमा प्रेमपत्रहरू आदान प्रदान गरेर, कार्ड तथा फूलहरू दिएर, इमेल इन्टरनेटको माध्यमबाट भावनाहरू साटासाट गरेर प्रेम दिवस मनाइन्छ । हामीलाई थाहा भएकै कुरा हो, विक्षिप्तता , घृणा, हत्या , अन्याय ,अत्याचार, युद्ध,धोका , दुःख,पीडा जस्ता नराम्रा कुराहरू प्रेमको अभावमा हुने गर्दछ । यसै कुरालाई मनन् गरेर विश्व चर्चित व्याक्तित्व माहात्मा गान्धी भन्नुहुन्छ । –‘प्रेम भन्दा ठुलो वस्तु संसारमा अरू केही छैन । प्रेमले पापीलाई पनि सुधार्छ । प्रेम त्यो हतियार हो जसको प्रयोगले शत्रु पनि मित्र बन्दछ । साँचो अर्थमा भन्ने हो भने प्रेमले मानिसलाई नयाँ जीवन दिन्छ । यस कुरालाई महान वैज्ञानिक, दार्शनिक, चिन्तकहरूले स्वीकारी सकेका छन् । प्रेम भनेको आत्माको आवाज हो, यो कुनै बनावटी कुरा होइन । आजको विश्वमा उमेर पुगेका युवा युवतीहरू प्रेम संसारमा अनुशासिल रूपमा लाग्नुलाई अन्यथाको रूपमा मान्नु हुँदैन ।
त्यसो त कलिलो उमेरका किशोर किशोरीहरूको बौद्धिकतामा आउन सक्ने कमीले गर्दा प्रेम वरदान नभएर अभिसाप पनि बन्न सक्दछ । कलिलो उमेरका किशोर किशोरीहरूले प्रेमभन्दा अध्ययन पूरा गरेर बसेका युवा युवतीहरूलाई भने प्रेमको ठूलो महत्व छ । प्रेमले युवा युवतीभित्र लुकेर रहेका अन्तर्निहित भावनालाई प्रस्फुुटित गरिदिन्छ र आफ्नो आनन्दमय जीवनलाई अगाडि बढाउँदछ । वयस्क अवस्थाका युवा युवती बीचमा प्रेमको अत्यन्तै आवश्यकता छ । प्रेमले गर्दा नै मानिसको जीवन सफल हुन्छ । प्रेम नभएको दाम्पत्य जीवन असफल र अपूर्ण हुन्छ । वास्तवमा भन्ने हो भने प्रेम अद्भूत छ , यसमा स्वर्गीय आनन्द लुकेको छ । जीवनको सम्पूर्ण सुख भनेकै यही प्रेममा टिकेको छ । प्रेम दिवसमा युवा युवतीले मन खोलेर प्रेम प्रस्ताव राख्ने गर्दछन् । तसर्थ पनि प्रेम दिवसको महत्व आजको विश्वमा दिन प्रतिदिन बढ्दै गइरहेको छ । जसरी प्रजातन्त्र प्रेमीहरूको लागि प्रजातन्त दिवसको महत्व छ , नारीहरूको लागि नारी दिवसको महत्व छ , त्यसैगरी प्रेमी प्रेमीकाहरूको लागि प्रेम दिवसको महत्व छ । फेबु्रअरी १४ का दिन विश्वभरिका अरबौँ युवा युवतीहरूले स्वच्छ आत्माले आ–आफ्नै ढंगले प्रेम दिवस मनाउँछन् ।
अहिलेका युवा-युवती ‘फास्ट फुड कल्चर’ मा हुर्किरहेका छन् । उनीहरुलाई हरेक चीज जाँडो चाहिन्छ । किशोरावस्थामै प्रेममा पर्छन् उनीहरु । तर यस्तो हाउडे प्रेम धेरै समय टिक्दैन । आज हेराहेर, भोली प्रेम र पर्सी ब्रेकअप । हो, अहिलेको युवापुस्ता यही कल्चरमा बाँचिरहेका छन् । उनीहरु प्रेमलाई टाइमपासका रुपमा लिन्छन् । त्याग र समर्पणको भावना न्यून छ । खासमा उनीहरुलाई प्रेमको खास अर्थ र महत्व नै थाहा छैन ।
पहिलेको जस्तो सच्चा प्रेमको युवाहरुलाई मतलब नै छैन । उनीहरु जीवनमा उत्तेजना र रोमाञ्चकता मात्रै चाहन्छन् । फिल्म हेर्न र पार्टीमा झुम्नका लागि मात्रै प्रेमी-प्रेमीका चाहिन्छ ।
कोही यस्तो जसले आफ्नो मनलाई पनि बुझोस र सधैंभरी साथ देओस । त्यस्तो व्यक्तिको खोजी नै गरिदैन । उनीहरु सँगै समय त बिताउछन् तर छुट्टीएपछि याद आँउदैन ।
अहिलेको पुस्ताले भविष्यको बारेमा भन्दा पनि वर्तमानको बारेमा मात्रै सोच्छन् । उनीहरु बोरिङ जीवन चाहदैनन् र प्रेमी-प्रेमीका हुँदा-हुँदै अरुसँगै फ्लर्ट गर्न पछि पर्दैनन् ।
खासमा भन्नुपर्दा उनीहरुसँग परिपक्व सम्बन्धका लागि समय नै छैन । सम्बन्धलाई निभाउने धैर्य छैन । शहरी भागदौड र पैसाको पछि लाग्ने जमानामा साँचो प्रेमले ठाँउ नै पाँउदैन ।
सबै जना भौतिक सुखको सपना मात्रै देख्न व्यस्त छन् । सम्बन्ध अब सुविधाभन्दा धेरै केही पनि होइन । भावनाको यहाँ कुनै कदर छैन ।
आजकालका युवायुवतीलाई हरेक चीजमा छिट्टै खुसी चाहिन्छ । हरेक कुरा तत्काल चाहिन्छ । रेष्टुरेन्टमा गएर अर्डर गर्नासाथै फास्टफुड आए जस्तै उनीहरुलाई प्रेममा पनि सबै कुरा फास्ट चाहिएको छ ।
सम्बन्धमा गम्भिरता समयसँगै आँउछ र अर्को व्यक्तिसँग जोडिनको लागि वर्षौं लाग्छ । तर, अब प्रेमको लागि समय र धैर्य कम हुँदै गएको छ ।
उनीहरु विकल्पमा विश्वास गर्न थालेका छन् । आफूले भनेको भएन भने अर्को विकल्प सोचिसक्छन् । उनीहरु लालची भएका छन् । उनीहरुलाई सबैथोक चाहिन्छ ।
हुन त प्रविधिले मानिसहरुलाई धेरै नजिक ल्याएको छ । देश-विदेशमा भएका साथीभाइ आफन्तसँग पनि सजिलै भिडियोकल, भ्वाइसकल गर्न सकिन्छ । तर नजिकै भएका मानिस सँग भने कुराकानी गर्ने फुर्सद छैन ।
शारीरिक उपस्थितीको स्थान फेसबुक, इन्स्टाग्राम, टि्वटर, हृवाट्सएपले लिएको छ । एकअर्कासँग समय बिताउने आवश्यकता महसुस नै हुँदैन ।
फेसबुकले गर्दा एक-अर्काको बारेमा पहिले नै धेरै जानकारी हुन्छ । कुरा गर्नको लागि केही पनि बाँकी हुँदैन । कुनै रहस्य र खुल्दुली नै हुँदैन । सेक्स अहिले धेरै सजिलो चिज भएको छ । प्रेम सम्बन्धमा सेक्स मात्रै सबैथोक होइन तर युवाहरु प्रेमभन्दा पनि सेक्सलाई महत्व दिन थालेका छन् । आफ्नो सम्बन्ध बाहिर अरुसँगै पनि सेक्स हुनु अब ठूलो कुरा रहेन ।
अहिले मल्टिपल रिलेसनसिपको पनि चलन आएको छ । त्यस्तै प्रेम सम्बन्धमा नभए पनि मिल्ने साथीबीच पनि यौनसम्बन्ध हुने गरेको पाइन्छ ।
यो पुस्ता व्यवहारिक पुस्ता हो र उनीहरुले हरेक कुरालाई दिमागले सोच्छन् । उनीहरुलाई पागलपनको हदसम्म प्रेम गर्न आउँदैन । आफ्नो हित-अहित सोचेर मात्रै उनीहरु कुनै कदम उठाउँछन् । प्रेममा पागल जसरी भौतारिने समय अब कसैसँग पनि छैन ।
प्रेममा अब प्रतिबद्धता र मुटु टुट्ने जोखिमबाट डर लाग्छ । अब आँखा बन्द गरेर कसैको प्रेममा परी आफ्नो जीवन खराब बनाउन कसैले चाहँदैन ।
मानिसको लागि प्रेम र विश्वास धेरै नै महत्वपूर्ण कुरा हो । तर, हामी सायद विस्तारै-विस्तारै यी शब्दको अर्थ भुलिरहेका छौं । आधुनिक समयमा रहेका हामी कतै प्रेमको महत्व नै भुल्ने त होइनौं ? यो विचारणीय छ । -थप एजेन्सीबाट

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप