आजको स्तम्भः रमाइलो शनिबार (शिक्षा र बालबालिका विशेष)

यस्तो पाठ्यक्रम बन्दैन ?

४ वटा ‘ज’ को आधार (ज-जल, ज-जमिन, ज-जंगल र ज-जनजीवन) मा पाठ्यक्रम बनोस्


  • बलराम खड्का
  • २०७७ फागुन १

मानिसको जीवनमा आउने दैनिक व्यवहारको गतिविधिअन्तर्गत पर्ने हरेक काम र काम गर्नुपर्ने दक्षताअनुसारको सीप जीवनोपयोगी सीप हो । यो सीपको विकास हुँदा मनोसामाजिकरुपमा आइपर्ने तनावहरुको व्यवस्थापन गर्ने क्षमता विकास हुँदै जाने हुँदा सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन मद्दत गर्दछ । जसले गर्दा कुनैपनि व्याक्तिले प्रतिकुलतालाई पनि सहज र सरल तरिकाले अनुकुलतामा लैजान सकिन्छ ।
ज्ञानविनाको सीप र सीपविनाको ज्ञान काम लाग्दैन, ज्ञान आर्जन गरि सिपमा ढाल्ने र प्रयोग गर्न लायक बनाई प्रयोग गर्ने यो नै जीवनोपयोगी सीप हो । हरेक मानिसले उसको जीवन निर्वाह गर्न चाहिने परम्परागत औजार उपकरणदेखि आधुनिक मेसिन उपकरणको सहज र सरल प्रयोग गरी सामान्यदेखि उच्च स्तरको जीवन निर्वाह गर्न सक्षम पार्ने ज्ञान र सीपको स्वरुप नै जीवनउपयोगी सीप हो । विश्व स्वास्थ संगठनका अनुसार कुनैपनि व्यक्तिले दैनिक रुपमा आइपर्ने समस्याहरुलाई सजिलो र प्रभावकारी तरिकाले समाधान गर्नको लागि अग्रसर हुने क्षमताको विकास तथा सकारात्मक व्यवहारको प्रयोग गर्न सक्ने दक्षताको विकास नै जीवनोपयोगी सीप हो ।
यूनिसेफका अनुसार जीवन उपयोगी सीपमा देहाय बमोजिमका सीप हुनुपर्छः निर्णय गर्न सक्ने सीप, समालोचनात्मक सोचाई राख्न सक्ने सीप, आफूलाई चिन्न सक्ने सीप, समस्या समाधान गर्न सक्ने सीप, तनावको व्यवस्थापन गर्न सक्ने सीप, अन्तरव्यक्ति सम्बन्ध राख्न सक्ने सीप, सम्झौता गर्न सक्ने सीप, प्रभावकारी सञ्चार गर्न सक्ने सीप, सक्रिय सुनाइ गर्न सक्ने सीप र अनुभूति व्यक्त गर्न सक्ने सीप । यसरी मानिसको जीवन प्रक्रिया सुचारु गर्नको लागि चाहिने ज्ञान आर्जन गरी सीपमा ढाल्ने, जसले आइपरेका हरेक समस्याहरु समाधान गर्न योग्य तथा सक्षम बनाउने ।
जस्तै, मानिसलाई भान्सा कोठामा प्रयोग गरिने चक्कु चुलेसी, खेतबारीमा प्रयोग गरिने कुटो, कोदोको, हसिया देखि मेसिन उपकरणको प्रयोग मात्रै होइन ज्ञान विज्ञानका नविनतम चिज वस्तुहरुको सहज र सरल ढङ्गबाट प्रयोग गर्न सक्षम हुनु नै जीवनोपयोगी सीप हो ।
अबको शिक्षा कस्तो बनाउने भन्ने नयाँ बहस हुन जरुरी छ । आजको बदलिँदो विश्व परिवेशलाई मध्ये नजर गरि ऐन नियमहरु तयार पारी पाठ्यक्रममा पनि व्यापक सुधारको जरुरी छ । हाम्रा विद्यालय र विश्व विद्यालयहरुबाट उत्पादित जनशक्ति जीवनोपयोगी सीप र व्यवहारिक सीप सिकेर स्वरोजगार जो विश्व बजारमा खपत हुने जनशक्ति उत्पादन गर्नुपरयो । जसको सोही अनुसार विद्यालय र विश्व विद्यालयहरु स्थापना गरिनुपर्छ ।
त्यसकारण कुनै विषयको जनशक्ति बेरोजगार हुने र कुनै विषयको जनशक्तिको अभाव हुने, यो गन्जागोलको स्थिति छ । देशमा योग्य र दक्ष जनशक्ति उत्पादन गरी देशको सर्वाङ्गीण विकास गर्न योजनावद्ध तरिकाले अघि बढ्नु जरुरी हुन्छ । यसको लागि अल्पकालीन, मध्यकालीन, दीर्घकालीन तीन प्रकारको योजना बनाइ, शिक्षा संकायबाट कति जनशक्ति उत्पादन गर्ने, इन्जिनियर, डाक्टर, पाइलट, वकिल, बाली विज्ञान, पशु विज्ञान, वन विज्ञान, वाणिज्य नर्स, मेकानिकल आदि कुन विषयका कति, जनशक्ति उत्पादन गर्ने योजना बनाई लागू गरिनुपर्छ, जसले गर्दा बेरोजगारी समस्या पनि कम हुने र देश विकासमा पनि सहयोग पुग्ने देखिन्छ ।
यसमा मेरो धारणा ४ वटा ‘ज’ को आधारमा पाठ्यक्रम बनाउनुपर्छ । ज-जल, ज-जमिन, ज-जंगल र ज-जनजीवन ।

जल: नेपाल प्रशस्तै जन सम्पदा भएको देश हो, उपलब्ध सबै जलस्रोतको सदुपयोग कसरी गर्ने, त्यसबाट देश विकासको हरेक क्षेत्रमा उपयोग कसरी गर्ने र विदेशी मुद्रा कसरी भित्रयाउने तथा देशको अर्थतन्त्र बजबुत बनाउने, यी र यस्तै विषयवस्तु समेट्नुपर्छ । नेपालमा प्रशस्तै खोलानाला छन् । नेपालकै पानीले प्रशस्त विद्युत उत्पादन गर्न सकिन्छ । उत्पादित विद्युतले उद्योगधन्दा, कलकारखाना चलाउन सकिन्छ ।
जमिनः नेपाल कृषिको लागि अति नै उपयुक्त भूमि हो यहाँ सबै प्रकारका खाद्य सबाली, नगदेबाली फलफूलहरु, तरकारीहरु प्रशस्तै फलाउन सकिन्छ । फलफूल, तरकारी, फलफूल, दूध, दही, खाद्यान्न, माछा, मासुमा आत्मनिर्भर देश बनाउन के कसरी सकिन्छ, क्षेत्र, भूगोलको अध्यन गरी कुन बाली कुन ठाउँमा के कसरी लगाउन सकिन्छ, उत्पादन बिक्री–वितरण, फाइदा बेफाइदा यी र यस्तै सबै कुरा समेटिएको पाठ्यक्रम तयार पारी लागू गरिनुपर्छ, जसले वार्षिक लाखौं विदेशी मुद्रा आयात गरेर देश समृद्धितिर लैजान सकिन्छ ।
जंगल: हरियो वन नेपालको धन भनिन्छ तर उपलब्धी छैन । नेपाल संसारकै यस्तो देश हो जहाँ हिमाल, पहाड, तराई छ, यहाँ हर प्रकारका बोट बिरुवा, बहुमुल्य काठहरु प्रशस्तै पाइन्छन् । यहाँ प्राकृतिक मनमोहक फुल का बगैंचाहरु, जंगली फलफूलहरु, बहुमुल्य जडिबुटिहरु दुर्लभ जंगली जनावरहरु चराचुरुङ्गीहरु, हिमाल, पहाड, डाडा, पाखा, पखेरा, खोच, भञ्ज्याङ्, मैदान ताल झरना, जुफा, यी र यस्ता प्राकृतिक सम्पदाको संरक्षक, विकास र प्रबद्र्धधन कसरी गर्ने भनेर पाठ्यक्रम तयार पारेर लागू गरियो भने नेपाल वर्षेनी लाखौं पर्यटक भित्रयाउन सक्छ, जसले गर्दा चाँडै देश समृद्ध हुन सक्छ ।
जनजीवनः यसभित्र, नेपालको सस्कार संस्कृति, जात, जाती धर्म, रितिरिवाज, चाडपर्व, भेषभुषा, मेला जात्रा भूगोल, इतिहास आदि सबैको संरक्षण, विकास र प्रवद्र्धन के कसरी गर्न सकिन्छ । जो विश्वका विरलै मुलुकमा भएको यस्तो संस्कृति भेटिन्छ । यी र यस्ता कुराहरु समेटेर पाठ्यक्रम तयार पारी लागू गरिनुपर्छ । यसमा हाम्रो पुर्खाहरुको विरताको गाथा जो अतुलनीय छ, यस्तो इतिहास अविस्मरणीय छ । यसले देशको हर क्षेत्रको बिकास हुन्छ जातीय, क्षेत्रीय, भौगोलिक, भाषिक सबैको सम्बन्ध प्रगाढ हुन्छ, सुशासन दिन सहज हुन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप