आजको स्तम्भः मिसन प्रेरणा

पुस्तक र पत्रपत्रिकाको नशा !

धरानमा चिया बेचेर निःशुल्क पत्रपत्रिका, पुस्तक पढाउने ‘मधु दाइ’


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ८

धरानः उनी बिहानै साढे ४ बजे उठ्छन् । बिहान सबेरै उठ्नु अनि चिया पकाउनुअघि भानुचोक आसपासलगायत अन्य ठाउँमा स्थानीयदेखि राष्ट्रिय पत्रपत्रिका खोज्नु उनको दैनिकी हो । दैनिकजसो उनले चिया बनाउनुअघि शुरुमा पत्रपत्रिका खोजेर ल्याउँछन् अनि मात्रै चिया, नास्ता बनाउन थाल्छन् । यति मात्रै होइन उनले पुस्तक पनि राखेर पुस्तक पढाउँदै आएका छन् । भनौं, त्यो ठाउँ हो–पुस्तकालय ।
धरान–७ मा रहेका मधुशाला चियालयका सञ्चालक मधुकर शाक्य चिया बेचेर निःशुल्क पत्रपत्रिका पुस्तक पढाउँदै आएका छन् । चियाको चुस्कीसँगै पत्रपत्रिका, पुस्तक पढ्न बिहान–दिउँसो ग्राहक आउँछन् । दैनिक १५० रुपैयाँको पत्रपत्रिका किनेर ल्याउने गरेको उनी बताउँछन् । ‘बिहानदेखि साँझसम्म चिया बेच्छु, त्यही रकममध्येको केही रकम पत्रपत्रिका, पुस्तक ल्याउन खर्चिन्छु । उनले भने, ‘यसलाई मैले भेटघाट चौतारीजस्तो र व्यक्तिगत पुस्तकालय पनि भन्दै आएको छु ।’
उनी यस व्यक्तिगत पुस्तकालयमा आएर ग्राहकले चिया खाने मात्रै होइन, घर्रामा रहेका पुस्तक, घरको आँगनको टेबलमा राखिएका पत्रपत्रिका, म्यागेजिन पढे भनेचाहिँ सन्तुष्ट मान्छन् । ‘जसले मस्तसँग पढेर केही जान्न खोज्छ, त्यसैका लागि नै भएपनि दैनिकजसो यतिका रकम खर्चिएको छु’, उनले थपे, ‘जब ग्राहकले पढ्छन् आफूमा उर्जा थपिन्छ, त्यस विषयसँग सम्बन्धित रहेर गफिन पाइन्छ, मजा आउँछ ।’
उनले मधुशाला स्थापना गरेको धेरै वर्ष भइसकेको छ । उनको साहित्यिक नाम मधुप्याला हो । सानैदेखि कविता, गीत, गजल, हाइकु लेख्दै आएका उनले अहिले पनि छोडेका छैनन् । ‘अहिले पनि लेख्छु’, उनले सुनाए, ‘मेरो आत्मसन्तुष्टिका लागि लेख्छु ।’
पुस्तक पढ्न रुचाउने उनी पुस्तक किनेर राख्दैनन् पुस्तक दिऔं पनि भनिरहेका छन् । जीविकोपार्जनका लागि चियापसल चलाइरहेका उनले अब पुस्तक पढाउने र व्यक्तिगत पुस्तकालय नै बनाउने सोंच राखेको बताए । ‘मैले यसअघि धेरै दुर्लभ पुस्तक पनि बेचें’, उनले खुलाए, ‘अब पुस्तक बेच्दिनँ, यही व्यक्तिगत पुस्तकालय बनाउने योजना छ, उल्टै पढिसकेका वा पुस्तक दिन मन पर्नेलाई यहाँ ल्याएर छोडिदिनुहोस् भन्छु ।’
उनले चियालयको भित्तामा साहित्यकार, लेखकका लेख, रचना साथै महान विचारकका विचारहरु टाँसेका छन् । ‘महान विचार, मनपरेका लेखहरू प्रायः फ्रेम पनि गर्ने गरेको छु’, उनले भने ।
बर्थडे, पार्टी गर्नुभन्दा एउटा पुस्तक ल्याएर यहाँ छोडिदिन उनले आग्रह गरे । ‘खासमा भन्ने हो भने म पठन संस्कृतिको विकास गरौं, जर्गेना गरौं भनेर लागिपरेको छु, म एक्लैले पनि पुस्तकालय बनाउन सक्दिनँ । कति बर्थडेहरु, खुशीको अवसरहरुमा रम, बियर खाएर खर्च गर्नुभन्दा एउटा, दुईवटा पुस्तक दिए समाजमा योगदान पनि हुन्छ नि, त्यसैले होस्टेमा हैंसे गरिदिनुहोस् है ।’ उनले भने ।
उनले ज्ञान आर्जनका लागि पुस्तक पढ्नुपर्ने सुझाए । ‘पुस्तकले विचार गर्न सक्ने, चिन्तन गर्ने र तर्कशील बनाउँछ ।’ उनले भने, ‘त्यसैले पनि पुस्तक पढ्नु अनिवार्य र अपरिहार्य जस्तै भइसकेको छ ।’ उनले मोबाइलले नै पठन संस्कृति हराउँदै गएको टिप्पणी गरे । ‘अहिलेका पुस्ता कहाँ पुस्तक पढ्छन्, सबै मोबाइलले खाइसक्यो,’ उनले भने ।
उनले पठन संस्कृतिको विकास गर्नका लागि प्यास जगाउनुपर्ने बताए । ‘मुख्यकुरा प्यास हो’, उनले खुलाए, ‘मैले छोरालाई दिल्लीमा किताब किन्नकै लागि तीनचोटी पठाएर पनि पुस्तक ल्याएको छु ।’ अन्त्यमा उनले कविता संग्रह निकाल्ने योजनामा आफू रहेको सुनाए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप