धरानका मेयर तिलक राईको तलब-भत्ताले पत्रकारिता पुरस्कार कोष स्थापना


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ७

धरानः धरानमा अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ ।
गीता मन्दिरमा एक कार्यक्रमका बीच सो पुरस्कार कोष स्थापना गरिएको घोषणा गरिएको थियो । एक लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफूले मेयरबापत पाउने तलब–भत्ता लगायत सेवा–सुविधा अक्षयकोषका लागि खर्चेका हुन् । सो रकम मेयर राईलाई उपमहानगरपालिबाट प्राप्त हुने सेवा, सुविधा, भत्तास्वरुप बैंकमा जम्मा भएको रकममध्ये प्राप्त अनुदानको रकमबाट स्थापना गर्ने निर्णय भएको हो ।
नेपाली कांग्रेस धरान नगर सभापति समेत रहेका मेयर राईले सो पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न नगर समितिसमक्ष राखेको प्रस्तावलाई कांग्रेसले सर्वसम्मत स्वीकारेपछि उनले सो पुरस्कार कोष स्थापना भएको जानकारी दिए ।
‘जिम्मेवार, जनतामुखी सञ्चारकर्मी, पत्रकारलाई पुरस्कृत गर्न नेपाली कांग्रेसले स्थापना गरेको पुरस्कार कोष धरानको इतिहासमै पहिलो हो’, उनले भने ।
यसअघि मेयर राईले आफ्नो तलब–भत्तालगायन सेवा सुविधा नलिने घोषणा गरेका थिए । तलब–भत्तावापत प्राप्त हुने रकमबाट १ लाख ५० हजार रुपैयाको पुरस्कार कोष स्थापना भएको हो । कार्यक्रमबीच प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले सो रकम हस्तान्तरण गरे । प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारी, धरान नगर अध्यक्ष मातृकाप्रसाद नेपाल र कोषाध्यक्ष वसन्त राईलाई सो रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर राईले आचार्यलाई ०४६–०४७ सालदेखि नै चिनेको र आचार्यले सामान्य जीवनशैलीका रुपमा जिउने व्यक्तिका रुपमा अहिलेसम्म चिनेको बताए । ‘पाँच दशकअघि आफ्नै जन्मस्थल धरानलाई कार्यक्षेत्र बनाएर राजनीतिसँगै पत्रकारिता थालेका आचार्य नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारितामा अमूल्य योगदान दिने व्यक्ति हुन् ।’ उनले भने, ‘त्यही भएर उहाँको सम्मानमा अक्षयकोष स्थापना भएको हो ।’
युनियनले पुरस्कार कोषको उद्देश्यअनुसार निष्पक्षरुपमा मूल्यांकन गरी प्रत्येक वर्ष एक जना सञ्चारकर्मी, पत्रकारलाई १५ हजार रुपैयाँ नघटाइ पुरस्कार र ताम्रपत्र प्रदान गर्ने जनाइएको छ ।
आचार्यले धरानको मेयरले तलब–भत्ता आफूले नलिएर कोष स्थापना गरेर सिर्जनशील कार्य गरेको आफूले महसुस गरेको बताए । ‘ज्युँदैमा पत्रकार सम्मान हुनु पनि ठूलो कुरा हो’, उनले भने, ‘यो उदाहरणीय कार्य हो ।’
आचार्य २०३४ सालमा नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठन हुँदा उनी संघको पहिलो जिल्ला सभापति रहेका थिए । उनकै नेतृत्वमा संघ बनेपछि फेरि पछि नेपालभर नेपाल पत्रकार महासंघ बनेको थियो । त्यही भएर पनि पत्रकारिताको इतिहासमा देशभरका पत्रकारले धरानलाई सम्झिने गर्दछन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सांसद श्रेष्ठ, प्रतिनिधिसभाका सांसद, केन्द्रीय सदस्य मीना सब्बा, क्षेत्रीय कार्यसमितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, महाअधिवेशन प्रतिनिधि उमेश थापा, नेका पूर्व जिल्ला सदस्य भीष्म काफ्ले, प्रेस युनियन सुनसरीका अध्यक्ष अधिकारीले समेत शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम नेका नगर समितिका सचिव श्याम पोख्रेलले सञ्चालन गरेका थिए । तस्वीरः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप