
धरानः धरानमा माग्नेको ‘रेट’ ले हैरानी व्यहोर्नुपरेको एक व्यक्तिले गुनासो गरेका छन् । कान नसुन्ने, बोल्न नसक्ने (फरक क्षमता) भएका एक व्यक्तिले तोकिदिएको ‘रेट’ ले हैरानी साथै तनाव व्यहोर्नुपरेको सुमन सापकोटा (नाम परिवर्तन) ले गुनासो गरेका हुन् ।
गत हप्ताको कुरा हो । नेपाल सरकार, जिल्ला विकास समिति कार्यालय फेलाताल कास्कीले जारी गरेको हृदय छुने खालको एउटा पत्र बोकेर शिवा पाण्डे नाम गरेका व्यक्ति सापकोटा बसेको घरमा प्रवेश गरे । उनको हातमा नेपाल सरकारको छाप लागेको र जिल्ला विकास समितिले जारी गरेको एउटा सानो पत्र छ, पत्र लेमिनेशन गरिएको छ ।
घरमा उनकी ११ वर्षकी छोरी मात्रै थिइन् । बाहिर गेटमा माग्दै गरेका ती व्यक्ति बालिका मात्रै देखेपछि गेट खोलेरै भित्र छिरे । हातको इशाराले पैसा मागे । एकछिनपछि बालिकाले ५० रुपैयाँ ल्याएर दिइन् तर उनी मानेनन् । त्यसपछि ती बालिकाले १०० सय रुपैयाँ ल्याएर दिइन् अनि पनि मानेनन् ।
२०० सय रुपैयाँ दिँदा समेत उनी नमानेपछि बाबुआमा हुनुहुन्नँ, पैसा छैन भनिन् तर उनी मानेनन् घरभित्र छिर्न खोजे । उनी इसाराले माग्थे अर्थात् उनको रेट वा माग थियो– ५०० रुपैयाँ दिनू ।
घरभित्र नै छिर्न खोजेपछि ती बालिकाले डरले ५०० रुपैयाँ झिकेर दिएको बताइन् । बालिकाकाअनुसार त्यसपछि मात्रै ती व्यक्ति घरबाट निस्किएका थिए । ती बालिकाले त्यसपछि आफू डरले थुरथुर कामेको बताइन् । ‘घरभित्र पस्न खोजेपछि मैले पाँच सय रुपैयाँ झिकेर दिएँ’, उनले भनिन्, ‘नत्र मेरो हालत के हुन्थ्यो थाहा भएन ।’
छोरीले ५ सय रुपैयाँ दिएको कुरा बुबाले चार दिनपछि मात्रै चाल पाए । ‘छोरीले ५ सय दिएको बुबाले चाल पाउनुभयो भने कराउनुहुन्छ भनेर भनेको पाइएन’, उनले गुनासो पोखे, ‘तर मैले चाल पाएपछि छोरीले सबै कुरा भनिन्, त्यसपछि मैले ती व्यक्तिको व्यवहार नियालिरहें अर्थात् फेरि अन्य दिन पनि आइपुग्न सक्छन् भनेर चियोचर्चा गरिरहें ।’
उनका अनुसार नभन्दै हप्तादिनपछि ती व्यक्ति टुप्लुक्कै आइपुगे । ‘त्यतिबेला म मात्रै घरमा थिएँ, ती व्यक्ति त्यो दिन सरासर घरभित्र छिर्ने प्रयास गरे । म बाहिर निस्किएर उनलाई रोंके, त्यसपछि ती व्यक्ति निन्याउरो बने । मलाई लाग्छ हप्तादिनभित्रै उनी त्यहाँ प्रवेश गर्नु छोरी एक्लै छिन् भनेरै हुनसक्छ,’ उनले थपे, ‘मैले छोरीलाई डाकेर यही व्यक्ति होइन अस्ति पैसा लाने भनेपछि उनले हो भनिन्, ती व्यक्तिलाई मैले हप्तादिनअघि ५ सय रुपैयाँ लगेको होइन भनें, उनले इसारामा हो भने, मैले ती व्यक्तिलाई सम्झाएर पठाएँ, एकातिर माग्नेको रेटले हैरानी व्यहोर्नुपर्ने त छँदैछ साथै त्यस्ता व्यक्तिले गर्ने व्यवहारदेखि अन्य व्यक्ति पनि हैरान बन्दै आएको मैले गुनासो सुनिसकेको छु ।’
त्यो घटनापछि आफू केहीदिन बनेको उनले जानकारी दिए । उनले यस्ता रेट तोक्ने व्यक्तिदेखि सबै सचेत हुनुपर्ने बताए । ‘खासमा भन्ने हो भने छोरी एक्लै भएको बेलामा प्रवेश गरेर अन्य घटना घटेको भए भन्ने कुरालाई अहिलेसम्म पोलिरहेको छ’, उनले भने, ‘उनको यस्तो व्यवहारले अन्यलाई पनि पोलेको हुनसक्छ, त्यसैले माग्नेदेखि सावधान साथै ‘रेट’ तोक्ने व्यक्तिदेखि सधैं सचेत रहनुपर्छ भनेर यो सन्देश जारी गर्न खोजेको हुँ ।’
उनले त्यो व्यक्ति हप्तादिनमै लगत्तै आउनुले उनको व्यवहारप्रति आशंका उब्जिएको बताए । ‘मेरो घरमा त आए तर अन्य घरतिर पनि यसरी बालबालिका भएको बेला मात्रै यस्तो हर्कत गरेको हुनसक्छ, त्यसैले सबैले सावधानी अपनाउनुहोस् भन्नका लागि भएपनि यस्ता कुरा राखेको हुँ ।’