
धरानः जनता समाजवादी पार्टी नेपालले धरानमा बृहत बिरोध प्रर्दशन गरेको छ ।
संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै समाजवादीले धरानमा प्रदर्शन गरेको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राईले अहिलेको ‘कामकुरो एकातिर, कुम्लो बोकी चुनावतिर’ लागेको बताए । प्रम ओलीले शिक्षा, स्वास्थ्यमा ध्यान दिनुपर्नेमा एक्लै चुनावी भाषण गर्दै हिँडिरहेको बताए ।
‘उनी एक्लै चुनावी भाषण गरेर हिँडिरहेका छन्, उनलाई भोट कति चाहियो रे भन्दा ५० लाख, सिट दुई तिहाइ चाहियो रे अनि कामकुरो एकातिर, कुम्लो बोकी चुनावतिर नभनेर के भन्ने ?’ उनले भने ।
कोभिड–१९ का कारण जनताको सेवामा समर्पित हुनुपर्ने सरकार अहिले अनेकौं बहानामा अल्झिएको उनको आरोप थियो । प्रम ओलीले भोट माग्ने सिलसिलामा असाधारण काम गरेको भनेपनि उनको कुरामै सीमित भएको उनको भनाइ थियो । उनले ६ महिनामा १३ प्रतिशत विकास खर्च हुनु दुःखद् भएको बताए ।
प्रम ओलीले संविधान मिचेको, लोकतन्त्रमाथि धावा बोलेको उनको भनाइ थियो । प्रम ओलीले नै संसदमाथि तरबार प्रहार गरेको उनको भनाइ थियो । ‘प्रम ओलीको नाम खड्गप्रसाद ओली हो’, उनले भने, ‘खड्ग भनेको तरबार हो, प्रम ओलीले त्यही तरबारले नै संसदमाथि प्रहार गरेका छन् ।’
कार्यक्रममा बोल्दै केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले विकास, समृद्धिको कुरा टाढा रहेको र राजनीतिक किचलोबाहेक केही हुन नसकेको आरोप लगाए । प्रम ओलीको प्रवृत्ति अहिले अमेरिकाको ट्रम्पको जस्तो देखिएको उनको भनाइ थियो ।
अर्का कार्यकारिणी सदस्य पर्शुराम खापुङले केपी ओली प्रवृत्तिविरुद्ध आफूहरु लड्दै आएको बताउँदै संसद विघटनविरुद्ध अन्तिमसम्म लड्ने बताए ।
कार्यक्रममा नेता रकम चेम्जोङ, पर्शुराम बस्नेत, प्रदेश १ का सांसद जयराम यादव, डा. खालिद हुसैन हक नवप्रवेशी पूर्व माओवादीका भीम विश्वकर्मा, धरान नगर समितिका अध्यक्ष ताजुब लिम्बूलगायतले बोलेका थिए ।
कार्यक्रम केन्द्रीय सदस्य भीम राईको संयोजकत्वमा भएको थियो । कार्यक्रममा ५० जनाभन्दा बढी पार्टीमा प्रवेश गरेका थिए । भानुचोकमा सभा हुनुअघि धरान–१२ पब्लिक हाइस्कुल र छाताचोकस्थित पुरानो अस्पताल परिसरबाट बृहत विरोध रयाली निस्केको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा