धरान उपमहानगरपालिकाअगाडि कांग्रेसको प्रदर्शन


  • हाम्रो कोशी आवाज
  • २०७७ माघ ३

धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकाअगाडि प्रदर्शन गरेको छ ।
कांग्रेसको पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार धरान उपमहानगरपालिकाअगाडि कोणसभा कार्यक्रम आयोजना गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको कांग्रेसले पूर्वनिर्धारित कार्यक्रमअनुसार धरानमा पनि प्रदर्शन गरेको हो ।
बृहत मोटरसाइकल रयालीपश्चात् त्यहाँ कोणसभा आयोजना भएको थियो । धरान–१२ स्थित पब्लिक माविको मैदानबाट सुरु भएको मोटरसाइकल रयाली कलेज रोड, मुनाल पथ, राँगाचौक, दुर्गाचौक, कल्याण चौक, न्यूरोड, रत्नचौक, रेल्वे, बीपी सुन्दर बजार, बुद्धचौक, धनकुटे रोड, भोटेपुल, बरगाछी, श्यामचौक, आडालाइन, पिण्डेश्वरीचौक, माछाभौडी, देशीलाइन, भानुचौक, छाताचौक हुँदै उपमहानगरपालिको गेट अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
विरोधसभामा नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कम्युनिष्ट सरकारले संविधानको संवैधानिक अंगमा रहेर संविधानको नियम पालना गर्नु नसकेको आरोप लगाए । उनले केपी ओली सरकारले संविधानलाई कु गरेको उनले बताए । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर संविधानमाथि कु गरेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका पूर्व नगर सचिव सुधिर लिम्बूले सरकारले तानाशाही, निरंकुश बनेकोले कांग्रेस सडकमा आउनुपरेको धारणा राखे । उनले सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको उनले बताए । ‘कम्युनिष्ट सरकारले बहुमतको कदर गर्न सकेन, त्यसैले जनताको भावना बुझ्ने पार्टी नेपाली कांग्रेस मात्रै हो’, उनले भने, ‘त्यसैले तानाशाही, निरंकुशताका विरुद्ध अहिले कांग्रेस सडकमा छ ।’
यसैगरी विरोधसभामा नेपाली कांग्रेस सुनसरीका जिल्ला सदस्य प्रेम लकान्द्रीले प्रधानमन्त्री केपी ओली सरकारले भागबण्डा र भ्रष्टाचारमा कुरा नमिलेर प्रतिनिधिसभा भंग गरेको बताए । नेकपा सरकारको आन्तरिक झगडाको कारण नेपाली जनताले दुःख पाएको उनको भनाइ थियो । ‘अब देशलाई विकास तथा समृद्धिको दिशामा पुरयाउन नेपाली कांग्रेसले मात्र सक्छ’, उनले भने ।
नेपाली कांग्रेस सुनसरीकी जिल्ला सदस्य एवं नेतृ निरु गिरी थापाले राष्ट्रपति विद्यादेवि भण्डारीले महिलाको हकहितका निम्ति सिन्को समेत भाँच्ने काम नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेको आरोप लगाइन् ।
विरोधसभामा सांसद मीना सुब्बा, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस धरान उपमहानगरका सभापति समेत रहेका उपमहानगर प्रमुख तिलक, कांग्रेस जिल्ला सचिव सुजेन्द्र गोले तामाङ लगायत भातृसंगठनका नेताहरुको उपस्थिति रहेको थियो । विरोधसभा कार्यक्रम नेपाली नेपाली कांग्रेस धरानका सचिव श्याम पोख्रेलले सञ्चालन गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप