
धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने कुरामा विश्वास नलागेको बताउनुभएको छ ।
बिहीबार पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृतिसभामा बोल्दै देउवाले प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री ओलीले चुनाव नगराउने बताउनुभएको हो ।
ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ । सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर भन्ने दबाव कांग्रेसले नदिने उहाको प्रष्टोक्ति थियो ।
अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उनको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन् ।’ देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने रअदालतको निर्णयको पर्खाइमा रहेको बताए ।