धरानमा नेकपाको दुवै समूहको कार्यक्रम

चुम्लुङ भवनमा प्रम ओली समूहको युवाको भेला, भानुचोकमा प्रचण्ड-माधव समूहका विद्यार्थीद्वारा कार्टुन देखाएर विरोध, प्रचण्ड-माधवले मात्रै चुनाव चाहेका छैनन्ः महेश बस्नेत (१७ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २९

धरानः धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहको फरक-फरक कार्यक्रम भएका छन् ।
धरानस्थित चुम्लुङ भवनमा प्रम केपी ओली समूहको राष्ट्रिय युवा संघ नेपाल सुनसरीको आयोजनामा बृहत भेला कार्यक्रम थियो भने धरानको भानुचोकमा प्रचण्ड-माधव समूहका अनेरास्ववियु सुनसरीले विरोध कार्यक्रम, प्ले कार्ड र कार्टुन प्रदर्शन कार्यक्रम आयोजना गरेको छ ।
धरानस्थित पार्टी कार्यालयबाट निस्किएको अनेरास्ववियुको रयाली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बुद्रोस लिम्बू, मोनालिषा श्रेष्ठलगायतले बोलेका थिए । उनीहरुले असंवैधानिक कदम खारेज गर, अवरुद्ध संसद सुचारु गरलगायतका नारा पनि लगाएका थिए ।
उता प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघ नेपाल सुनसरीले भेलाको आयोजना गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता महेश बस्नेत दर्जन बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो । धरानका विभिन्न वडाबाट आएका युवाहरु धरान–१२ स्थित पब्लिक स्कुलमा भेला भएर रयालीसहित छाताचोक, भानुचोक, पानबारी बस स्टेण्ड हुँदै चुम्लुङ भवनमा पुगेको थियो ।
भेलामा सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड र माधवकुमार नेपालले मात्रै निर्वाचनमा जान नचाहेको बताएका छन् । ‘सर्वोच्च अदालतबाट सही फैसला भएर बैशाख १७ र २७ मा निवाचन भएरै छाड्छ, प्रचण्ड र माधव मात्रै निर्वाचनमा जान चाहेका छैनन्’, उनले भने । उनले हुने दाबी गरे । उनले निर्वाचन आयोगबाट पनि ओली नेतृत्वको नेकपाले नै चुनाव चिह्न सूर्य पाउने बताए । उनले प्रधानमन्त्री ओलीलाई राजनेताको संज्ञा दिँदै ओलीको साथ छोड्दा प्रचण्ड र नेपाल सडकमा पुगेको बताए ।
प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संसद विघटनको घटनालाई असंवैधानिक र तानाशाही कदम भन्दै विरोध गरेकोप्रति विमति जनाए । ‘प्रम ओलीले संसद विघटन गरेर ताजा जनादेशको लागि जनतामा जाने निर्णय संवैधानिक हो, विरोध गर्नुको कुनै तुक छैन’, उनले भने ।
उनले संविधानको धारा ८५ ले समयअघि प्रतिनिधि सभाको विघटन भएबाहेक ५ वर्षको अवधि हुने भन्ने वाक्यांश भएको उल्लेख गर्दै जनतामा जाने प्रधानमन्त्रीको निर्णय सही कदम र संवैधानिक भएको बताए ।
केन्द्रीय सदस्य भगवती चौधरीले संसद विघटन ताजा जनादेशकै लागि भएको बताइन् । ‘अविश्वासको प्रस्ताव ल्याउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने योजना बुनेपछि यो कदम चालिएको हो, यो ताजा जनादेशमा जाने निर्णय पनि हो ।’ उनले अगाडि भनिन् ।
कार्यक्रममा केन्द्रीय सदस्य मोतिराज सुनुवार, जिल्ला सदस्य एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, युवा संघका केन्द्रीय सचिव क्षितिज थेवे, अनेरास्ववियुका नेता रस्मी आचार्य, युवा नेता वचन सिंहलगायतले पनि बोलेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप