धरान तरुलमय

तरुल, भुजा र तिलको लडडु किन्न सर्वसाधारणलाई हतारो, व्यापारीलाई चटारो


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २९

धरानः ‘आजचाहिँ संक्रान्ति लागेको भान भयो’, धरान–१७ की सूर्यकला राईले भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भनिन्, ‘‘कति भीड हौ ।’ गौतमपथमा तरुल किन्नेको भीड छ । भोलि माघे संक्रान्तिको तरुल लगायत अन्य सामग्री किन्ने भीड बढेको हो ।
अहिले धरानस्थित चिनियाँचोक, धरान–९ स्थित सब्जीमण्ड, छाताचोकलगायतका स्थानमा तरुल व्यापारको चटारो छ । त्यहाँ विभिन्न थरीका तरुल किन्नेको भीड लागेको छ ।
बजारमा तिलको लडडु, भुजाको लडडु, सख्खर, भुजा, चिउरा जस्ता खाद्य वस्तुको व्यापार ह्वातै बढेको व्यवसायी शुक्र लिम्बूले बताए । स्थानीय भाषामा (तिला सकराईत) अर्थात् माघ सक्रान्ती पर्वमा यी परिकारका बिक्री वितरण अत्याधिक हुने गरेकाले बजारमा भीड लागेको उनको भनाइ छ ।
पूर्वी पहाडी जिल्लाबाट धरान भित्रिएका तरुलसँगै बजारमा वन तरुल, घर तरुल, सखरखण्ड, स्कुसको जरा, सिमल तरुल, पिँडालु बेच्न व्यापारीलाई भ्याइनभ्याइ छ । घर तरुल सस्तो र सुलभ नै रहेको व्यवसायी बताउँछन् । निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेको व्यवसायी काजी गिरी बताउँछन् ।
धरानमा मुख्य गरी पहाडी क्षेत्रका तरुल भित्रिने गरेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर लगायतबाट पनि तरुल भित्रिने गरेको छ ।
शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ । थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मगर, नेवार तथा ब्राह्मण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ । यस अवसरमा घर घरमा तिलको लडडु, चाकू, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ ।
सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र यस दिनबाट दिन लम्बिँदै तथा रात छोट्टिँदै जाने भन्दै ब्राहमण समुदायले ‘मकर संक्रान्ति’को रुपमा मनाउने चलन रहिआएको छ । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यसदिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्वद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवद्र्धक र बहुपयोगी कन्दमूल हो ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप