प्रदेश १ मा अन्तर्राष्ट्रिय विमानस्थल बने ३ सय घरपरिवार विस्थापित हुने, संघर्ष समिति गठन


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २९

विराटनगरः विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ विगाहा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि सोमबार १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको विमानस्थलको चारैतिर विस्तार हुँदा वडा नम्बर ४ निवासी करिब ३ सय घर परिवार विस्थापित हुनेछन् । हालै विमानस्थलले विस्तारित विमानस्थलको बाउण्ड्री सर्भे सम्पन्न गरेको छ ।
विस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउनका लागि वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थलपीडित संघर्ष समिति गठन गरिएको छ । जसमा विनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्कीलगायत १५ सदस्यीय संघर्ष समिति गठन भएको हो ।
संघर्ष समितिका संयोजक वेदराजले विमानस्थलको वरिपरि घर निर्माण गरेर वर्षाैदेखि बसोबास गर्दै आएका सर्वसाधरणले घरबारविहीन बन्नुपूर्व नै राज्यले उचित क्षतिपूर्ति दिइनुपर्ने र उनीहरु अहिले बसोबास गरेजतिकै स्थानमा जमिन किनेर घर बनाएर बस्न सकुन् भन्ने उद्देश्यले क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नुपरेको बताए ।
विमानस्थल क्षेत्रीय र अन्तराष्ट्रियस्तरकै बन्नुपर्छ भन्ने आफूहरुको पहल हुने र विमानस्थल विस्तारमा कुनै अवरोध गर्ने नभई संघर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत व्यावहारिक हुनुपर्ने विषयमा पहल गर्ने पौडेलले बताए । विमानस्थल कहिलेसम्म मुआब्जा दिएर घर जमिन खाली गर्नुपर्ने हो त्यसको मिति स्पष्ट गर्नु पर्ने, क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नुपर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्नेलगायतका विषयमा पहल गर्ने उनले प्रष्ट्याए ।
पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलो भन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुने गरी ब्यवस्था गरिनुपर्ने माग गरे । क्षेत्रीय र पछि अन्तराष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने लक्ष्य रहेको विमानस्थलको चारैतिर यो पटक १२६ दशमलव ४६ विगाहा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भइसकेको छ ।
विमानस्थल क्षेत्रीय स्तरको हुँदा मोरङ जिल्लाको विराटनगर महानगर पालिका वडा नम्बर ४ र सुनसरीको बर्जु गाउँपालिकासम्म विस्तार हुनेछ । क्षेत्रीयस्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एकमात्र विमानस्थल बन्ने छ ।
यसअघि कार्तिक २७ गते विमानस्थल विस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाई दुई हजार ५०० सय मिटर लामो हुने छ । हालको धावनमार्ग एक हजार ५०० मिटरको छ । साविक विमानस्थललाई विस्तारका लागि पूर्वतर्फ ७.८३ बिगाहा, पश्चिमतर्फ ६९.१४ बिगाहा, उत्तरतर्फ ३५.८१ बिगाहा र दक्षिणतर्फ ८.८७ बिगाहा तथा सडकका लागि ३.७० बिगाहा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ । त्यहीअनरुप अहिले बाउण्ड्री सर्भे गर्ने काम सकिएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप