धरानमा कांग्रेसद्वारा विरोध प्रदर्शन

वैशाखमा चुनाव हुँदैनः सुब्बा


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २५

धरानः संसद विघटनविरुद्ध धरानमा कांग्रेसले विरोधसभा आयोजना गरेको छ । यो कांग्रेसको दोस्रोपटकको विरोधसभा हो ।
कांग्रेसको सुनसरी क्षेत्र नं. १ (क) को आयोजनामा विरोधसभा आयोजना भएको हो । धरान–१२ स्थित अमान बजारबाट निस्किएको विरोध रयाली छाताचोक, पुरानो बजार, माछाभौडी, देशीलाइन हुँदै भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेता कार्यकर्ताहरुले कालो फेटा बाँधेका थिए ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य एवं सांसद् मीना सुब्बाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक कदम चालेको बताइन् । ‘साँच्चै भन्ने हो भने प्रम ओलीले असंवैधानिक, अलोकतान्त्रिक कदम चालेकै हुन्’, उनले थपिन्, ‘यसले संविधानमाथि कुठाराघात भएको छ ।’
उनले वैशाखमा चुनाव पनि नहुने बताइन् । ‘यो चुनाव पनि हुनै सक्दैन’, उनले भनिन् । उनले जनताको पक्षमा नेपाली कांग्रेस सदैव खडा हुने बताइन् । कम्युनिष्ट सरकार भ्रष्टाचार, शक्ति र आफन्तवादमा लिप्त भएको उनको आरोप थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा महासमिति सदस्य चन्द्रप्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्माले ओलीले घरझगडाको विषयलाई नै लिएर संविधानमाथि कुठाराघात गरेको बताए । ‘आफ्नै घरझगडा भएको हो’, उनले भने, ‘घरझगडा हुँदा नै यसरी संविधान र गणतन्त्रमाथि नै कुठाराघात र जनभावनामाथि खेलवाड गर्नु निन्दनीय छ ।’ उनले भने । उनले २०६२, ०६३ मा यसरी नै आन्दोलन गरेर राजा ज्ञानेन्द्र शाहलाई धपाएको, २००७ सालमा राणा शासन र ०४६ सालमा पञ्चायत फाल्न सफल बनेको कांग्रेसले अब कम्युनिष्टले गरेको कुठाघातलाई ब्युँत्याउन लागिपरेको बताए ।
सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठले जनताले पाँच वर्षका लागि नेकपालाई सरकार चलाउन दिएको बताउँदै त्यो जनमतको अपहेलना भएको बताए । नेकपा सरकारले जनताको पक्षमा काम नगरेको उनको भनाइ थियो । सुनसरी सचिव सुजेन्द्र गोले तामाङले सिंगो नेकपाका नेताहरु दोषी रहेको बताउँदै चुनावमा हारेका मान्छेहरुलाई जवरजस्ती राष्ट्रियसभाको सदस्यमा नियुक्ति गरेको आरोप लगाए । उनले कम्युनिष्ट सरकारले अदृश्य शक्तिको आडमा मुलुकलाई यो अवस्थामा पुरयाएको दावी गरे ।
विरोसभामा नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति किशोर राई, नेपाली कांग्रेस केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडा, नेपाली कांग्रेस धरानका नगर उपसभापति राजेन्द्र राईलगायतले पनि बोलेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप