बेलायतमा हामीले पनि कोरोना जित्यौं

यसरी पायौं पुनर्जीवन !


  • :: भीम राई ::
  • २०७७ पुष २३

‘यदि ज्ञान बाँड्न सकिँदैन भने त्यो महत्वहीन हुन्छन्’
खिया परिसकेका दिमागदेखि कोट्याएर निकाल्दै भौतिकशास्त्री मिचीको काकुको उक्त भनाइलाई एकचोटी पुनरावृत गर्ने प्रयत्न गरें किनभने,उनको त्यो भनाइले मलाई जिन्दगीमा कुनै कुनैबेला मज्जासँग घचघच्याइ रहेका हुन्थे । मानिसले आफ्नो जीवन कालमा जे जे अध्ययन एवम् अनुभव गरेका हुन्छन् ती सबै बाँड्न सकियो भने समाजले राम्रो फाइदा लिन सक्छ होला भन्ने कुरा मेरो मस्तिष्कमा सदैव नाचिरहेका हुन्थे । त्यसैको खातिर मैले भर्खर भर्खरै लिएको बेलायती कोरोना अनुभव अक्षररुपी भाषामा परिणत गर्ने यहाँ जमर्को गरिरहेको छु ।
हुन त यस धर्तीमा कोरोनाको आगमन सँगसँगै मैले जीवनरुपी भरयाङको ५५ खुट्किलाहरु पार गरिसकेको भएतापनि अझै वास्तविक जिन्दगीको परिभाषा खोजिरहेको थिएँ । तर कुनै कुनैबेला यस्तो लाग्दथ्यो, जन्मदेखि मृत्युसम्मको समय मात्र ‘जीवन’ हो र बाँकी सबै परिभाषित नगरिएको एउटा कथा जस्तै हुन् ।
अ…यसरी नै जिन्दगी एउटा ९० डिग्रीको कोण झै सिधै उँभोउँभो चँढिरहेको थियो । तर, अनायसै एकदिन जिन्दगी खालिपानामा शिशाकलमले कोरिएका बक्ररेखाझै लरबरिँदै आयो । अकस्मात त्यसरी कोरिएका बक्ररेखा आर्थिक, सामाजिक र राजनैतिक धरातलभन्दा सोर्है आना फरक भएर आएको थियो । तर त्यसको असरले जीवनमा एउटा नरमाइलो छाप छाडी राखेर सँधैसँधैको लागि बिदा भएर गयो ।
१८ डिसेम्बर २०२०, कृष्णपक्षको एउटा कालोदिन थियो । कोरोना महामारीको बेला अग्रपङ्त्तिमा रहेर कर्तब्यपथमा लडाइ लडिरहेका दुःखी छोरोले शिथिल र क्लान्त शरीर लिएर त्यस बेलुकी घर आएको थियो । त्यसै त बेलायती डिसेम्बरको महिना दिउँसोको चार बजे नै रात पर्ने गर्दथ्यो । त्यसमाथि झन कालो, मैलो र धमिलो कुहिरोले छपक्कै ढाकेको उसको अनुहार घरभित्र छिर्दा सदाझै अनुहारमा दिप्त प्रकाशका ज्योति देखापर्न सकिरहेका थिएनन् ।
घरभित्र पस्ने बितिक्कै, ‘खत्तम भइयो ?’ भन्ने एउटा शकांस्पद प्रश्न हावाको गति सँगसँगै उसले छाडी पठायो । निमेषभरमा उसको त्यो प्रश्नबाचक शब्द तारा र मेरो कानकानसम्म पुगेर ठोकियो, किनभने हामी दुवैजना उसको नजिकै कुर्सीमा आराम गरेर बसिरहेका थियौं । एकान्त जङ्गलमा कोइलीको बिरहलाग्दो भाकाझैं छोराको बिरहलाग्दो भाकाले किन त्यसो भनेको होला भनेर हामी दुवैजना एकछिन चुपचाप बस्यौं र घोस्सेमुन्टो लगाएर भुइँतर्फ हेरेर घोप्टिरह्यौं ।
‘ड्याडी ! थर्ममिटर कहाँ छ ?’
उसले मधुरो स्वरमा दोस्रोचोटी मुख खोलेपछि,सायद उसलाई ज्वरो आएको हुनसक्छ भन्ने मैले आंकलन गरिहालें । प्रश्नको उत्तर दिन जरुरी ठानिनँ । त्यसैले चाँडोचाँडो घरको तलामाथि चँढेर थर्ममिटर झारेर उसलाई थपक्कै टक्रयाइदिएँ । थर्ममिटर हातमा पर्ने बितिक्कै उसले आफ्नै ज्वरो नाप्न थाल्यो ।
‘ए ! ज्वरो त सय डिग्री भन्दा उकाली चढिसकेको रहेछ,’ उसले सानो स्वरमा बरबराएको मैले नजिकबाट सुनिरहें । त्यसपछि, उसको साथैमा बोकी हिँडेको झोलादेखि ल्यापटप निकालेर माउ पोथी कुखुराले मकैको दानो टकटक टिपेझै औलाले घोच्न थाल्यो । उसको साथमा अर्को एउटा सानो झोला पनि थियो । र, त्यसझोलाभित्र उसले बोकिहिँडेको,‘ल्याटेरल फ्लो टेस्ट’ (एलएफटी) निकालेर आफ्नै सिगान जाँच्न थाल्यो ।
केही समयपछि एलएफटीको अनुहारमा दुईवटा काला धर्साहरु देखापरे । तिनै धर्सामा परिणत भएको नतिजालाई देखाउँदै कोरोना पोजिटिभ भएको दुःखद् समाचार हामीलाई सुस्तरी सुनायो । उसको भनाइलाई मैले थोरै बिरमाइलो मान्दै सुनिरहे र मनले नमान्दै नमान्दै एलएफटीलाई एकचोटी नजर लगाएर हेरें ।
हामी त्यसबेला भान्सा कोठामा थियौं, र ताराले उसको लागि खाना तयार गर्दै थिइन् । छोराको दुःखद् समाचार सुन्ने बितिक्कै उनी थोरै झस्किइन् र हामी तिर फर्किइन् । तर, उनीहरु दुवैजना भन्दा म नै अलिक वृद्ध अवस्थामा पुगेको थिएँ, त्यसैले भित्रभित्रै डराएरकछुवा झै एकपोका परिरहेको थिएँ ।
‘मम्मी ! तपाई पनि खोक्दै हुनुहुन्छ ? खै तपाईको पनि नाक जाँच गरौं ?’
सानो स्वरमा छोरोले अर्कोचोटि मुख खोल्यो । अब एलएफटीले नतिजा के देखाउने होला भनेर मलाई पीरको बोझ थपिँदै गयो । ताराको जस्तो नतिजा आउछ, मेरो पनि त्यही हो भन्ने मैले भित्रभित्र अन्दाज लगाइसकेको थिएँ । त्यसैले, ‘उनी हिउँदे खोकीले मात्र ग्रसित छिन्, अन्य केहि भएको छैन, जाँच नगरेपनि हुन्छ,’ भनेर थोरै सान्त्वना दिन खोजें ।
तर, मेरो भनाइलाई ताराले एउटा सिङ्गो चामल त के कनिका झै पनि मानिनन् । त्यसपछि उनी पनि जाँचको लागि तयार भइन् । छोराले ताराको नाकमा सिन्काले घोच्न थाले । मैले बिरमाइलो मान्दै उसको कार्यगति नियालिरहें, किनभने उनको त्यो परीक्षा नै मेरो आफ्नै परिक्षा झै मलाई लागिरहेको थियो ।
आधा घण्टाको हैरानीपछि एलएफटीले तारालाई पनि पोजिटिभ भएको परिणाम देखाइ दियो । हाम्रो एकजना छोरी पनि थिइन् र उनी हामी भन्दा केही टाढा अर्को सहरमा बस्थिन् । छोरीले घर छाडेपछि गत महिनादेखि छोरा हामीसँग बस्न आएको थियो । त्यसैले हामी तीनजना एउटा घरमा बस्दै आएको थियौं । ताराको नतिजा आएपछि, ‘मैले बुँझे, अब मलाई जाँच गरिरहन जरुरी छैन,’ भने ।
भन्न त मेरो जाँच गर्न पर्दैन भने,त्यसपछि मेरो मन थोरै बेचैन हुन थाल्यो । ‘अब कुन समयमा के हुने होला ?’ भन्ने प्रश्नवाचक चिन्ह खडा भएर मेरा सामु ठिङ्ग उँभिरह्यो । त्यसैले केही बोलिनँ, तर थोरै आतंकित र भयभित मुद्रामा सुत्नको लागि आफ्नो कोठातर्फ लागें । तारा कुनबेला आएर मसँग सुतिन केही चाल पाउन सकिनँ । जब मध्यरात ढल्कियो, तब म ब्युँझदा हनहनी ज्वरोसँग ब्युँझिरहेको थिएँ । मैले ओढेको सिरक पसिनाले लुथुक्रै भिजेको अनुभव गरे । त्यसपछि हरेक पटक ब्युझँदा खोक्न थालिसकेको थिए र समय समयमा नाक बन्द हुन सुरु गरेको थियो ।
त्यसरात मानसिकरुपले म मरे तापनि भोलि बिहान सबेरै उठेर तातोपानी पिएँ । त्यसपछि कम्प्युटर भएको कोठामा गएर पिसिआर जाँच गर्ने ठाउँ पत्ता लगाउन थालें । बेलायती सरकारको बेवसाइटमा गएर ‘कोभिड १९’ जाँच गर्ने स्थानीय स्थान पत्ता लगाए । अनि तीनैजनाको परीक्षणको लागि ११ बजेको समय मिलाए ।
त्यसदिनको मौसम ज्यादै नराम्रो थियो । कालोमैलो बादलले बानबुरी गाउँ ढुस्स मात्र भएका थिएनन्, सारा आकाश रोइरहेको थियो । तिनै रोइरहेको आकाश र रोइरहेको मेरो दिललाई एक्लै कोठामा बसेर निक्कै लामो समयसम्म तुलना गरिरहें ।
यसवर्षको क्रिसमस चाड घरको मुख्य ढोका अगाडि आइपुगेका थियो । हरेक वर्षको क्रिसमसको दिन बिजुली चुल्हामा ताराले एउटा भिमकाया टर्कीको ह्याकुल्ला पकाउने गर्दथिन् । तिनै ह्याकुल्लालाई चिथोर्न र क्रिसमसको दुईहप्ता छुट्टी मनाउन घर आउन खुशी भइरहेको छोरीलाई घरभरी कोभिड छ त्यसैले घर नआउनु है भन्नको लागि मेरा शब्दहरु कुन शब्द सागरबाट कसरी निकाल्ने होला भनेर पिरको भुँमरीमा रुमलिन थालें । मेरो जाबो मन पनि उदेककै थियो । कुर्सीमा बसेर कम्युटर हेरिरहेको थिएँ, किनकिन दुःखी छोरीको यादमा भुइँमा थचक्कै बसेर धेरै लामो समयसम्म क्वाँ क्वाँ रुन मन लागिरह्यो ।
त्यसदिनदेखी घडीको काँटा धिलो घुम्न थालेका थिएँ । हरेक सेकेण्ड, मिनेट र घण्टा हुँदै बल्लबल्ल घडिले एघार बजाएका थिएँ । तारा केहीबेर अगाडि उठेकी थिइन्, तर छोरा त्यसबेलासम्म उठन सकिरहेको थिएन । थरथरी काम्दै निक्कै मुश्किलले छोरो उठ्यो र एकचोटी आङ तन्कायो । ऊ उठने बितिक्कै हामी ‘उडग्रिन मनोरन्जन क्रेन्द्र’ बानबुरीमा पुगेर पिसिआरको परीक्षण गरयौ । स्थानीय सरकारले उडविन मनोरन्जन केन्द्रलाई अल्पकालीन ‘कोभिड केन्द्रमा’ परिणत गरेको थियो ।
पिसिआरको परीक्षणपछि घर फर्किरहेका थियौं । तर, ज्वरो र सुख्खा खोकीले हामी सबैजना ग्रसित भएर थकित मुद्रामा थियौं । हामी कसैलाई बोल्ने जाँगर चलिरहेको थिएन । मैले कार हाँकिरहेको थिएँ र आफ्नै धुनमा बिबिसी रेडियो एकोहोरो बजिरहेको थियो । रेडियोदेखि ठीक १२ बजे आफै समाचार भट्टिन थाल्यो । बेलायतमा कोभिड १९ लेहरेक दिन आठ नौ सय जनाको हाराहारीमा मानिसहरुले जीवन गुमाईरहेका छन् भन्ने समाचार फियोना ब्रसले दुःखित हुँदै पढेको सुन्दा तारा झसँग भइन् र उनको कागखुट्टीलाई थोरै तन्काइन् ।
उनले त्यसबेला खुट्टी मात्रै तन्काएकी थिइनन्, ‘अब के हुन्छ ?’ भनेर मतर्फ इङ्गीत गर्दै छोटो प्रश्न गरिन् । मैले प्रत्युत्तरमा, ‘जे नहुनु थियो, त्यो भइहाल्यो । आखिर कोही मानिस अजम्बरी हुँदैनन् र मर्न कसैलाई रहर छैन । अहिले मृत सञ्जीवनीको बुट्टीले पनि कसैलाई काम गर्नेवाला छैन । तिम्रो जीवनको अन्तिम इच्छा के के छन् भनिराख्नु हामीमध्ये जो बाँच्न सक्छौ उसले हाम्रा अभिष्ट इच्छाहरु पूरा गर्ने प्रयत्न गरौं । तर, त्यसो भनिरहँदा कुनैपनि मूल्यमा ३० वर्षे छोरोको मृत्यु चाहिँ हेर्न म सक्दिनँ होला ?’ सुस्तरी उनलाई भनें ।
मैले त्यसरी छाड्दै गरेका शब्दहरुबाट निर्माण हुने वाक्यांश पूरा हुन नपाउँदै ताराका नयनहरु नराम्रोसँग रसाएको मैले दुर दृष्टिदेखि नजर लगाइरहें । गह भरिएका उनको आँशुले स्वस्थान छाडेर मुल फुटेपछि मलाई हल्का नरमाइलो लागेर आयो । हामी बानबुरी गाउँको एउटा सानो बाटोमा थियौं र मैले विस्तारै कार हाँकिरहेको थिएँ । त्यसै त छोरा आवश्यकताभन्दा पनि अझ थोरै बोल्दथे, झन बिमार भएपछि उसको मुखदेखि एउटै शब्द फुत्किन सकेका थिएनन् ।
‘हेर ! गतवर्ष मात्र छोरोले बिहे गरेको भए सायद यो वर्षसम्ममा एउटा नाति जन्मन सक्थ्यो होला ?’
आँशुसँग मिश्रित भाषामा ताराले सानो स्वरमा बोलिन् । उनको भनाइ सुनेपछि कस्को इहलिला कुनबेला समाप्त हुने र कुन शब्द अन्तिम हुने होला भनेर मभित्र भित्रै पीरमा थिएँ, त्यसैले उनको भनाईलाइ मैले केहि वास्ता गर्न सकिनँ ।
केही समयपछि घरमा पुग्यौं । घरभित्र छिर्ने बितिक्कै छोरो उसको कोठामा पसिहाल्यो । म पनि कतिबेला घर पुगेर आराम गरौ भइरहेको थिएँ त्यसैले केही नबोली सुत्न हिँडिहालें ।
दुईघण्टा जति आराम गरेर म पुनः उठे र विस्तारै हिँड्दै भान्सा कोठामा पुगे । किनभने तारा भान्सा कोठामा आराम गरिरहेकी थिइन् । हामी चारकोठे घरमा बस्दै आएको थियौं र हाम्रो घरमा चारैवटा शौचालयहरुको सुविधा पनि थियो । म ताराको सामुन्ने पुगेपछि अबदेखि को को कहाँकहाँ सुत्ने र कसले कुन शौचालय प्रयोग गर्ने भनेर भाग लगाउन थाले । तर ताराले, ‘आ… ठीकै छ, सँगै जिउने सँगै मर्ने,’ भनेपछि मेरो योजना भताभुङ्ग त भयो । उनको भनाइ सुनेर नेपालमा सतिप्रथा त उन्मुलन भइसकेको थियो । तैपनि हजुर महाराणीको देशमा छिट्टफुट्ट बाँकी रहेछ भन्ने मलाई लागिरह्यो ।
घर नजिकै रहेको हार्डविक हिलको क्षितिजदेखि हरेक दिन एउटा कष्टकर बिहानी झुल्कन्थे र पीरको भारी सँगसँगै रातमा परिणत हुन्थे । ४८ घण्टा समय बितेपछि पिसिआरमा सबैको नतिजा पोजिटिभ भएको विधुतीय पत्रबाट जानकारी भयो । र, आगामी दश दिनसम्म घरदेखि बाहिरनिस्कन निषेध गरिएको छ भन्ने खबर पनि तिनै राष्ट्रिय स्वस्थ सेवा विभागदेखि चाल पायौं । तर के गर्ने ? दुर्भाग्यवस त्यसबेलासम्म मैले मेरो जिब्रोलाई बिदा गरिसकेका थिएँ । केही खान मन लाग्दैन थियो र कुनैपनि कुरोको स्वाद पाउन छाडिसकेको थिएँ ।
हामी शान्त वातावरण रोज्ने भएर सहरदेखि केही टाढा एउटा गाउँमा बस्दै आएका थियौं । हाम्रो घरदेखि सबैभन्दा नजिकको अर्को नेपालीको घर कारदेखि लगभग ४० मिनेट जति लाग्दथ्यो । तैपनि बेलायतमा ब्यस्त जिन्दगी ब्यतित गर्न पर्ने भएकोले प्रायः भेटघाट शुन्य रहन्थ्यो । अझ कोभिड सुरु भएपछि घरदेखि बाहिर निस्कन लगभग छाडिसकेका थियौं । जसले गर्दा बेलायतमा अर्को नेपालीसँग भेट नभएको लगभग एक वर्ष भइसकेका थिएँ । त्यसैले हरेक दिन घर पछाडिको बगैंचामा खङरङ्गै पात झरेर अर्धमृत अवस्थामा रहेका स्याउ, चेरी र आलुबखडाका विरुवाहरु हेरेर मन भुलाउने प्रयत्न गरिरहेका हुन्थे ।
तारा र मलाई तीन दिनपछि ज्वरोले चट्टै छाड्यो । तर छोरालाई क्रमशः चार दिनसम्म सताइरह्यो । ज्वरोसँग जुध्नको लागि छोराले नै सबैभन्दा बढी सिटामोल खाए । हामीदेखि ज्वरोले त विश्राम लियो तर मेरो नाकले हैरानी खेप्न थालिसकेका थिएँ । त्यस समयदेखि मैले सबै प्रकारको सुगन्ध वा दुर्गन्ध लिन छाडिसकेको थिएँ । गन्धले जिन्दगीमा त्यति धेरै असर नपारेपनि समय समयमा चल्ने खोकीले आन्द्राभूँडी नै उछिट्याउला जस्तो गर्दा अहिले मरौ कि क्या हो भन्ने अनुभुत भइरहन्थ्यो ।
घर बाहिर जान निषेध थियो, तैपनि छडके जाँच गर्नको लागि राष्ट्रिय स्वास्थ सेवादेखि समय समयमा फोन आइरहन्थ्यो । हरेकदिन नयाँ दिन आउथ्यो तर नयाँ हर्ष, उमङ्ग र खुशी उदाउँदैन थिएँ । प्रत्येक दिन जसो घरबाहिर झरी परिरहेका हुन्थे र झरी नपरेको दिन आकाशदेखि हिउँको भुवाहरु झर्थे, तर हिउँ जमिनमा अडिन नपाउँदै सकिएर जान्थे । तिनै जमिनमा अडिन नसकेका हिउँसँग अस्ताउन लागेको हाम्रो जिन्दगीको नरमाइलो तुलना गरिरहन्थे ।
त्यस्तो पीर, भय र त्रासले सन्नाटा छाएको अमिलो दिनहरु धेरै लामालामा हुने गर्दथे । हरेक मिनेट र घण्टाक्लान्त र शिथिल शरीरसँग पेंठैजोरी खेलिरहेका हुन्थे । अनि आलश्य, थकान र हैरानिसँग समय गुज्रिरहने गर्दथे । अझ कुटुकुटु खाइरहेको हृदयमा कुनबेला कसको श्वासप्रश्वासमा समस्या आउने होला भनेर भयभित मुद्रामा पीडादायी जीवन ब्यतित गरिरहेको थियौं ।
अलिक सन्चो भएपछि ताराले मिठा मिठा भोजन बनाउने प्रयत्न गरिन् तर हामी कसैलाई केही खान मन लागिरहेको थिएन । किनभने हामी सबैले खानाका स्वाद गुमाइसकेका थियौं । बडो कष्टप्रदको १० दिन बितेपछि जिन्दगीमा थोरै खुशीका लहरहरु देखापर्न थालेका थिएँ ।
‘यतिन्जेल सम्म बाँचियो, अब त के मरिन्थ्यो ?’
अर्धमृत अवस्थामा जिइरहेकी ताराले त्यसरी एकाबिहानै मुख खोल्दा मलाई थोरै भएपनि राहत मिलेको थियो ।
समयले नेटो काटिरहेको थियो । कोभिड संक्रमणले दुईहप्ता पार गरेपछि पुनः कोभिड केन्द्र पुगेर दोश्रोचोटी स्वाब परीक्षण गरायौं । चिन्तित ७२ घण्टाको प्रतिक्षापछि नेगेटिभ नतिजा हात पारेर हामी ढुक्क भएका थियौं । निश्चय नै हामीले कोरोनापछि पुनर्जीवन पाउन सकेकोमा केही हदसम्म खुशी त भएका छौं, तर महामारीले धर्तीका सबै मानिसहरु भाग्यमानी हुन नसकेकोमा धेरै धेरै दुःखी भएका छौं ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप