‘प्रमले नचाहँदा नचाहँदै संसद विघटन’


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २२

सुनसरीः सरकारलाई विभिन्न तवरले घेराबन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्रीले नचाहँदा नचाहँदै संसद विघटन गर्नुपरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताएकी छन् ।
सुनसरी क्षेत्र नं. ३ को इटहरी उपमहानगरपालिका वडा नं. १०, ११, १२ र १३ का अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ चौधरीले राष्ट्रियताका पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडान, समृद्ध मुलुक सुखी नेपालीको नाराकै कारण मुलुकलाई परिवर्तनको दिशातर्फ अगाडि बढाउन नचाहने तत्वले नेकपालाई फुटको दिशातर्फ उन्मुख बनाइएको उनले बताइन् ।
‘सरकारले जनताका पक्षमा राष्ट्रियताका पक्षमा काम गर्दागर्दै आफ्नै पार्टीभित्र शीर्ष नेताहरुले देशी विदेशी शक्तिहरुको इशारामा लागेर सरकार ढाल्ने सड्यन्त्र गरे । प्रमुख प्रतिपक्षले समेत सरकारलाई काम गर्न दिनुपर्छ भनेर संयमता अपनाउँदा आफ्नै पार्टीभित्रका नेताहरुले सरकारलाई असफल पार्ने काम गरे,’ चौधरीले अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै भनिन् ।
ओली सरकारलाई सुरुदेखि नै काम गर्न नदिने रणनीति अपनाइएको चौधरीको बुझाई छ । ‘मंसिरमा चुनाब भयो, फागुनमा सरकार गठन गर्दा नै प्रचण्ड पक्षहरुले सरकारमा जाने–नजाने बखेडा निकालेका थिए ।’
उनले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संबैधानिक भएको बताउँदै महिला राष्ट्रपति भएकै कारण सडकमा उछितो काढिएको जिकिर गरिन् । ‘हाम्रो संविधानले कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेकोले मन्त्रिपरिषद्ले गरेको निर्णयलाई राष्ट्रपतिले रोक्ने कुनै अधिकार छैन । उहाँले त्यहि अधिकार प्रयोग गर्दा आज सडकमा सुन्न नसकिने नाराहरु लागि रहेका छन् ।’ चौधरीले भनिन्, ‘संविधानले सबैलाई आफ्ना कुरा राख्ने छुट दिएको छ भन्दैमा मुलुककै सर्वोच्च पदमा रहेकालाई समाजमा पच्नै नसक्ने प्रकारका शब्द प्रहार गर्नु कत्तिको उचित हो ?’
अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय सदस्य तैयव हुसैन अर्का केन्द्रीय सदस्य तथा १ नं. प्रदेश कानुन तथा प्रशासनमन्त्री हिक्मत कार्की, प्रदेश कमिटी अध्यक्ष रोहित कार्की लगायतले बर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको अवस्थाका बारेमा नेता तथा कार्यकर्ताहरुलाई अवगत गराएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप