धरानमा खहरेका घातक फोहोरले स्वास्थ्य जोखिममा

धरान दिवसमा उपमेयरसहितको टोलीले टिप्यो उपमहानगरपालिका छेऊछाउका फोहोर


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष २०

धरानः धरान उपमहानगरपालिकामा रहेका खहरे खोलामा हिउँद लागेपछि फोहोर थुप्रिएर डङ्गुर भएर बस्ने गरेको छ । जब वर्षा शुरु हुन्छ, त्यतिबेला मात्रै वर्षाले बगाएर लाने गर्दछ । त्यसअघिसम्म धरानका अधिकांश खहरे फोहोर नै रहने गर्दछ । यो विडम्वना हो ।
त्योअघि न कुनै संघसंस्था, न उपमहानगरपालिका, न स्थानीयबासीले नै यसतर्फ चासो दिएका छन् । यसैबीच सोमबार धरान दिवस परेको छ । सार्वजनिक विदा पनि भयो । यसै अवसर पारेर धरान उपमहानगरपालिकाले सरसफाइ अभियान २०७७ आयोजना गरेको छ । यो अभियानले स्थानीयबासीमा केही सचेतना भने फैलिएको छ ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा वातावरण अधिकृत भेषराज घिमिरे, वातावरण निरीक्षक राजु चौहान, धरान उपमहानगरपालिकाका कर्मचारी, प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले धरान उपमहानगरापलिका छेऊछाउ रहेका खहरेको फोहोर उठाएको छ ।
यस अभियानमा धरानको सेवक अभियानले साथ दिएको थियो । संयोजक राजीव हलवाइको नेतृत्वमा केही टोली पनि खटेको थियो । ‘यो अभियानले स्थानीयबासीमा खहरेमा फोहोर, प्लाष्टिक, सडेगलेका वस्तु फाल्नु हुने रहेनछ भनेर सचेतना भएको हामीले महसुस गरेका छौं’, सेवक अभियानका संयोजक हलवाइले भने ।
धरान उपमहानगरपालिकाकी उपमेयर भण्डारीले खहरे खोलामा स्थानीयले फोहोर फाल्दा सबैको स्वास्थ्य जोखिम रहने भन्दै सचेत रहन आग्रह गरिन् । ‘फोहोर फाल्नु हुँदै हुँदैन,’ उनले थपिन्, ‘यसले धरानबासीको स्वास्थ्यमा जोखिम निम्त्याउँछ ।’ खहरेमा फोहोर फाल्न मनाही गरिएपनि रातको समयमा फोहोर फाल्ने गरिएको स्थानीयबासी नै बताउँछन् ।
धरान उपमहानगरपालिकाका वातावरण अधिकृत घिमिरेले धरानका खहरेको फोहोरले स्वास्थ्यमा जोखिम निम्त्याउने साथै वातावरणमा पनि ठूलो असर पार्ने बताए । ‘हेर्दा झिनामसिना लाग्ने यस्ता फोहोरले कति प्रकारको रोगव्याधी फैलाउँछ भन्ने ज्ञान नहुनु अर्को समस्या देखिन्छ’, उनले भने, ‘घातक फोहोर उचित व्यवस्थापन नहँुदा ज्यानमारा रोग फैलन सक्छ, यसका लागि धरान उपमहानगरपालिका साथै स्थानीय पनि जागरुक हुनु आवश्यक छ ।’ तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप