तमु ल्होसारको वैज्ञानिक र साँस्कृतिक महिमा


  • लालबहादुर तमु
  • २०७७ पुष १५

भूमिका
भौगोलिक रुपमा सानो भुपरिवेष्ठित राष्ट्र नेपाल बहुजाती, बहु भाषी, बहु धार्मिक बहुसाँस्कृतिक विविधताले सुसुजित छ । आर्य, द्रविड, मंगोलियन नश्लको संगमभूमि एवम् बहुराष्ट्रिय नेपाललाई साझा फूलबारीको रुपमा चित्रण गर्ने गरिन्छ । १२५ जातजाती १० भन्दा बढी धर्मावलम्बी, १ सय भन्दा बढी भाषा भाषी रहेको स्वर्गको उपमा पाएको राज्यमा विगत सयौ वर्ष देखि राज्यसत्ताले कसैलाई काखा र कसैलाई पाखा गरिदै आएको छ । जसले गर्दा जातीय, भाषिक, साँस्कृतिक, क्षेत्रीय, लिंगिय, वर्गीय विभेद एवम् उत्पीडनको श्रृङ्खलाको निरन्तरता यद्यपी कायम छन् । तिनै उत्पीडित आदिवासी जनजाति भित्र पर्ने तमु ९गुरुङ० समुदाय नेपालको जनगणना अनुसार ११ औं ठूलो जाती हो । मानव सभ्यताको विकासको चरणमा नेपाल राज्य निर्माण हुनुपूर्व वर्तमान कालि गण्डकी र बुढीगण्डकी विचको भूभागमा घुमन्ते शिकारी पशुपालन अवस्था पार गर्दै कृषि यूगको थालनी सँगै आफ्नो छुट्टै पृथक पहिचान झल्कने मूल्य मान्यताको विकास गरेको तमुहरुको संस्कार र संस्कृतिबाट प्रष्ट हुन्छ । पृथक साँस्कृतिक रुपमा सम्पन्न तमु समुदायले मान्ने महान् ऐतिहासिक साँस्कृतिक महिमा बोकेको ठूलो पर्व ल्होसार हो । ल्होसारको अर्थ नयाँ वर्ष हो । ल्होसारमा सबैजना एकै ठाउँमा भेला भई स्योकैं वनभोज खाएर नाचगान गरी धुमधामसँग मनाइन्छ । पछिल्लो समय तमु जातीको आफ्नो स्वतन्त्रता स्वाभिमान र अधिकारको आन्दोलनबाट ल्होसारलाई नेपाल सरकारबाट सार्वजनिक विदा दिए पछि गैर तमुहरुले पनि साझा पर्वको रुपमा ल्होसार मान्दै आएको पाउन सकिन्छ ।
ल्होसार के हो ?
नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातीहरुले ल्होसार मान्दछन् । तर ती जातिहरुले मान्ने ल्होसार पर्व फरक फरक छन् । नेपालमा तीन प्रकारको ल्होसार मनाउने गर्दछन् । पुष १५ मा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ । त्यसैगरी माघ शुक्ला प्रतिपदामा मनाइने तामाङ लगायत पश्चिमी तिब्बतीहरुले मनाउने ल्होसारलाई सोनाम ल्होसार र फाल्गुण शुक्ला प्रतिपदामा शेर्पा लगायत पूर्वी तिब्बतीले मनाउने पर्वलाई ग्याल्पो ल्होसार भनिन्छ । तमु समुदाय प्रकृतिवादी भएकोले प्रकृतिका जीव जन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीकको रुपमा लिएको पाइन्छ । प्रकृतिका १२ वटा प्रजातिहरुलाई ल्हो –वर्गको प्रतिक मानेको पाइन्छ । १२ वटा वर्गमा क्रमशः मुसा (च्यु), गाई (ल्वों), बाघ (तो), बिरालो (हिय), गिद्ध (मुप्रि), सर्प (सप्रि), घोडा, (त), भेडा (ल्हु), बाँदर (प्र), चरा (च्हय), कुकुर (खि) र मृग (फो) हुन् । जुन एक देखि १२ सम्म एक अर्कामा दाहिनेबाट निरन्तर हरेक वर्ष एउटा वर्गबाट अर्को वर्गमा घुमिरहन्छन् । एउटा चक्र पार गरेपछि पुनः दोहोरिएर घुमिरहन्छ । एशियाका प्राय आदिवासी जनजातिहरुमा ल्हो पद्धति प्रचलित छ । ल्होसार दुई शब्द मिलेर बनेको छ । ल्हो को अर्थ वर्ग जसलाई वर्ष मानिन्छ । र सारको अर्थ नयाँ भन्ने हुन्छ । तसर्थ ल्होसारको वास्तविक अर्थ नयाँ वर्ष हो । तिब्बती भाषामा ल्हो को अर्थ वर्ष र सारले नयाँ जनाउँदछ । जसले गर्दा चिनियाँ तिब्बतीहरुले ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । तमु भाषामा लो को अर्थ वर्ग र छारले नयाँ भन्ने हुँदा ल्होछार पनि भन्ने गरेको पाइन्छ । भाषा विज्ञानका दृष्टिले तिब्बती सभ्यताको मूल शब्द ल्होसार भाषिक विकास र रुपान्तरणको चरणमा तद्भव शब्दको रुपमा ल्होछार भएको मत पनि पाइन्छ । हिन्दुहरुले बडा दशैं, विजयादशमी, तिहार, दिपावली शब्द फरक फरक प्रयोग गरेता पनि त्यसको अर्थ र संस्कृति एउटै हुन् । यी सबै शब्दहरु स्थापित भएकाले पर्यायवाचीको रुपमा लिने गर्दछन् । त्यसरी नै ल्होसार र ल्होछार शब्द फरक भए पनि अर्थ र संस्कृति तथा महिमा एउटै हो । भाषा विज्ञानको नियममा भाषा हरु तल माथि भइरहन्छन् । तसर्थ यसलाई पर्यायवाची शब्दको रुपमा ग्रहण गर्न उपयुक्त हुन्छ । यी दुई शब्दलाई लम्बेतान बहस गरी भ्रम सिर्जना गर्नु र गराउने काम हामीले गर्नु हुँदैन ।
ल्होसार कसरी मनाइन्छ ?
पुष १४ गतेको मध्य रात १२ बजेपछि पुरानो ल्हो सकेर नयाँ ल्हो को आगमन हुने हुँदा राती १२ बजे नयाँ वर्षको स्वागत गरिन्छ । क्होइवोमा वोन फायर गरी नयाँ वर्षको आगमनको संकेत गर्दछन् । पौष १५ गते बिहान १ अर्कामा शुमकामना साटासाट भेटघाट, ग्रहदशा नराम्रो रहेको बर्गले खेगीबाट रुपा लगाउने दिउँसो स्योकैं खाने नाचगान गरी धुमधामसँग ल्होसार मनाइन्छ ।
गाउँघरमा ल्होसार 
गाउँघरमा युवा आमा समूह भद्रभलाद्मीको अगुवाईमा स्योकंै खाने प्रचलन छ । तिहारमा देउसी भैलो खेल्ने र प्राप्त हुने रकम र अन्नपातले पुष १५ मा स्याकैं खाने गर्दछन् । यदि देउसी भैलो खेलेको छैन भने केटीहरुले चामल, रक्सी, घ्यू उठाउने र केटाहरुले मासुको व्यवस्था गरी स्योकैं खाने गर्दछन् । गाउँघरमा तमु गैर तमु सबै समुदाय सँगै ल्होसार मनाउने प्रचलन छ । ल्होसारको अवसरमा चेलीबेटी खाना खुलाउने चलन पनि रहेको छ ।
शहरबजार र विदेशमा ल्होसार 
शहरी इलाका र विदेशमा रहेका तमु संघ संस्थाहरुले ल्होसारको अवसरमा विभिन्न कार्यक्रमहरु खेलकुद, अन्तरक्रिया, शुभकामना आदान प्रदान, ¥याली, झाँकी, साँस्कृतिक कार्यक्रम चियापान आदि आयोजना गर्ने गर्दछन् । पुष १५ मा सामूहिक रुपमा स्याकैं खाने र धुमधामले ल्होसार मनाउँछन् । आजभोली ल्होसार पर्वलाई आफ्नो पहिचान र अधिकारको मुक्ति आन्दोलनसँग पनि जोडेर कार्यक्रमहरु आयोजना गरेको पाइन्छ ।
ल्होसारको वैज्ञानिक पक्ष
पश्चिमेली खगोलशास्त्री एवम् भूगोलवेत्ताहरुको अनुसार डिसेम्बर २२ तारिखका दिन पृथ्वीमा सबैभन्दा लामो रात हुन्छ । डिसेम्बर २३ देखि दिनलामो हुने क्रम शुरु हुन्छ । तमु ल्होसार पुष १५ डिसेम्बरको अन्त्यतिर पर्ने हुँदा दिन लामो हुने संकेत यसले गर्दछ । वैज्ञानिक यो मान्यता र हाम्रा तमु पुर्खाहरुको प्राचीन मान्यता करीब नजिक मान्न सकिन्छ । त्यसैगरी भारतवर्ष अनुसार माघ १ गते मात्र सूर्य मकर राशी सूर्य उत्तरायण लाग्दछ अर्थात् रात छोटो र दिन लामो हुने क्रम प्रारम्भ हुन्छ भन्ने मान्यता छ । पुष १५ र माघ १ पनि खासै फरक छैन । अरु समुदायले नयाँ वर्ष मान्ने क्रममा कसैले आफ्नो धर्मगुरुको जन्म दिन कसैले मन पर्ने राजाको सम्झनाको दिनलाई आधार मानेको देखिन्छ । तर तमु समुदायले नयाँ वर्षको दिन प्रकृति र समयको आधारलाई मानेर गरेकोले यो सान्दर्भिक मान्न उपयुक्त हुन्छ ।
ल्होसारको साँस्कृतिक पक्ष
ल्हो (वर्ग), पार्ग हेरी कुन कुन सालमा कुन कुन वर्ग राम्रो/नराम्रो साइत घर गोठ छाउने, बनाउने विवाह छेवर अर्घौ आदि कुन वर्गमा कुन दिन गर्ने भनी हेर्ने प्रचलन तमु समुदायमा रहेको छ । प्रकृतिवादी तमुहरुले १२ वटा जीवजन्तु र पशुपंक्षीलाई साँस्कृतिक प्रतीक मान्नु स्योकैं खाई सामूहिक मनोविज्ञान झल्काउनु, ल्होसारमा झाँकी, साँस्कृतिक नृत्य र भेषभुषा लगाउनु ग्रहदशा शान्तिको लागि रुपा लगाउनु ल्हो अर्थात वर्ग र पार्ग भिडाएर शुभ अशुभ फल बताउने चलनले प्रतीकवादको वकालत गर्दछ । तसर्थ यसको साँस्कृतिक महत्व बलियो देखिन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप