आजदेखि कुलुङ जातिको नयाँ वर्ष

के र कस्तो हो ‘चाक्चाकुर’ पर्व ?


  • निनाम कुलुङ ‘मंगले’
  • २०७७ पुष १५

यही पौष १५,१६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ–५०८१) ‘चाक्चाकुर’ शुरु हँुदैछ । तर, सोही मितिमा नेपालको अर्को जाति गुरुङ जातिको ल्होछार पर्व पनि पर्ने हुनाले सँधैभरि कुलुङ जातिको नयाँ वर्ष ‘चाक्चाकुर’ भने ओझेलमा पर्ने गरेको छ । त्यसमाथि कुलुङ जाति भनेको पहिलेदेखि नै नेपालका अन्य जातजातिले चिनिरहेको जाति पनि होइन किनभने, अभैm पनि कुलुङ जातिलाई नेपालका अन्य जातजातिहरुले अलग्गै र स्वतन्त्र एक जाति हुन् भन्ने नबुझेर, नमानेर कथित ‘राई’ जातिभित्रको एक थर मात्रै हो भन्ने बुझ्ने, मान्ने गरेका छन् । तर, कुलुङ जातिका बारे मान्छेहरुले बुझेको जस्तो वास्तविकता भने त्यस्तो होइन ।
जेहोस्, राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा एकसय २५ जातजाति र एकसय २३ भाषाभाषी छन् । ती जातजाति र भाषाभाषीमध्येमा पर्ने एक जाति हो ‘कुलुङ’ जनगणना २०६८ मा उल्लेख भएअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३३ रहेको छ भने कुलुङ मातृभाषीको संख्या ३३ हजार १ सय ७० रहेको छ ।
कुलुङ जातिको मातृ संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखोम)’ का महासचिव इन्द्र होनीत्ती कुलुङको भनाइअनुसार भने, कुलुङ जातिको जनसंख्या एकलाख ६० हजारभन्दा बढी रहेको छ । कुलुङ जातिको उत्पत्ती थलो (सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र) जस्तै छेस्खाम, बुङ, गुदेल, सोत्तो, पावै, संखुवासभा, भोजपुर, इलाम, सुनसरी, मोरङ, झापा, काठमाण्डौंलगायत जिल्लामा बाक्लो वस्ती रहेको छ भने धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, कास्की, ललितपुर, भक्तपुर, उदयपुर, सर्लाही, मुस्ताङ, मनाङ, बागलुङ सुर्खेतलगायत जिल्लामा पातलो वस्ती रहेको छ । यसरी नेपालका २७ भन्दा बढी जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम, नागाल्याण्ड, मणिपुर, देहरादुन अनि म्यानमार, भुटान, हङकङ, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत देशमा पनि कुलुङहरु रहेको भेटिएको छ ।
नेपालको वास्तविक चिनारी भनेको नै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भगौलिक विविधता आदि हो । त्यसैले त पृथ्वीनारायण शाहले समेत नेपाललाई ‘चार जात र छत्तीस वर्णको साझा फूलबारी हो’ भनी सकारेका थिए । कुलुङ जातिको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि सोलुखुम्बु जिल्लाको छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै लगायत साविकका गाविसलाई ‘महाकुलुङ’ भनेर चिनिन्छ । नेपालका अन्य जातजातिको जस्तै कुलुङ जातिको पनि आफ्नै विशिष्ट खालको जीवनचक्र, जातीय संरचना, भाषा, धर्म, संस्कार, संस्कृति, चाडबाड, रीतिरिवाज, भेषभुषा, गरगहना आदि रहेको छ ।
यसरी कुलुङ जातिले मनाउने विभिन्न चाडवाड, जात्रामात्रा, पर्व र उत्सवहरुको कुरो गर्दा कुलुङ जातिको नयाँ वर्ष अर्थात् ‘नीङ दोङ’को पहिलो महिना ‘चाक्चाकुर’ को अवसरमा मनाइने ‘मिनारी दाचाम्’ पनि एक हो । ‘चाक्चाकुर’ भनेको इस्वी संवत्को पहिलो महिना जनवरी, विक्रम सम्वत्को पहिलो महिना वैशाख भने जस्तै कुलुङ जातिको जीवनचक्रअनुसार नयाँ वर्ष सुरु हुने पहिलो महिनाको नाम पनि हो । विक्रम सम्वत्को हरेक पुस १५ गतेदेखि कुलुङ जातिको नयाँ वर्ष ‘यले दोङ’ सुरु हुन्छ ।
प्राचीनकालमा कुलुङ समुदायले चाक्चाकूरको अवसरमा ‘मिनारी–दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी बाँसको खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । नयाँ वर्षको पहिलो दिन गोरु काट्ने (महाकुलुङ लगायत कुलुङ समुदायको बाक्लो वस्ती भएका क्षेत्रहरुमा), दोस्रो दिन १६ गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न, भित्र्याउने, भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी दाचाम्’ भनिन्छ । त्यस्तै, कुलुङ जातिमा चाक्चाकूरको अवसरमा मनाइने मिनारी दाचाम् चाडको अवसरमा पहिलो दिन आ–आफनै घरमा मीठो मसिनो जे छ, त्यही खाएर मनाउने गरिन्छ भने दोस्रो दिन चेलीबेटीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवनयापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।
कुलुङ जातिले मान्ने ‘मिनारी–दाचाम्’ चाड अर्थात् ‘चाक्चाकूर’ मनाउने सम्बन्धमा कुलुङ जातिमा रहेको किम्वदन्ती र विश्वासअनुसार ‘कुलुङ जातिका विभिन्न आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ र एक छोरा खोक्चिलीप गरी तीन सन्तान थिए । यिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) खायो । ती दिदी–बहिनीले सानैमा भाइ खोक्चिलीपलाई छाडेर गए । खोक्चिलीपले आपूm ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । एक दिन खोक्चिलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु पनि भएको बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले भनेपछि खोक्चिलीप आफ्ना दिदीहरु खोज्न गए । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए ।
यसरी अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै भाइलार्ई बेवारिसे बनाएर सानैमा छाडेर गएकोमा पश्चाताप पनि गरे । तापनि भाइको आग्रहमा भाइको घरमा गएर नयाँ अन्नबालीबाट पाकेको, बनेको मिठो–मसिनो खाए, पिए, नाचगान गरेर रमाइलो गरेर विदावारी भए ।’ कुलुङ जातिमा सोही दिनदेखि चाक्चाकूर मनाउन थालियो ।
हाल आएको जातीय चेतनासँगै ‘महाकुलुङ’ बाहेकका कुलुङ जातिको घना वस्ती भएका विभिन्न जिल्लाहरु जस्तै भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, झापा, र पातलो वस्ती रहेको तेह्रथुम, ताप्लेजुङ, धनकुटा, उदयपुर, काठमाण्डौं, भक्तपुर, ललितपुर, कास्कीलगायत जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमसहित ‘चाक्चाकूर’ मनाउने क्रम बढेको छ । यो वर्षचाहिँ कोरोना महामारीका कारण कतै पनि सामूहिक रुपमा भेल भएर ‘चाक्चाकूर’ नमनाउने निर्णय भएको छ ।
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप