धरानमा तमु ल्होसारः धरानेको धारणा के ?

आदिवासी जनजातिका लागि सरकारले विदा घोषणामा विभेद गरेको गुनासो


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १४

धरानमा धुमधामसाथ यो चाड मनाइँदैछ

पृथ्वीमान तमु गुरुङ

धरान नगर अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धरान नगर समिति

यो चाड धेरै पहिलादेखि नै गुरुङ जातिले मनाएको इतिहास छ । निश्चित ठाउँमा भेला भएर यो चाड मनाइन्छ । यस वर्ष मुसा वर्गलाई विदाइ गरी गाई वर्गलाई स्वागत गरिँदैछ । धरानमा पनि यो चाड धुमधामसाथ मनाइन्छ । यस वर्ष कोरोना महामारीका कारण गुरुङ समुदायका मानिस मात्रै जमघट हुनेछन् ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । ल्होसारले गुरूङ समुदायमा नयाँ सम्वतको शुरूवात गराउँछन् । यही दिन आफ्नो गुरु प्रथम महापुरुषको जन्म भएको हुनालेसमेत गुरूङ समुदायले यो चाड मनाउने गरेका छन् । हिन्दूशास्त्रमा १२ वटा राशिको महत्व रहेजस्तै गुरूङशास्त्रमा पनि चरा र जनावरको नामबाट नामकरण गरिएका १२ वर्गको विशेष महत्व रहन्छ । प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ वर्गको शुरूवात हुन्छ । आन्दोलन गर्दा पनि सुनुवाइ नहुनु दुःखद् हो । विशेषतः आदिवासी जनजातिलाई नै हेला गरेको हामीले ठानेका छौं ।


सरकारले विदा घोषणा नगरेर विभेद गरेको छ

बकसमान तमु गुरुङ

सुनसरी जिल्ला अध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्

गुरुङ चाडलाई सरकारले सार्वजनिक विदाको घोषणा गरेपनि केही वर्षदेखि कटौती गरेको छ । स्व. पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले गुरुङ समुदायलाई विदा घोषणा गरेपनि अहिले कटौती हुँदा दुःख लागेको छ । अहिले हामीलाई दाँतमा खाना खाँदै गर्दा ढुङ्गा लागेजस्तो महसुस भएको छ । यस्तो कार्यले हामीलाई विभेद गराएको ठानेका छौं र आन्दोलित बन्यौं तर कार्यान्वयन हुन सकेको छैन । राज्यले यस चाडप्रति विभेद नगरिदिएको भए हुन्थ्यो । हिन्दूको सबै चाडमा विदा दिने तर तमुको चाडमा भेदभाव भएको छ । हामी पनि यही देशमा जनता हौं भन्ने आभाष हामीलाई भएको छैन ।

ल्होसारका अवसरमा मान्यजनबाट आशिर्वाद लिइन्छ

टंककुमारी तमु गुरुङ

सुनसरी जिल्ला कोषाध्यक्ष, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्

यो तमुहरूको पहिचानजन्य चाड हो । तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा रहेका गुरुङ समुदायले पनि मान्दछन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्काे नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ ।
गुरुङ समुदायमा प्रचलित किम्वदन्ती अनुसार कुनै बेला एउटा गर्भवती महिलाको मृत्यु भयो र उसलाई अन्तिम संस्कार गरी जमिनमा गाडियो । गर्भवती महिलाको मृत्यु भएपनि उसको गर्भमा रहेको बच्चा जीवितै रहेको र पछि ऊ आमाको गर्भबाट राक्षषी रुप लिएर जन्म लिई मानिसहरुलाई दुःख दिने, सताउने गर्न थाले पछि गुरुङ समुदायको लामा गुरुहरुले उसलाई तन्त्रमन्त्रबाट नियन्त्रणमा लिई उसको दुखकष्टबाट समाजलाई मुक्ति दिलाएको सम्झनामा पनि तमु ल्होसार मान्न शुरु गरिएको हो भन्ने मान्यता रही आएको छ । यसरी नियन्त्रणमा लिइएको राक्षस रुपलाई राक्षसको प्रतिक बनाइ त्यसलाई लामागुरुहरुद्वारा विधिपूर्वक पूजापाठ गरी हरके वर्ष ल्होसारको दिन विहान पख दाहासंस्कार गर्ने गरिन्छ । यसो गर्दा नयाँ वर्षको नराम्रो ग्रहदशाहरु कटी शान्त हुने छ । गह्रदशा काट्ने पूजालाई गुरुङ भाषामा ‘टेने कोशे त्हें’ भनिन्छ ।

साझा पर्व हो

कर्णबहादुर गुरुङ

पूर्व सचिव, नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल

तमु ल्होसार बौद्ध, हिन्दु लगायत जुनसुकै धर्म मान्ने गुरुङहरुले साझा पर्वको रुपमा आफ्नो समुदायको एउटा महान पर्वको रुपमा मान्ने गर्दछन् । जसरी राशी वाह्र वटा हुन्छ त्यसैगरी गुरुङ समुदायको १२ वटा वर्ग हुन्छ। तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । ती वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाहा पाउन सकिन्छ । जस अनुसार वर्ग यस प्रकारका छन् । बाघ वर्ग (तो ल्हो), बिरालो वर्ग (हि ल्हो), गिद्द वर्ग (मुप्री ल्हो), सर्प वर्ग (सप्री ल्हो), घोडा वर्ग (त ल्हो), भेंडा वर्ग (ल्हु ल्हो), बादर वर्ग (प्र ल्हो), चरा वर्ग (च्हया ल्हो), कुकुर वर्ग (खि ल्हो), मृग वर्ग (फो ल्हो), मुसा वर्ग (च्यु ल्हो), गाई वर्ग (ल्वोँ ल्हो) । जुन वर्ग जनवारको प्रतिकको नामसंग मिलेको हुन्छ त्यो वर्ष त्यही जनवारको आनीवानी, हाउभाउ, उसको रुची, व्यवहारसँग मिल्दो जुल्दो हुन्छ भन्ने धार्मिक मान्यता छ ।

हर्षोल्लासका साथ स्वागत गर्ने गरिन्छ

यम तमु गुरुङ

सचिव, नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल, धरान–१८

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि सबै जना आआफ्नो समाजघर वा गुम्बामा जम्मा भई यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । एउटा वर्गलाई विदाई गरेर अर्को वर्गको स्वागत गर्ने क्रममा त्यो रात १२ बज्नुभन्दा १ मिनेट अगाडि विदाई गर्ने र स्वागत गर्ने दुई वटा वर्गको प्रतिक बनाई विदाई गर्ने वर्गलाई तपाई राम्ररी जानु, दुःख नदिनु भनेर धनुषबाँध हानेर विदाई गरिन्छ भने १२ बज्ना साथ स्वागत गर्ने वर्गको प्रतिकलाई धनुषबाँण हानी हर्षउल्लाहासका साथ स्वागत गर्ने गरिन्छ ।

चाडप्रति पक्षपाती व्यवहार नहोस्

वीर्खबहादुर तमु गुरुङ

यो गुम्बा २०२७ सालदेखि स्थापना भएको हो । त्यतिबेलादेखि नै हामीले यो चाड मनाउँदै आएका छौं । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्काे नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । अर्को कुरा तमु ल्होसारमा अनिवार्य छुट्टी पाउनुपर्छ भन्ने मेरो धारणा हो । बुद्धधर्म, किरात धर्म सबैले छुट्टी पाउनुपर्छ । नेतालाई अनुरोध छ–यस विषयमा पक्षपात नहोस् ।

गुरूङ जातिहरूको महान चाड 

नरेन्द्रकुमार गुरुङ

प्रदेश सदस्य, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्

यो दिन गुरुङ समुदाय एक ठाउँमा जम्मा भएर मिठामिठा परिकारहरु खाने, नयाँ वस्त्र लगाउने, नाँचनाँच गर्ने, एक आपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन् । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले यस दिन देशविदेशमा ल्होसारको शुभकामना आदानप्रदान गरिन्छ ।

छोराछोरीलाई सिकाउने संस्कार

नन्दकुमारी गुरुङ, धरान

तमु ल्होसार बौद्ध, हिन्दु लगायत जुनसुकै धर्म मान्ने गुरुङहरुले साझा पर्वको रुपमा आफ्नो समुदायको एउटा महान पर्वको रुपमा मान्ने गर्दछन् । यो पर्व बचाउन हामी लागिपरेका छौं । अहिले यो पर्व छोराछोरीलाई सिकाउँदै र संस्कार, संस्कृति बचाउन लागिपरेका छौं ।

युवापुस्ताका लागि मज्जाको चाड

लक्ष्मी गुरुङ (युवती)

यो चाड सबै गुरुङ समुदाय एकै ठाउँमा मिलेर मनाउने चाड हो । यसको संरक्षणको लागि युवापुस्ताको भूमिका जरुरी छ । पुस १४ गते रातिदेखि नै विशेषतः गुरुङ युवायुवती ल्होसार स्वागत गर्न आगो बालेर नाचगान गर्दै जागा बस्छन् भने १५ गते बिहानै गुरूङ पोशाकमा सजिएर गुम्बा र क्होइवो (मन्दिर) मा गई पूजापाठ गरी लम, पच्यु गुरुहरूद्वारा रिपा, खदा लगाई मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्दै यो चाड मनाउँछन् ।

युवापुस्ताले संस्कार, संस्कृतिको भुल्नुहुन्नँ

वरिष्ता गुरुङ (युवती)

यो चाडचाहिँ बौद्ध धर्मावलम्वीहरुले मनाउने चाड हो । यो चाड तमु गुरुङले महत्वका साथ मनाउँछन् । भनौं यो चाड हिन्दू धर्ममा दशैं मानेजस्तै हो । युवापुस्ताले यो चाडको महत्व बुझ्नुपर्छ र आफ्नो संस्कार संस्कृतिको जर्गेना गर्नुपर्छ भन्ने विचार राख्दछु । पुराना पुस्ताले जातीय पहिरन लगाउनुका साथै पछिल्लो समयमा युवावर्गमा पनि यसमा ध्यान दिन थालेका छन् । यो आफ्नो संस्कार, संस्कृति जोगाउने काइदा हो । तस्वीरहरुः लक्ष्मण थापा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप