धरानमा कांग्रेसको शक्तिसहित विरोध प्रदर्शन

(२० तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष १३

धरानः नेपाली काङ्ग्रेसले धरानमा शक्ति प्रदर्शनसँगै विरोध प्रदर्शन गरेको छ । सुनसरी क्षेत्र नं १ को आयोजनामा विरोध कार्यक्रम भएको हो ।
संसद विघटनको विरोधमा नेकपाका कार्यकर्ता धरानमा खासै खुल्न सकेको देखिएन । विशेषतः अन्य दलका नेता, कार्यकर्ता खासै नखुलेको अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता भने खुलेरै सडकमा आए ।
संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी कांग्रेसले धरानको छाताचोकदेखि विरोध रयाली निकालेको छ । रयाली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै केन्द्रीय सदस्य मीना सुब्बाले प्रम ओलीको सरकारले बाध्यताले सडकमा जनता आउनुपरेको बताइन् । उनले जनताले संघर्ष गरेर ल्याएको संविधानमाथि नै कुठाराघात गरेको बताइन् । उनले नेकपामा भागबन्डा नमिल्दा जनतामाथि कुठाराघात गर्नु विडम्वना भएको बताइन् । संसद विघटन हुनु प्रतिगामी असंवैधानिक कदम भएको उनको भनाइ छ । ‘नेकपाको कुर्सी मोह, पैसा मोह र भागबण्डाकै कारण संसद विघटन हुनु जनताको लागि धोका हो’, उनले भनिन् ।
प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बाले प्रम ओलीको कदम असंवैधानिक र लोकतन्त्रविपरीत भएको बताए । उनले संविधान मिचेर चालिएको कदमले कसैलाई फाइदा नपुग्ने बताए । उनले अदालतको निर्णय सबैले मान्ने बताए । ‘आफ्नो पक्षमा निर्णय हुँदा मान्ने, नहुँदा मान्ने प्रजातान्त्रिक संस्कार होइन, त्यसैले अदालतले जे निर्णय गर्छ त्यो मान्नुपर्छ ।’
उनले मुद्दा नै विचाराधीन रहेकोले पर्खनुको विकल्प नरहेको बताए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको मुद्दा अदालतमा रहेकोले अदालतको निर्णय पर्खनुको विकल्प छैन’, उनले भने, ‘हामी प्रजातान्त्रिक अदालतको निर्णय पनि मान्छौं, चुनावमा जान परेपनि जान्छौं ।’
जिल्ला सचिव सुजेन्द्र तामाङले सडक संघर्षबाट संसद पुनस्थापना गरिछाड्ने बताए । उनले न्यायलयले कस्तो न्याय गर्छ त्यो बारेमा कांग्रेसले हेरिरहेको बताए । नेपाली कांग्रेसले न्यायालयको कस्तो भूमिका खेल्छ भनेर हेरिरहेको छ’, उनले भने । कांग्रेसका जिल्ला सदस्य राजीव लामाले कांग्रेसले मात्रै देशलाई जोगाउने बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले सोमबार १६५ निर्वाचन क्षेत्रमै विरोध प्रदर्शन आयोजना गरेको छ ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप