धरानमा पनि ‘अम्ब्रेला स्ट्रिट’ को चर्चा

टिकटक र सेल्फीले बनायो चर्चित, केहीदिनमै बगरकोटभरी ‘अम्ब्रेला स्ट्रिट’ अर्थात् छाता झुन्ड्याइने (२५ तस्वीर र भिडियो)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष ९

धरानः काठमाडौं, चितवनमा चर्चामा आइरहेको ‘अम्ब्रेला स्ट्रिट’ को जति चर्चा त्यहाँ छ, धरानमा पनि चर्चा चुलिएको छ ।
धरानको बगरकोट पुलपारी करिब ३५ हजार रुपैयाँको छाता आकाशमा झुन्डाइएका छन् । रंगीचंगी छाताले ढाकिएको छ ‘भिन्टेज फेमिली रिसोर्ट’ अगाडिको सडक । यो ‘कन्सेप्ट’ पनि भिन्टेजले नै भित्रयाएको हो । भिन्टेजका सञ्चालक मिराक लिम्बू भन्छन्, ‘यसले मानिसहरुलाई निकै लोभ्याएको छ । टिकटक बनाउन र फोटो सेसन गर्न, सेल्फी हान्न यहाँ आउने एक्कासी बढे, दुई तीनदिन अघि त सडक नै ढाक्ने गरी युवायुवतीको रमझमस्थल बन्यो ।’
काठमाडौं, चितवनमा प्रयोग गरेको कन्सेप्टले जति चर्चा पायो उति नै यस ठाउँले पनि चर्चा पाएको उनको दावी छ । ‘यसकै कारणले टिकटकलगायत सामाजिक सञ्जालमा चर्चा कमायो, व्यवसाय बढ्यो, बगरकोटलाई थप चिनायो भन्ने हाम्रो बुझाइ छ ।’ उनले थपे ।
उनले भिन्टेजले पहिला नै यो कन्सेप्ट प्रयोग गरिसकेको उनको दावी छ । ‘कहाँ चितवन, काठमाडौंमा चर्चा पाउनुअघि अर्थात् चार वर्षअघि नै हामीले भिन्टेजभित्र यो कन्सेप्ट राखिसकेका हौं, अहिले आएर धेरैले कपी गरेको पनि भने तर अहिले पनि हाम्रो दावी छ’, उनले थपे, ‘यो प्रयोग हामीले पहिल्यै गरेकै हो ।’
यही ‘कन्सेप्ट’ बगरकोटभरी प्रयोग गरिने
उनका अनुसार यही कन्सेप्टलाई बगरकोटभरी प्रयोग गरिने अर्थात् बगरकोटभरी नै ‘अम्ब्रेला स्ट्रिट’ राखिनेछ । उनले भने, ‘बगरकोटका व्यवसायी समितिका पदाधिकारी, वडाध्यक्षलगायतले साथ दिनुभएको छ, बगरकोटलाई चिनाउन र पर्यटक भित्रयाउन यस्तो प्रयोग गरौं भन्नेमा सबै एक मत छन्, अब बगरकोटभरी नै छाता झुन्डयाइनेछ ।’ बगरकोट टुरिजम एरिया भएकोले पनि यहाँ यो कन्सेप्टलाई उतार्न लागिएको उनको भनाइ छ ।
कसरी आयो यस्तो कन्सेप्ट ?
भिन्टेजकी म्यानेजर सचिना गुरुङका अनुसार भिन्टेजको ७ गते ‘एनिभर्सरी’ थियो, त्यतिबेला केही फरक गरौं र ग्राहक ल्याऔं भन्ने उद्देश्यले योसहित साङ्गीतिक कार्यक्रम पनि राखियो । त्यसपछि यहाँ स्थानीय पर्यटकले भरिभराउन हुन थाले । ‘केही फरक गरौं भनेर सोचें हुँदोरहेछ भनेर हामीले चाल पाएका छौं’, उनले थपिन्, ‘कोरोनाले थलिएको व्यवसायमा केही राहत मिल्यो ।’
खासमा त्यो कन्सेप्टले मात्रै पनि स्थानीय आगन्तुक बढेका होइनन्, भिन्टेज पनि भव्य तरिकाले सजाइएको छ । लकडाउन हुनु करिब पाँच महिनाअघि सो रिसोर्ट सञ्चालनमा आएको थियो । भिन्टेजका अर्का सञ्चालक एस डब्लु लामिछानेले करिब दुई करोड ५० रूपैयाँ लगानी गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको तर लकडाउनले केही चल्नै पाएन । लगानी त्यतिकै डुब्ने अवस्थामा पुगेपछि यस्तो कन्सेप्ट ल्याइएको उनले जानकारी दिए ।
‘लकडाउन हुनुअघि ठयाक्कै दुई महिनाअघि रिसोर्ट सञ्चालनमा आयो, धरानलगायत अन्य ठाउँका ग्राहक आउन थालिसकेका थिए तर अधिकांशले यहाँको स्वाद चाख्न नपाई चैत ११ गतेदेखि रिसोर्ट बन्द गरेर घरमै थन्किनुपरयो ।’ सञ्चालक लामिछानेले भने, ‘तर अहिले थलिएको व्यवसाय केही माथि उठ्न पनि थालिसकेको छ, अब आशा छ, व्यवसाय अघि बढ्छ ।’
बगरकोट आइपुग्ने जोकोहीलाई पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । रिसोर्ट सञ्चालन शुरू भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको रिसोर्ट हेर्दै आएका सुमन राजधामीले बताए ।
बगरकोटका व्यवसायी मारमा
अहिले त्यहाँका व्यवसायीले करिब एक डेढ घण्टामात्रै होटल सञ्चालन गर्न पाएकोमा दुःख लागेको बताएका छन् । ‘यो त साँझदेखि रातिसम्म चल्ने व्यवसाय हो, एक, डेढ घण्टा मात्रै चलाउन पाउँछौं, ९ बजे नै बन्द गर्नुपर्ने अवस्था छ, यसरी कसरी व्यवसाय उभो लाग्छ ।’ मिराकले दुखेसो पोखे । कोरोना कहर अर्थात् लकडाउनअघि यहाँका व्यवसायीले ११ बजेसम्म व्यवसाय चलाउन पाउँथे । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप