नियात्राः लन्डनदेखि भेनिससम्म

कम्युनिष्टहरु कति क्रुर हुन्छन् भन्ने आफ्नो देश छाडेर भागेका शरणार्थीहरुको निराशाजनक अनुहार हेरेर चाल पायौं


  • भीम राई
  • २०७७ पुष ८

यात्रा मानिसको जीवनमा अभिन्न अङ्ग रहेछ भन्ने कुरा मैले चीनको विभिन्न गाउँघर डुलेर चाल पाएको थिएँ । त्यसबेलादेखि विदेशी भूमीमा घुमी खान पल्केका मेरा स्वादे जीब्रोलाई म सँगसँगै लिएर संसारका विभिन्न स्थानहरुमा घुमाइरहेको थिएँ । त्यसरी घुम्ने क्रममा आक्कलझुक्कल पाइने कष्टकर जिन्दगीबाहेक धेरैजसो समयमा हामीलाई मनोरञ्जन नै मिलिरहेका थियो । तर म यसरी घुम्न निस्किँदा किनकिन जीब्रोलाई भन्दा यिनै मेरा एकजोडी लुते गोडाहरुलाई नै बढी भाग्यमानी भनेर सम्झिरहेको हुन्थें ।
मलाई यात्राको सबैभन्दा सुन्दर पक्ष भनेको एउटा सहज यातायात नै हो जस्तो लागिरहथ्यो । किनभने संसार ज्यादै ठूलो र हाम्रा गोडाहरु अति साना हुने भएकोले उचित यातायातको साधनबिना कुनै ठाउँ पुग्न सकिँदैन थियो । तिनै यातायातका विभिन्न साधनहरु प्रयोग गरेर हामी हरेक समय नयाँ ठाउँहरु पुगिरहेका हुन्थ्यौं । निश्चय नै हाम्रा यात्राको उद्देश्यहरु चाहिँ त्यति बिघ्न थिएनन् । प्रायःजसो जिन्दगीमा एकचोटी, ‘त्यस ठाँउमा पुग्न सकियो, देखियो र हेरियो,’ भन्ने मात्रै हुन्थें ।
यातायातकै कुरो गर्दा खै मलाई यसपटक कहाँदेखि हो कुन्नि दिमागमा अलिक फरक खालको सोच उत्पन्न भइरहेको थियो । यसो रैलेरेल दुईचार देश घुमेर आउ भन्ने मनमा लागिरह्यो । त्यसैले एउटा छोटो रेलयात्राको तयार गरिहालें ।
२७ अगष्ट २०१४ को बिहान सात बजे घट्लक घट्लकको सानो आवाजसहित भर्जिन रेलले लाइम स्ट्रिट, लिभरपुललाई विस्तारै छाड्यो । हामी रेलको दोश्रो डिब्बाभित्र पहिलो पङ्क्तीको बायाँसिटमा आसन गरेका थियौं । अन्य रेलको भन्दा भर्जिन रेलको शरीर अलिक सानो हुने भएकोले हामी दुईजना मज्जाले खाँदिएर बसेका थियौं । त्यसरी बस्दा ताराको कानमा सुटुक्कै, ‘रेलको जस्तो नाम उस्तै आकार,’ भन्न मलाई मन लागिरहेको थियो । तर, बुढेसकाल लागिसकेको मानिसलाई पनि कति छाडा बोल्न आएको होला भन्ने सोच्छिन् होलि भन्ठानेर केही नबोली चुपचाप बसिरहें ।

सर रिचार्ड ब्रान्सनको भर्जिन रेलले लिभरपुल छाडेदेखि केहीबेरमा रनकन गाउँलाई पनि बिदा गरयो । ताराले रेलको सिटलाई झ्याम्मै दार्ही–जुङ्गा पालेका ब्रान्सनकै बुढो काखझै मानेर थपक्कै आँखा चिम्लिहालिन् । उनले आँखा मात्रै के चिम्लिन्थिन् र ? साथैमा बोकी हिँडेकी पातलो पस्मिनाको बर्कोले अनुहार पनि गल्यामै ढाकिहालिन ।
पस्मिनाभित्र उनको अनुहार लुकेपछि मैले रेलको झ्यालबाट दुरदृष्टि लगाउन थाले । बेलायतमा अगष्ट महिनाको मौसम ज्यादै राम्रो थियो । म मौसमसँग रुमलिदै त्यहाँदेखि बाहिर देखिएको हरियो उर्वर घाँसे भूमीहरुसँग प्रेम गास्न थालें । रेल आफ्नै गतिमा दगुरिरहेको थियो । रेलको गति सँगसँगै मेरा नजर, विचार र भावनाहरु पनि क्रमशः बहदै जान थालेका थिएँ ।
जतिजति रेलको गति बढदै जान्थ्यो, उतिउति म भावनामा डुबिरहेको हुन्थे । केहीबेरमा हरिया घाँसे जमिनका सुन्दर दृष्टिहरु मेरा लोभि नजरदेखि विस्तारै बिदा लिन थालें । त्यसपछि क्रु र स्टाफोर्डका पातलो अङ्ग्रेजी बस्तीहरु देखापर्न सुरु गरे । मैले त्यसबेला कसैकसैको घर पछाडिको बगैंचामा मिठामिठा मासु पोलिरहेको दृश्य देख्दा मेरो मुखबाट कुवामाउब्जने पानी झै पानी उब्जिरहेको थियो ।
रेल बर्मिङ घाम पुग्यो र तीन चार मिनेट थकाइमारयो । फेरि रेल हिडन सुरु गर्दासम्म ताराले आँखा खोलेकी थिइनन् । त्यसैले म एक्लै धुमधुम्ती बसिरहन भन्दा मेरो नजरलाई पुनः झ्याल बाहिरतिर डुलाउन थालेका थिएँ । जहाँ म आसन गरिरहेको थिएँ त्यसको बायाँतिर तस्वीरको लागि पृष्ठभूमी सुहाउने दमसाइला डाँडाकाडाँहरुका सुन्दर दृश्यहरु देखापर्न थालेका थिएँ ।
मेरा आँखा अगाडि जतिजति आकर्षक जमिनहरु देखापर्दथे, मलाई मनमनै वाह प्रकृति तिमी कति सुन्दर छौ भनेर भन्न मन लागिरहेको हुन्थ्यो । यतिकैमा त्यति हरियालि घासे जमिनमाथि निस्फिक्री चरिरहेका हेरिफोर्ड सायर गाईगोरुहरु र लामा लामा पुच्छर वाला लेष्टर सायर भेडाहरुको हुलका हुल बथान देख्दा मेरा मन प्रफुल्ल हुन थालेका थिए । किनभने म आफै गरिब किसानको छोरो थिएँ । र,त्यस्तो दृश्य देख्दा बाल्यकालमा तिनै गाईवस्तुहरु सँगसँगै सिम खेतको गोठमा सुतेर हुर्केको झलझली याद मेरो मस्तिष्कभरि नाचिरह्यो ।
ताराले जुनबेला आँखा खोलिकी थिइन् त्यसबेला हामी लण्डनको युस्टन रेलस्टेसन पुगिसकेका थियौं । युस्टनमा रेल अन्तिम चोटि रोकिएपछि आ–आफ्नो सुटकेस गुडाउँदै भूमीगत रेलस्टेसनभित्र पस्यौं । र, सेन्ट प्रान्कज स्टेसनतर्फ लाग्यौं ।
८ सय मिलियन स्टर्लिङ पाउण्ड खर्च गरेर निर्माण गरिएको ‘सेन्ट पान्क्रज’ बेलायतदेखि युरोप छिर्ने मुख्य रेलस्टेसन हुन् । त्यहीदेखि उच्च गतिको युरोस्टार चढेरब्रसेल्स, बेल्जियम र पेरिस, फ्रान्स जान सकिन्छ । जुन स्टेसनलाई सन् २००७ मा बेलायती हजुर महारानी दोश्रोले उदघाटन गरिबक्सेका थिए ।

हामी त्यहाँ पुग्दा समय त्यस्तै ११ बजेको हुनुपर्छ । हाम्रो यात्रामा सदैव साथदिने भाइ कृष्ण र सानु बैनी पनि अल्डरसटदेखि त्यहाँ आइपुग्नुभयो । हाम्रो भेट भएपछि केही ढिला नगरी युरो स्टारभित्र पसि हाल्यौं किनभने हामीसँग अग्रिम खरिद गरेको रेलको टिकट साथैमा थिएँ ।
सेन्ट प्रान्कजदेखि बिना आवाज रेल गुड्न थाल्यो । त्यसपछि एब्सफ्लिट स्टेसनमा पुगेर केहीबेर रोकियो । त्यसरी रेल रोकिँदा एक्कैजना मान्छे रेलदेखि झरेका देखिएनन् तर थोरै यात्रुहरु रेलभित्र पसेको मैले देख्न सकें । केहीबेरमा रेल आशफोर्डको जमिनमा एकछिन दगुरयो अनि केन्टलाई छाडेर लाज मान्दैमान्दै अङ्ग्रेजी च्यानलको युरो सुरुङभित्र बिलय भइहाल्यो ।
रेल युरो सुरुङभित्र पसेदेखि हामी सबैजना शान्त भएर आसन गरिरहेका थियौं । किनहो किन ताराले त्यतिबेलासम्म गर्लम्मै अनुहार ढाकेर सुत्ने योजना बनाएकी जस्तो लागेनन् । नत्रभने रेल, बिमान र पानीजहाजभित्र पस्ने बितिक्कै त्यो उनको नियमित बानी थियो । तर खेदको कुरोचाहिँ केही समय अगाडिसम्म झ्याल बाहिर राम्रो दृश्य देखिएको बेला मज्जाले आँखा चिम्लेर बसिन् अनि अहिले सुरुङ्ग मार्गभित्र केही देखिन्न त्यसबेला चाहिँ उनको आँखा टँठिलो भइरहेको छ भनेर मैले मनमनै सोचिरहें ।
कृष्ण र म टेबलको आमने सामन्ने बसिरहेका थियौं । हामी सिटमा बसेको मात्रै थिएनौं । त्यसरी बस्ने बितिक्कै आफ्नो देशको ठूट्टे राजनीति गफ सुरु गरिसकेका थियौं । हाम्रो अहोभाग्यले जुराएर हामी दुवैजनाले २० वर्र्ष सँगसँगै सैनिकमा काम गरिसकेका थियौं तर, हाम्रो वाल्यकालको पृष्ठभूमी एकदम फरक थियो । किनभने उनी सहरमा र म गाउँमा हुर्केको थिएँ । त्यसैले सहर र गाउँको मानिसहरुको सोच्ने शक्तिको विषयमा यदाकदा हामीले केही भिन्नताहरु पाउने गरेका थियौं ।
तर किनकिन हामी दुवैजना परदेशमा बसेर स्वदेशको राजनितीज्ञहरुलाई गाली गर्न चाहिँ एकजुट भइहाल्दथ्यौं । त्यसपछि भारत, चीन, उत्तर कोरिया हुँदै क्युबामा पुगेर हाम्रो गफले विश्राम लिन्थ्यो । यस्तैयस्तै अनेकथरीका झिना मसिना गफ पिट्दै हामी विभिन्न राष्ट्रहरु सँगसँगै घुमिरहेका थियौं । नभन्दै समय समयमा हाम्रो गफले युरोप र अमेरिकाको जस्तै समृद्धिको पनि कल्पना गरिरहेको हुन्थ्यो । अझै त्यति मेहनत र परिश्रमले बनाइएका त्यहाँका रेलका मार्गहरु हेर्दा हामीले धेरै लामो समयसम्म नेपालको भू–बनोट र रेलको भावी सम्भाब्ययताको विषयमा पनि कुराकानी गरिरहेका हुन्थ्यौं ।
जिन्दगी भरि दुःख, पीडा, पीर, वेदना र असहजको वातावरणबाट देशलाई कसरी मुक्ति दिने होला भनेर अङ्ग्रेजी जलपथभित्र कुरो गरिरहँदा सानु बैनी सिटदेखि उठेर मिलिक्कै हराइन् । केहीबेर पछि नवदुलही झै थोरै मुस्कानसहित हातमा एक बोतल सेतो वाइन र केही गिलासहरु लिएर उनी उपस्थित भइन् । उनी आउने बितिक्कै ट्वाङ्गै वाइनलाई खोलिन् र चार जनालाई बराबरी भाग लगाइहालिन् ।
हामी केही मिनेटभित्र फ्रान्सलाई टेक्नै आँटेका थियौं । र, फ्रान्समा पाइने जाबो फ्रेन्च वाइन भनेको पानी जस्तै त होनी भन्दै एकअर्कामा चियर्स गरिहाल्यौं । मध्याह्नको उल्का गर्मी थियो । चिसो वाइनले सरर घाँटी भिजाउँदाको आनन्दको अनुभूत त त्यसै भयो भयो । वाइनको धुनले हाम्रो गफ पनि झनझन तातिन थाल्यो । अनि कृष्णले बोल्ने क्रममा अङ्ग्रेजी च्यानलको पानी भन्दा २ सय ४६ फिट मुनि बाट रेल गुड्ने लिकको निर्माण गर्ने मानिसको दिमागलाई पनि हामीले मान्नै पर्ने हुन्छ भनेर सन्तोषले सास फेरेका थिएँ । त्यसपछि यहाँ यस्तो छ हाम्रो नेपालमा चाहिँ कुरो ठूल्ठूलो र काम सानो हुन्छ भनेर चिउँडोलाई दाहिने हातमा आराम गराउँदै एकछिन घोरिएर बसिरह्यो ।
उसले बोल्न पूर्णबिराम लिएपछि मैले केहीबेर अङ्ग्रेजी जलपथ (च्यानल) लाई राम्ररी सम्झिरहें । म यिनै जलपथ भएर ‘डोभर–क्याले’ अनि‘हारविचहुक अफ हल्याण्ड’ मात्र नभएर ‘साउथाम्पटन–ओस्टेन्ड’ पुगेका विगतका दिनहरुलाई याद गरिरहें । अझै यिनै पानी माथि एक जमानामा राष्ट्रिय ध्वजाबाहक बिमानदेखि लण्डन पुगेको दिनहरु पनि स्मंरण गरें । तर दुर्भाग्य त्यही नै थियो । अहिले देशमा कम्युनिष्टहरुको शासन ब्यवस्था आएको हुनाले नेपाली विमानलाई सारा युरोपियन आकाशमा उडन प्रतिबन्ध लगाइएका थिएँ । अब त्यो भन्दा खेदको कुरो नेपाली जनजीवनको लागि अन्य के हुन सक्छ होला र भन्दा मेरो नशा गलेर खत्रयाकखुत्रुक परेका थिएँ ।
कृष्ण र मेरो कुरो सिनिक्क भइसकेका थिएनन् । तर सुरुङभित्रको आधा घण्टाअघि नै सकिएछ भन्ने कुरो अचानक झ्याल बाहिर देखिएका उत्तरी फ्रान्सका जमिनहरु हेरेर चाल पायौं अनि त्यति राम्रो फ्रान्सको मौसम देखेर हाम्रा मनहरु फुरुक्कै भएका थिएँ । त्यसपछि हाम्रो वाइनका गिलासहरु रितिन पाउँदा नपाउँदै ब्रसेल्स मिडीमा पुगेर रेल रोकि सकिएको थियो ।
रेल रोकिएपछि मेरो सिट अगाडि सिउरिरहेको ज्याकेटलाई तानेर पहिरन गरे । त्यसपछि सुटकेस राखेको ठाउँतिर गयौ । आ–आफ्नो सुटकेस निकालेर हामी सरासर रेलदेखि बाहिर निस्कियौं । बाहिर निस्किनेबितिक्कै हामीले अर्को रेललाई खोज्न सुरु गरेका थियौं किनभने हामी ड्युक भान (डिबी) जर्मन रेललाई समातेर त्यसबेला म्युनिकतर्फ हानिँदै थियौं । अनि ब्रसेल्स स्टेसन मधेशको मछली बजार जस्तो देखिएका थिएनन् । एकदम शान्त र सुशिल थियो । म सुटकेस गुडाउँदै थोरै अगाडि पुगे, त्यसपछि भित्तामा रहेको सूचना पाटीलाई राम्ररी पढें । हामीले चढ्ने रेल समात्नको लागि एकतला माथि उक्लिन पर्ने रहेछ त्यसैले हिँड्दै तलामाथि चढ्यौं ।

तलामाथि उक्लेर रेलको प्रतिक्षा गर्न थाल्यौं । हामी डिबी रेलको डिब्बा ‘सी’ मा चढँदै थियौ । त्यसैले डिब्बा ‘सी’ रोकिने स्थान पत्ता लगाएर त्यसको अगाडि उभिन सुरु गरयौं ।
यतिकैमा लामालामा कालो केशले दुवै कान ढाँकेकी छाँती फुकेकी र खुट्टा सुखेकी तर हँसिली अनि एकदम वैशालु एशियन जस्ती देखिने तरुनी मेरो नजिकै आइन् । जब त्यति आकर्षक तरुनी मेरो नजिकै आइन् म अलिक सतर्क बनिहालें । हान्ने गोरुझै सिधै मेरो सामुन्ने उनी आएकी देखेर कस्तो लबस्तरी आइमाइ होली भनेर ताराले त झन उनको केश नै ठाँडोठाँडो बनाउन सुरु गरिन् ।
म चाहिँ संयम बनें । उनी मेरो नजिक आउनेबित्तिकै उनको भाषामा खाङलाङ खुङलुङ गर्दै बोल्न सुरु गरिहालिन् । उनले कुन भाषा बोलीरहेकिछिन् भनेर मलाई ठम्याउन हम्मेहम्मे परिरहेको थियो । त्यसैले म केही नबोली उनलाई एकाध हेरिरहें । अब मैले उनलाई केही नभनेपछि भाँचिएको अङ्ग्रेजी भाषामा उनी फेरि बोल्न थालिन् । त्यसपछि पो मैले चाल पाएँ कि उनी भियतनामिज रहेछिन् र हामीलाई पनि कतै भियतनामिज होकी भन्ठानेर सोधेकी रहेछिन् ।
उनको नजिकै अर्की एकजना महिला र उनको छोरा पनि साथैमा थिएँ । ती महिलाले चाहिँ हामीसँग बोल्नको लागि एक्कै शब्द पनि खर्च गरेकी थिइनन् । तर घरिघरी म तिर हेर्दै मस्किदै गरिरहेकी मैले उनलाई नजिकदेखि नियालिरहेको थिएँ ।
ती भियतनामिज बैनीले उनको दिदी र छोरा फ्रान्कफर्ट जाँदै गरेको हामीलाई जानकारी गराइन् । उनीहरु पहिलोचोटी फ्रान्कफर्ट हिँडेका रहेछन् । जब रेल फ्रान्कफर्टमा पुग्छ तब त्यहाँ झर्नको लागि भनिदिनुहोला है भनेर उनले हामीसँग अनुरोध गरिन् । म त्यो भन्दा अगाडि दशौंचोटि जर्मनी पुगेको मान्छे थिएँ । जति नेपाल घुमेको थिएँ, त्यो भन्दा बढि जर्मनी पुगेको हुनाले केही सुर्ता गर्न पर्दैन, ढुक्क भएहुन्छ भनिदिएँ ।
सुमधुर भियतनामिज मुस्कानसहित तरुनीले हामीसँग बिदा मागिन् र तिखातिखा चप्पलका टकटक आवाजसहित मुनि तलातिर बिलय भइहालिन् । उनी गएकी मात्रै थिइन् । ठ्याक्कै २ बजेर २५ मिनेट जाँदा एउटा डीबी रेलले अनुहार देखाइहाल्यो । रेल रोकिने बितिक्कै हामी रेलभित्र पसेर आ–आफ्नो सिटको सुरक्षा गरिहाल्यौं ।
सिटमा मज्जाले आसन गरेपछि कृष्णसँग हो चि मिन्हको विषयमा थोरै कुरोकानी भयो । कम्युनिष्टहरु कति क्रुर हुन्छन भन्ने कुरो आफ्नो देश छाडेर भागेका शरणार्थीहरुको निराशाजनक अनुहार हेरेर हामीले चाल पाइरहेका थियौं । अझै ९० को दशकमा हङकङदेखि ह्यामवर्गसम्म छ्यासछ्यास्ती पाइने तिनै शरणार्थीहरुलाई देख्दा हरेक मानवको हृदय डढेर खरानी झै हुने गर्दथ्यो ।
हाम्रो गफ मज्जाले चलिरहेको थियो । र, मैले समय समयमा तिनै अवोध भियतनामिज आमाछोरालाई नजर लगाइरहेको हुन्थें । रेलको निक्कै लामो यात्रापछि हामी फ्रान्कफर्ट पुग्न सफल भयौं । र, त्यहाँ पुग्नेबितिक्कै उनीहरुलाई बिदा गरी पठायौं ।
बेलुकीको ९ बजेर १० मिनेट जाँदा रेलले म्युनिक स्टेसनमा पुगेर रोकिएको थियो । मैले केहिदिन अगाडि नै स्टेसनदेखि हिँडेर पुग्ने स्थानमा होटलको बन्दोबस्त गरेको थिएँ । त्यसैले रेलदेखि झरेर हिँड्दै हिँड्दै होटलमा पुगेर मज्जाले आराम गरर्यौं । भोलि दिनभरि म्युनिक सहरको भ्रमणमा समय बितें ।
पर्सिपल्ट बिहान हाते घडीले नौ बजाउने बितिक्कै हामी रेलस्टेसन पुगिसकेका थियौं । त्यहाँ पुगेर एक–एक वटा कफी समात्दा समात्दै आधा घण्टा समय खर्च भइसकेका थिएँ । कृष्णले, ‘ए रेल त अघि नै लागिसकेको रहेछ ?’ भन्दा सबैजना झसङ्गै भयौं । र हतार हतार रेल भएको प्लेटफर्म तर्फ दगुरिहाल्यौं । अनि डिब्बाभित्र पसेर आरामदायी सिटलाई आरक्षण गर्ने बितिक्कै एकसय वर्षभित्र नेपालमा पनि रेल आयो भने अर्को सय वर्षमा यस्तै उच्च गतिको रेल आउनेछ होला भनेर भविष्यवाणी गर्न पनि पछि परेनौं ।

केहीबेरमा माया लाग्दा लाग्दै रेलले म्युनिक सहरलाई छाड्यो । बिएमडब्लुको मुख्यालय मात्रै नभएर बार्योन म्युनिकको घरेलु मैदानलाई हामीले छाडेर ११ बजेर २० मिनेटमा त इन्सब्रक, अष्ट्रिया पुगिसकेका थियौं । म पहिले आल्पस पर्वतमा ‘स्कि’ खेल्न जाँदा इन्सब्रक पुगेको थिएँ । अहिले टाइगर वुडको भूत चढेर गल्फ खेल्नतिर लागियो र अलिक बूढो भएर पनि होला त्यति स्की खेल्न जोस चलाउन छाडें । तैपनि आल्पस पर्वतको पुरानो यादहरु मेरो दिमागमा झलझली नाचिरहेको थियो ।
इन्सब्रक छाडेको एकघण्टा पछि रेल ब्रेनर उपत्यकातर्फ गुड्दै गयो । त्यहाँका हरिया घाँसे जमिनहरु, लोभलाग्दा डाडाँकाडाँहरु, नदीनालाहरु, आकर्षक जङ्गलहरु मात्र नभएर मानवद्वारा निर्मित रेल र मटरका बाटाहरुले हरेक मानिसको हृदय छुने गर्दछ । मलाई किन हो किन ‘बर्गन उपत्यकाको रेलयात्रा’ नै सम्भवत संसारको सबैभन्दा रमाइलो यात्रा होला भन्ने मेरो मनमा लागिरहेको थियो । किनभने गृष्मकालीन समयमा अष्ट्रिया, इटाली र स्वीटजरल्याण्डका पर्वतहरु सार्है रमाइला देखिने गरेका थिएँ । त्यसैले म जस्तै हरेक प्रकृतिप्रेमीहरुको लागि बर्गन उपत्यकाको काख ज्यादै प्यारो काख भन्ने लागि रहन्थ्यो ।
दिउँसोको एकबजेतिर सेक्सपियरको भरोना पुगेर हामी रेलदेखि झरेका थियौं । अब त्यहाँ पुगिहालेपछि कसो ‘जुलियटको’ दाहिने वक्षस्थलमा हात राखेर तस्वीर नखिच्ने होला भनेर म भित्रभित्रै सुर कस्न थालेका थिएँ । तर जिन्दगीका सबै अभिलाषाहरु त्यति सजिलै कहाँ पुरा हुने रहेछन् भन्ने मलाई त्यसबेला भयो । जतिबेला ताराले, ‘कसैलाई नभएको तपाईको रहर, भाइबैनीको अगाडि अलिकति पनि लाज शरम लाग्दैन ?’ भन्दा मेरो हृदय त जलेर खरानी भइहाल्यो, झन अनुहार कुच्चिएको टुम्लेट झै कच्याककुच्चुक भयो । उनको त्यो भनाइ सँगसँगै अर्को रेल चढेर सेन्ट लुसिय स्टेसन भेनिस पुग्दा बेलुकीको समय छ बजिसकेको थियो ।
हामी भेनिसमा चार दिन बसेका थियौं । चार दिनपछि ३ बजेर ४८ मिनेट जाँदा पेरिस जाने एउटा रेललाई पकडेयौंं । अहिलेसम्म चढेका रेलहरुमध्ये त्यो रात्रिकालीन रेल अलिक भिन्न प्रकारको थियो । जुन रेललाई ‘थेलो’ रेल भनिन्थ्यो र अलिक पुरानो भएपनि त्यहाँभित्र एक(एक जना सुत्न मिल्ने बिस्तारा (बङ्क बेड) चाहिँ थिएँ ।
हामी तिनै रेलभित्र रातभरि सुतेर बिहानको साढे दशबजे पेरिस पुगेका थियौं । पेरिसमा दुईदिन समय बिताएर युरो स्टारदेखि लण्डन आइपुग्दा हामीले एउटा पुरै युरोपियन सेलरोटी पकाएका थियौं ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप