आजको स्तम्भः रमाइलो शनिबार

धरानको पब्लिक स्कुलः कोटा छ, कोठा छैन

सरकारी स्कुलमै विद्यार्थीको यस्तो लर्को, विज्ञान सङ्कायमा पुगे निजी स्कुलका ‘टपर’ विद्यार्थी, यहाँकै शिक्षकले पनि पत्याउँदैन थिए, अहिले पढाउँदैछन्ः प्रअ (भिडिओसहित)


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष ४

धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालिपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको छ ।
कोटा छ, कोठा छैन
कक्षा–१२ मा ६१० जना विद्यार्थी अध्ययन गरिरहेको पब्लिकमा यस वर्ष कक्षा–११ मा मात्रै ६५० बढी विद्यार्थी भर्ना भइसकेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । त्यसैले अहिले सबैलाई कोटा छ, कोठा छैन भन्दै फर्काउनुपरेको उनले बताए । ‘सरकारी स्कुलमा के को कोटा भन्दै अभिभावक गुनासो पोख्छन्’, उनले थपे, ‘हुन पनि हो तर कोठा नभएपछि कोटा छ, कोठा छैन भन्नुपरिरहेको छ ।’
केहीदिनदेखि पब्लिकमा भर्ना रोकिएको पनि उनले जानकारी दिए । ‘केहीदिनदेखि यहाँ भर्ना रोकिएको छ’, उनले थपे, ‘हामीले पब्लिकमा कुनै पनि कक्षामा भर्ना गर्न पाइने छैन, अब कोठा छैन भन्दै नर्सरीदेखि १२ कक्षासम्मको भर्ना प्रक्रिया रोकेका छौं ।’
सरकारी स्कुलकै शिक्षकले पत्याउँदैन थिए
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए ।
‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
अहिले त्यहाँ पढ्छन् निजीमा पढ्दै गरेका शिक्षकका छोराछोरी
अहिले पब्लिकमा अध्यापनरत् शिक्षकका छोराछोरी पनि पब्लिकमै पढ्दै आएका छन् । यसअघि धरानकै विष्णु स्कुल पढ्दै आएका पूर्व प्रधानाध्यापक लेखनाथ भट्टराईका छोरा अहिले प्लस टुमा पब्लिकमै पढ्छन् । त्यस्तै, प्लस टु कोअर्डिनेटर वीरेन्द्र साहका छोरा दिल्ली पब्लिक स्कुलमा पढ्ने अहिले सोही स्कुलमा कक्षा–८ मा पढ्न थालिसकेका छन् । शिक्षक सागर सुवेदीले पनि हिमालयन पढ्दै आएका आफ्नो नानीलाई सोही विद्यालयको कक्षा–८ मा पढाउँछन् भने श्यामराज श्रेष्ठका छोरा युरेका स्कुलबाट आएर सोही स्कुलमा पढ्न थालिसकेका छन् ।
अहिले निजीका टपर पनि पब्लिकमा
यसपटक विज्ञान सङ्कायको मात्रै कुरा गर्ने हो भने कोटा पूरा भइसकेको छ । दशैंअगाडि नै कोटा पूरा भएको उनले जानकारी दिए । प्रदेश १ का विद्यार्थी यहाँ पढ्न आएको उनले जानकारी दिए ।
यस्तै, निजी पढ्ने टपर विद्यार्थी पनि यहाँ विज्ञान सङ्काय पढ्न आइपुगेको उनले जानकारी दिए । उनले यो वर्ष मात्रै विभिन्न विद्यालयबाट साढे चार सय विद्यार्थी आएको बताए । ‘कोही निजीबाट छन्, कोही सरकारीबाट पनि आएका छन्’, उनले भने, ‘यसपटक साँच्चै भन्ने हो कक्षा–११ को विज्ञान सङ्कायमा निजी विद्यालय पढ्ने टपर विद्यार्थी पनि यहाँ आएका छन् ।’
उनले अबदेखि पब्लिक अर्थात् सरकारी स्कुललाई पनि अभिभावकले पत्याउनुपर्ने बताए । ‘राम्रा विद्यार्थी पनि यहाँ पढ्दा अभिभावकले पत्याएको भन्नुपर्छ’, उनले थपे, ‘तर हामीलाई चुनौती पनि छ, अभिभावकले त राम्रा विद्यार्थी ल्याएर छोडिदिए, अभिभावकलाई अझै पत्याउने बनाउन अब कम्मर कसेर लाग्छौं ।’
तीन वर्षभित्रमा अन्डरग्राण्ड पार्किङसहितको पाँचतले भवन बन्दै
तीन वर्षभित्रमा पूरा गर्ने तयारीका अन्डरग्राउण्ड पार्किङसहितको सुविधा भएको पाँचतले भवन बनाउने तयारीमा जुटेको उनले बताए । कोटा भएपनि कोठा नभएपछि आफूहरु लागिपरेको उनले बताए । उनले भवन बनेपछि अझै विद्यार्थी बढ्ने बताए ।
अहिले भवनको डीपीआर तयार भइसकेको छ । सरकारले नमूना विद्यालयका लागि ५ वर्षसम्म प्रत्येक वर्ष आर्थिक सहयोग उपलब्ध गराउने जनाइएको छ ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नमूना विद्यालय विकासका लागि विद्यालय छनौटमा धरानको पब्लिक हाइस्कुल पनि परेको थियो ।
सरकारले हरेक स्थानीय निकायमा एउटा नमूना विद्यालय विकास गर्ने योजना बनाएको थियो । स्थानीय निकायका १०० वटा कोटामध्ये पब्लिक पनि परेको हो ।
कक्षा ६ देखि ९ सम्मको अंग्रेजी माध्यममा पठनपाठन हुँदे आएपछि अझै विद्यार्थी बढेका हुन् । विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दैै विद्यालयले २ वटा बस सेवा समेत सञ्चालन गरेको छ । यहाँ विज्ञान, म्यानेजमेण्ट, व्यवस्थापन, शिक्षा, इलेक्ट्रिकल इञ्जिनियरलगायतको पढाइ हुने गरेको छ । २०६३ सालबाट प्लस टुको पढाइ शुरु भएको पब्लिकमा सरकारी कोटामा कक्षा–९ देखि नै इलेक्ट्रीकल इञ्जिनिरिङको अध्ययन अध्यापन हुन्छ ।
भिडिओमा हेरौं र सुनौं विद्यार्थीको राम्रो कुरा, अभिभावकको गुनासो अनि प्रधानाध्यापकको योजना:

यी तलका तस्वीर कोरोना महामारीअघि लिइएका हुन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप