आजको स्तम्भः रमाइलो शनिबार

धरानको नवोदय स्कुलका शिक्षकलाई तालिम

विद्यार्थीलाई ‘तिमी र तपाई’ शब्दले सम्बोधन गरिने, शिक्षकलाई छडी बोक्न प्रतिबन्ध, संस्कार सिकाऔं भन्ने ध्येय होः प्रिन्सिपल


  • हाम्रो कोशी आवाज
  • २०७७ पुष ४

धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिर स्कुलले शिक्षकलाई विशेष तालिम दिएको छ ।
नयाँ व्यवस्थापनका साथ नवोदय कलेजकै टिमले स्कुल सञ्चालनमा ल्याएपछि टिमले नयाँ भिजन र मिसन शुरु गरेको जनाएको छ । शिक्षकलाई कसरी अझै गुणस्तरीय शिक्षा प्रदान गर्ने साथै कसरी विद्यार्थीलाई संस्कार दिन सकिन्छ ? आदिबारे तालिम दिइएको प्रिन्सिपल डम्बरकुमार तुम्वापोले जानकारी दिए । ‘शिक्षण सिकाइ क्रियाकलापलाई विद्यार्थीको रुचि र क्षमताअनुसार व्यवस्थित बनाउनको लागि तालिम दिइएको हो’, उनले भने ।
विद्यालयले विशेषतः संस्कारयुक्त शिक्षामा जोड दिँदै जाने उनले ठोकुवा गरे । तालिम दिइएअनुसार विद्यार्थीलाई अबदेखि स्कुलमा ‘तँ’ शब्दले सम्बोधन गर्न पाइने छैन । ‘अबदेखि सबै विद्यार्थीलाई ‘तँ’ भनेर सम्बोधन गर्न पाइने छैन, ‘तिमी’ वा ‘तपाई’ भनेर सम्बोधन गर्नुपर्ने नियम बनाइएको छ, तालिममा अन्य विषयसँगै सो विषयमा बढी केन्द्रित थियोे’, उनले भने, ‘हाम्रो उद्देश्य संस्कारयुक्त शिक्षा दिऔं भन्ने हो ।’
विद्यार्थीलाई ‘तँ’ भनिरहँदा अलि ‘ह्यारेसमेन्ट’ पनि हुनसक्ने र पछि उसले पनि त्यही संस्कार सिक्ने हुनाले अलि फरक ढङ्गले संस्कारै सिकाउँदै जाऔं भनेर यस्तो नियम बनाइएको उनले जानकारी दिए । उनले अबदेखि शिक्षकको हातमा छडी पनि नबोक्ने सिष्टम बनाइएको बताए । ‘छडी बोक्दा विद्यार्थी तर्सिने, झर्किनेसम्मको हुनसक्छ भन्ने कुरा हामीले बुझेका छौं’, उनले थपे, ‘अबदेखि प्रत्येक शिक्षकको हातबाट छडी हट्छ, विद्यार्थी तर्सिने, झर्किने हुँदैनन्, संस्कार नै सिकाउँदै जान्छौं ।’
यस्तो कुरामा अबदेखि ख्याल राख्नुपर्ने आवश्यकता भइसकेको उनको भनाइ छ । ‘शिक्षण एउटा कला मात्रै नभएर सामाजिक गतिविधि तथा विद्यालय सामाजिकीकरण गर्ने संस्था पनि हो । शिक्षण सिकाइमा विविध पक्षमा ध्यान दिनुपर्ने हुन्छ’, उनले थपे, ‘शिक्षण सिकाइ प्रभावकारिताको सूचक विद्यार्थीले हासिल गर्ने उपलब्धीस्तर हो, त्यसैले यस्ता विषयमा पनि ख्याल राख्नुपर्छ भनेर लागिपरेका छौं ।’
उनले विद्यालयमा रोचक र गुणस्तरीय शैक्षिक वातावरणको सुनिश्चितताको लागि प्रत्यक्ष सरोकार राख्ने शिक्षक, विद्यार्थी, अभिभावक तथा व्यवस्थापन लगायतका पदाधिकारीबीच सुमधुर सम्बन्ध, सहकार्य, सद्भाव, सहयोग गर्ने उत्साहजनक वातावरण तर्जुमा एवम् सिर्जना गर्न विद्यालय लागिपरेको बताए ।
युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झाले शिक्षकको लागि तालिम आवश्यक रहेको र स्कुलले धेरैजसो समयमा यस्ता तालिम आयोजना गरिरहनुपर्ने सुझाए ।
स्कुलका सहायक प्रिन्सिपल विद्याभुषण गुप्ताले यस वर्षदेखि फरक ढङ्गले विद्यालय सञ्चालन भइरहेको बताए । ‘हामीले पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा अहिले अनलाइन कक्षादेखि नै थालनी गरिसकेका छौं, भौतिकरुपमै स्कुल सञ्चालन थालेपछि अझ व्यवस्थित गर्दै यस्ता क्रियाकलापलाई सुक्ष्म ढङ्गले अघि बढाउँछौं ।’ उनले भने ।
धरान–१६ अन्नपूर्ण चोकमा रहेको स्कुल नयाँ व्यवस्थापनका साथ अघि बढिरहेको छ । कलेजकै टिमले यस वर्षदेखि स्कुल सञ्चालन गर्ने भएको छ । यस वर्ष स्कुलले नै निःशुल्क पोशाक उपलब्ध गराउने प्रिन्सिपल तुम्बापोले जानकारी दिए ।
अहिलेको टिम नवोदय कलेज र युएन कलेज अनि स्कुल हाँकिरहेको टिम हो । टिमकै कारण नवोदयले सञ्चालन गर्ने म्यानेजमेण्ट र होटल म्यानेजमेण्ट पूर्वमै ब्राण्ड बनिसकेको छ । ‘हामी अझै केही नयाँ भिजन दिने तयारीमा छौं’, प्रिन्सिपल तुम्बापो भन्छन्, ‘सबै शैक्षिक क्षेत्रमा भिजेको, खारिएका टिम छौं, केही नयाँ सोंच, केही नयाँपन दिएर विद्यालयलाई थप मजबुत बनाएर लान्छौं ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप