
धरानः हट्टाकट्टा, केही माटो, खाइलाग्दो ज्यान । जो मोडलिङमा सपना बोकेर ओर्लिन्छन् उनीहरुका लागि यो नौलो नाम होला तर मोडलिङ क्षेत्रकै कुरा गरिरहँदा भने धरानमा डिजे ललित भनेपछि चिनिहाल्छन् । जसले धरानका सयौं युवायुवतीलाई स्टेजमा उतार्न सफल बनिसकेका छन् ।
उनीहरू सबैलाई क्याटवक सिकाउने प्रशिक्षक बन्दै उनी अघि बढिरहेका छन् । उनी युवा तथा युवती, महिला तथा पुरुष मोडललाई ब्युटी पेजेन्ट, मोडलिङ र रयाम्पमा हिँड्नेलाई प्रशिक्षण दिन्छन् । मोडलले आफूलाई कसरी प्रस्तुत गर्ने, शारीरिक हाउभाउ, क्याटवक कसरी गर्ने अनि स्टेजमा पुगिसकेपछि कसरी प्रतिभा पस्किनेलगायत कुरा सिकाउँदै अघि बढ्नु उनको पेशा हो । मोडललाई प्रशिक्षण दिँदा चालढाल, मनोवृत्ति, शारीरिक कोण, हिँडाइलगायत ख्याल गर्ने र मोडलिङका लागि यो सब अति आवश्यक रहेको उनले बताए । सन् २००३ बाट यो पेशा अङ्गाल्न थालेका उनी प्रदेश १ मा व्यस्त डिजे अनि कोरियोग्राफर हुन् भन्दा हुन्छ ।
धरानका चलेका सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चल, मिस प्लस टु, मिस एसइईबाट नाम कमाएका उनले डिजेइङ प्रारम्भ गर्दादेखि नै डिजे उपमा पाएका थिए । बीपी प्रतिष्ठानका डाक्टरदेखि विराटनगरमा मारवाडी समुदायका महिलालाई आफ्नो कलाको स्वाद चखाइसकेका उनले शुरुमा चाडबाडका बेला डिजेइङ गर्थे ।
२००३ तिर क्लब पनि केही थिएन । सानैदेखि नाच्न, गाउन मन पर्ने उनी एसएलसीपछि प्लस टु पढ्न काठमाडौं पुगे । उनले सामूहिक पाटीमा सहभागी भएर साङ्गीतिक पाटोको जिम्मा लिन्थे अर्थात् त्यसबेला डिजेइङ गर्थे । उनले सम्झिए, ‘साथीभाइले नै डिजे भन्न थाले । दिनका दिन यस्तो कार्यक्रम म डिजे बनें । स्पेशल कोर्ष नलिएपनि मैले साथीभाइको विश्वास जित्दै गएँ ।’
त्यसपछि उनी धरानलाई पार्टीमय बनाउन उनी लागिपरे । त्यससँगै उनले धरानमा विभिन्न पाटी कार्यक्रम आयोजना गर्न थाले । कडा मिहिनेत, परिश्रम गर्दै उनी अगाडि बढिरहे । उनी अहिले डिजेकारुपमा परिचित छन् । अहिले गर्वका साथै भनिरहन्छन्, ‘स्टेजमा उतार्नुमात्रै ठूलो कुरा रहेन तर जति स्टेजमा उत्रिए, प्रतिभा प्रदर्शन गरे, तीमध्ये केहीले राष्ट्रियस्तरमा नाम, दाम कमाउँदा अनि धरानको नाम राख्दा उनी र धरानेले गर्व गर्नुपर्ने ठाउँ रहन्छ ।’
धरान आफैंमा फेसनेबल सहर हो । यहाँ फेसनसम्बन्धी कार्यक्रम, फेसनसम्बन्धी डिजाइन, पहिरन, हेयर स्टाइल आदि पनि फरक छ । भन्छन्, ‘यो फिल्डमै यस्तै हो, जसले आफ्नो नामसँगै ठाउँ विशेषको पनि नाम राख्छ, अहिले धरान फेसनकै कारण पनि चिनिएको छ ।’
सिक्दै सिकाउँदै
उनी अहिले सिक्दै सिकाउँदै आएको बताउँछन् । ‘मैले स्पेशल कोर्ष त केही लिएको छैन, विशेषतः रिसर्च गरेर नै यो क्षेत्रमा आइपुगेको हुँ, म अहिले पनि सिक्दै सिकाउँदै आएको छु भन्छु ।’
सौन्दर्य प्रतियोगिता फेसन कि प्रतिभा प्रदर्शनको माध्यम ?
सौन्दर्य प्रतियोगिता विशेषतः फेसनसँगै प्रतिभा प्रदर्शनको माध्यम भएको उनी बताउँछन् । ‘मान्छे अनुहारमात्रै राम्रो भएर हुँदैन, शारिरीकरुपमा राम्रो भएर मात्रै पनि हुँदैन’, उनले खुलाए, ‘यो एउटा प्रतिभा प्रदर्शनको माध्यम हो । किनभने यसले युवापुस्ताको प्रतिभा प्रदर्शन गरिरहेको हुन्छ, यसले कल्चरदेखि अन्य बोलीचाली, अनुशासनका कुरा पनि सिकाउँछ ।’
यस क्षेत्रमा युवायुवतीले प्रगति पनि गरेका छन्
माला लिम्बू, प्रियारानी लामा, मधु भट्टराईलगायतले अहिले राष्ट्रियस्तरमा नाम कमाइसकेका छन् ।
भविष्यको धरान
धरान ग्लामर, फेसनका हिसाबले थोरै समयमा धेरै अगाडि बढिसकेको उनको भनाइ छ । धरानमै धेरै डिजाइनर जन्मिसकेका छन् । बुटिक पनि धेरै छन् । अहिले घरघरमै डिजाइनर जन्मिसकेको उनी बताउँछन् । ‘धरानको फेसन भनेपछि देशविदेशसम्म चिनिएको छ, भविष्यमा यो फिल्ड धेरै राम्रो बन्छ । मोडलिङ वेश हो, व्यक्तित्व निखार्ने र व्यक्तित्वको विकास गर्ने काम गर्ने हुनाले पनि यसको भविष्य छ ।’
छोरा मान्छेले छोरी मान्छेलाई सिकाउन गाह्रो
‘शुरु शुरुमा यो पेशा वा व्यवसायले मलाई निकै गाह्रो बनायो’, उनले खुलाए, ‘तालिम शुरु गर्दा मनभित्र गाह्रो हुन्थ्यो, तालिम शुरु गर्दाताका त छोरीमान्छे नै सिकाउनुपर्छ पनि भने, अहिले अलि सहज हुँदै गएको छ ।’
उनी थप्छन्, ‘कुनै पनि पेशा वा व्यवसाय, युवतीका लागि वा युवाका लागि भनेर बनाइँदैन, यी सब मान्छेको सोचाइमा भर पर्ने कुरा हो । ‘मेरो यो पेशा हो, यही पेशामा केही अप्ठ्यारो भएपनि अहिले सहज भने छ ।’
मोडल हुनका लागि क्राइट एरिया छ
मोडल हुनका लागि रयाम्प मोडलमा ५.३ हाइट हुनुपर्ने, फिजिक्कली राम्रो, प्रतिभा प्रदर्शन गर्न सक्ने हुनुपर्ने उनी बताउँछन् । मोडलिङ पनि धेरै प्रकारको (रयाम्प, पेपर, एड मोडलिङ आदि) हुने गरेको उनी बताउँछन् ।
मोडलिङलाई व्यवसायिक
मोडलिङलाई व्यवसायिक रुपमा लाने योजनामा उनी छन् । ‘म अहिले एउटा स्टुडियो र हल निर्माणको तयारीमा जुटिरहेको छु, अहिले काम भइरहेको छ, धरान र प्रदेश १ मा मनदेखि लागेका मानिसलाई टेवा पुग्छ भन्ने हेतुले एजेन्सीमार्फत् ट्रेनिङ सञ्चालन गर्दैछु ।’ उनले बजार व्यवस्थापन राम्रो भए यो व्यवसायिक हुने बताउँछन् ।
अझै भन्ने हो भने रयाम्प शोलाई डिजाइनरले डिजाइन गरेको पहिरनलाई फेसन पारखीमाझ देखाउने माध्यमको रूपमा प्रयोग गरिन्छ । यस्तो शोमा डिजाइनरका विभिन्न थिमका पहिरन लगाएर मोडलले रयाम्प नाप्छन् । रयाम्प शोले डिजाइनरलाई त फाइदा हुन्छ नै, रयाम्प नापेवापत मोडलहरूले पनि राम्रै पारिश्रमिक लिने गरेका छन् । कुनै समय रहरले फेसन शोमा रयाम्पमा नाप्ने मोडलहरूले विस्तारै यसबाट कमाइ गर्न थालेका छन् ।
मोडलका लागि पैसा र एक्सपोज दुवै परिपूरक हुन् । फेसन सोमा रयाम्प नाप्दा आउने पैसाले उनीहरूको गोजी रामै्र भरिन्छ नै । धेरै प्रायोजक खोजेर फेसन शोको आयोजना गर्ने आयोजकसँगै आफ्नो डिजाइनका पहिरन देखाउन प्लेटफर्म खोजिरहेका डिजाइनरको अनुहारमा पनि ‘सफलता’ को चमक प्रस्टै देखिन्छ । समग्रमा मौलाउँदै गएको फेसन सो मोडलका लागि कमाइ गर्ने भरपर्दो माध्यमकारूपमा विकसित हुँदै गएका छन् ।