धरानमा चटपटे बेचेर गुजारा चलाउने महिलाको सहयोगबाटै घर बन्ने


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर २०

धरानः धरान–१७ की एकल महिला जानुकामाया विश्वकर्माको घर निर्माण हुने भएको छ ।
सोमबारबाट घर निर्माण थालनी हुने जनाइएको छ । धरान–१७ बिजुवा मार्ग निवासी एकल महिला जानुकामायाको घर निर्माणका लागि एकलाख नगद जम्मा भएको छ ।
यसअघि धरानका पत्रकारहरूले देउसी खेलि संकलन गरेको रकम, मजदुर संगठन तथा विभिन्न दाताहरूबाट ८२ हजार नगद संकलन गरी विकको नाममा जम्मा गरिदिएको थियो । त्यसैमा धरानमा पत्रकारहरूले अघिल्लो वर्ष तिहारका बेला देउसी खेलेर जम्मा गरेको १८ हजार आज थप गरिदिएपछि कुल रकम एकलाख पुगेको घर निर्माण अभियन्ता अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले जानकारी गराए ।
नगद हस्तान्तरण गर्न १७ का अध्यक्ष मनोज भट्टराई, युवा नेता दीपक बनेपाली, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, पत्रकार रोहित राईलगायत विकको घरमा नै पुगेर नगद प्रदान गरेका थिए । नगद हस्तान्तरण गर्दै धरान १७ का अध्यक्ष भट्टराईले विकको घरको नक्सा तयार भइसकेको बताउँदै भोलि सामान ल्याएर पर्सी सोमबारबाट घर निर्माणको थालनी गर्ने बताए ।
यसअघि धरान–१७ का पत्रिका बेच्ने हकर ज्ञानबहादुर माझीको घर निर्माणका अगुवा जनकऋषिलाई विकको समेत घर निर्माणका लागि कुरा राखेको थिए । उनले भने, ‘त्यसपछि पत्रकारको देउसीमा संकलित रकमबाट विकको घर निर्माणको अभियान थालनी भयो । विकको घरको नक्सा तयार छ, भोलि घर निर्माणका सामग्री झारिनेछ र पर्सिबाट काम हुनेछ ।’
यसअघि नै निर्माण थालनी गर्ने सोच बनाएको भएपनि बीचमा जनता आवासमा समेत विकको नाम परेकोले त्यसको पैसा पर्खिरहँदा ढिला भएको अध्यक्ष भट्टराईले बताए । ‘जनता आवासको पैसा नआएकाले अब हामी आफैले घर निर्माण गर्नेछौं’, उनले भने, ‘जनशक्तिका लागि हामी आफै खट्ने तयारी गरेका छौं । एउटा मिस्त्री राख्ने र बिहान र दिउँसोको सिफ्ट गरी स्थानीय युवाहरूलाई नै जनशक्तिका रूपमा खटाउने छौं ।’ विकको घर निर्माणका लागि सहयोग गर्न इच्छुकहरूले सामग्री, नगद वा श्रम जसरी पनि सहयोग गर्न सकिने अध्यक्ष भट्टराईले बताए ।
एकल महिला विकको जग्गामा रहेको जीर्ण घरमा १८ वर्षीय छोरा र १५ वर्षीया छोरी साथमा बस्दै आएकी छिन् । उनी भने घरमा नै सामान्य चटपटे बेचेर जीविकोपार्जन गर्दै आएकी छिन् । विकको नाममा रहेको १० धुर जग्गामा घर निर्माण हुने भएको हो । विकको सहयोगका लागि लक्ष्मी बैंक धरान शाखामा रहेको जानुकामाया विश्वकर्माको खाता नं. ०२३२३०६२०७५ मा सहयोग गर्न सकिने वा सिधै धरान–१७ विजुवा मार्गमा गएर प्रत्यक्ष भेट गरी सहयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप