शिक्षा र बालबालिका विशेषः

रमाइलो शनिबार


  • हाम्रो कोशी आवाज
  • २०७७ मंसिर २०

लागूऔषध न्युनीकरणमा विद्यार्थीको भूमिका छ

-आरोहण निरौला, विष्णु मेमोरियल मावि, धरान–९

सर्वप्रथम लागूऔषधको बारेमा प्रष्ट्याउन चाहन्छु । मानिसहरूलाई नशामा डुबाएर लठ्याउने पदार्थ नै लागूपदार्थ हो । लागूऔषधले आजको हाम्रो समाजमा धेरै विकृतिहरू फैल्याएको छ । यही लागूऔषधले गर्दा आजको हाम्रो समाजका मानिसहरूले आफ्नो काम र कर्तव्यहरू बिर्सिसकेका छन् । लागूऔषध कुलतका कारण आजको समाजका मानिसहरूले के सही र के गलत छुट्याउन सकिरहेका छैनन् । जसको कारण समाजमा अनैतिक कामहरू गर्न थालेका छन् । अझ भन्ने हो भने आजका युवा र विद्यार्थीको ठूलो दुश्मन भनेको लागू औषध हो । लागूऔषधको कारणले समाजको विकासमा प्रत्यक्ष–अप्रत्यक्ष असर परिरहेको छ ।
यस्ता समस्याहरूलाई न्युनीकरण गर्दै समाधान गर्न विद्यार्थीले ठूलो भूमिका निर्वाह गर्न सक्छन् । विद्यार्थीले चाहने हो भने लागूऔषध दुव्र्यसनको समस्या जरैदेखि उन्मुलन गर्न सक्छन् । विद्यार्थीहरू समाज परिवर्तनका संवाहक पनि हुन् । समाजमा रहेका विभिन्न संघसंस्थाहरू भन्दा विद्यार्थीले यी समस्याहरू समाधान गर्न सक्छन् ।
सशक्त भूमिका निर्वाह गर्न सक्छन् । लागूऔषध न्युनीकरणमा विद्यार्थीहरूले समाजलाई जागरुक बनाउँदै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ठूलो भूमिका निर्वाह गर्न सक्छन् । अन्य मानिसभन्दा विद्यार्थीले फैलाउने जनचेतनामा फरक हुन्छ । संघसंस्थाले फैलाउने जनचेतना भनेको पत्रपत्रिकामा छाप्नका लागि मात्रै पनि हुन् सक्छ तर विद्यार्थीले फैलाउने जनचेतना भनेको उपलब्धि हासिल गर्ने प्रकारको हुन्छ । आजका विद्यार्थीहरू आफ्नो कर्तव्य बिर्सिएर लागूऔषध दुव्र्यसनमा फँस्ने गरेका छन् ।
समाजमा विकराल समस्याको रूप लिइरहेको लागूऔषध समस्या थाहा पाएर पनि थाहा नपाएजस्तो गरी बस्ने मानिसहरूलाई विद्यार्थीले आँखा खोलिदिन सक्छन् । अन्त्यमा आजका विद्यार्थीहरू आफैमा सचेत हुन सके मात्र हाम्रो नेपालको भविष्य सुन्दर हुन सक्छ भन्ने मलाई लाग्दछ ।

कविताः भाग छिटै कोरोना

ललिता ‘दोषी’

भाग छिटै कोरोना
बसेको छु घरमा
बन्दी चरी भएर
दुःख पीडा सहेर

अब कहिल्यै थुन्दिनँ
सानी राम्री चरीलाई
बुझेँ दुःख पीडा त
यो जिन्दगीभरिलाई

कुँजिन त गाह्रै भो
दिन बिताउँन साह्रै भो
वनमा उड्ने चरीलाई
कस्तो होला बरिलै !

फ्याँक्छु आजै पिँजडा
मनको दुःख बुझेरे
पर्दैन बाँच्न तिनले अब
आँसुमा नै रुझेर ।

बालकथाः गाउँलेको नाटक

नन्दलाल आचार्य

उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।
हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।
योजनाअनुरूप हरिया र शुक्रे साधन वा सत्तिसालको हरिस र अनौँ काट्न वन गए । हरियालाई शुक्रेले धेरै टाढा पुरयायो । र, आफू कतै अलप भयो । हरियाले जोडतोडका साथ बोलायो तर शुक्रेको अत्तोपत्तो लागेन ।
हरियाले बाटो भुल्यो । चारैतिर दगुर्यो, चिच्यायो, सुसेल्यो । वन्यजन्तुका सत्र्याङसुत्रुङ आवाज बाहेक अर्थोक केही सुनेन । त्यही आवाजले ऊ झन् अत्तालियो । र, चालचुल नगरी ठुलो रूखमुनि थच्चियो ।
आँखाभरि आँसु पारेर पुकारा गर्न थाल्यो, ‘हे वन देवता ! मलाई यस प्रलयबाट बचाउनुस् । मलाई बाटो देखाउनुस् प्रभु ! म घर पुगेको हप्ता दिनभित्र एक जोर परेवा ल्याएर हजुरलाई चढाउँछु ।’
अकस्मात् वनदेवता प्रकट भए । देवताले लगाएको टल्कने वस्त्र र शरीरको शृङ्गारपटार देख्नासाथ हरियाका आँखा तिरमिराए । झट्टै वनदेवता बोले, ‘ए मनुष्ये ! आँखा बन्द नै गरिराख् । र, मेरा कुरा सुन् ।’
हरियाले आँखा खोल्न पनिसकेन र बोली निकाल्न समेत सकेन । झन् हल न चल भयो र ऊ काँपेका हात जोडेको जोड्यै रह्यो ।
वनदेवताको बोली सुनियो, ‘हरिया ! देवबलीको नाममा आफ्नो जीव्राको स्वादको लागि निर्दोष पशुपक्षीलाई काटमार गर्नु अर्को अपराध हो । परेवा वनमा उडाइदिनू । म तँलाई खबरदारीका साथ घर पुग्ने बाटो देखाइदिन्छु ।’
हरिया कुप्रो परेर काँपिरह्यो । वनदेवता भन्दै गए, ‘तँ प्याकुलीसँग सधैं भगडा गरेर गाउँलेहरूको पनि अमनचयन छिन्दो रहेछस् । प्याकुलीका बगेका आँसुको पापले तँ सङ्कटमा फसिँस् । जति झमेला गर्छस्, उती दुःख पाउँछस् ।’
आँखा नखोलीकन हरियाले बिन्ती बिसायो, ‘अब कहिल्यै त्यस्तो अधर्म गर्ने छैन, प्रभु !’ वनदेवताले दिशा सङ्केत गरेतिर हरिया गयो । र, साँझमा आफ्नो घरको आँगन टेक्न पुग्यो ।
प्याकुली र गाउँलेलाई सारा कुरा बतायो । र, मायालु नजरले हेर्दै प्याकुलीको हात समाएर घरभित्र पस्यो । शुक्रे अलप हुनु र वनदेवताको पदार्पण हुनुमा गाउँलेकै नाटक थियो भन्ने कुरा हरियाले कहिल्यै चाल पाएन । -लिखु अनलाइनबाट

क्रिस्तम श्रेष्ठ, विष्णु मेमोरियल मावि, धरान-९

लामखुट्टेले हाम्रो किन रगत पिउँछ ?

वर्षाको बेलामा लामखुट्टेको तनावमा नपर्ने सायद नेपाली कोहि पनि छैनन् होला । तर, के तपाईंलाई थाहा छ किन लामखुट्टेले मानिसको रगत चुस्छ ? लामखुट्टेमा मानिसको रगत पिउने बानीमा कसरी फसे वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन ।
लामखुट्टेहरूले मानिस र अन्य जनावरहरूको रगत पिउन थाले किनकि तिनीहरू सुख्खा क्षेत्रमा बस्ने गर्थे । जब मौसम सुख्खा हुन्छ र लामखुट्टेहरूले आफ्नो प्रजननको लागि पानी पाउँदैनन् तब तिनीहरूले मानव वा जनावरको रगत चुस्न थालेका हुन् ।
न्यू जर्सीको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरूले अफ्रिकाको एडीज एजिप्टीको लामखुट्टे अध्ययन गरे । यी लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलाउछन् । यसको कारणले नै डेंगू र पहेंलो ज्वरो पनि आउन सक्छ ।
न्यू साइन्टिस्टमा प्रकाशित प्रतिवेदनका अनुसार अफ्रिकाको लामखुट्टेमा एडीज एजिप्टी लामखुट्टेका थुप्रै प्रजातिहरू छन् । सबै प्रजातिको लामखुट्टेले रगत पिउँदैन । तिनीहरू अन्य खानेकुराहरूबाट बाँचेका हुन्छन् ।

प्रिन्स्टन युनिभर्सिटीका एक अनुसन्धानकर्ता नोआह रोजका अनुसार कसैले पनि विभिन्न प्रजाति लामखुट्टेहरूको आहारको अध्ययन गरेका छैनन् । अफ्रिका सर्बसहारा क्षेत्रमा २७ स्थानहरूबाट एडीज एजिप्टी लामखुट्टे अण्डा लिएर अध्ययन गरेको उनले बताए ।
यी अण्डाहरूबाट लामखुट्टेहरू जन्मन दियौं । तब मानव, अन्य प्राणीहरू, जस्तै गिनी पिगले तिनीहरूलाई प्रयोगशालामा बन्द डिब्बहरूमा छोडिदियौं ताकि उनीहरूको रगत पिउने बानी बुझ्न सकियोस । त्यहा एडीज एजिप्टी लामखुट्टेको बिभिन्न प्रजातिहरूको लामखुट्टेको खाना पूर्ण रूपमा फरक पायौं उनले भने ।
नोआह भन्छन, यो गलत साबित भयो कि सबै लामखुट्टेहरूले रगत पिउछन । यो त्यहाँ अधिक खडेरी र तातो क्षेत्रमा पर्छ । पानी पनि कम छ । त्यस्तो क्षेत्रमा लामखुट्टेलाई प्रजननको लागि ओस चाहिन्छ । पानीको अभाव पूरा गर्न, लामखुट्टेहरूले मानिस र अन्य जीवहरूको रगत पिउन थाल्दा रहेछन् ।
मानिस वा जनवारको रगत पिउने बानी धेरै हजार वर्षमा लामखुट्टे भित्र आएको छ । एडीज एजिप्टी लामखुट्टे भने बढ्दो शहरहरूको कारणले पानीको अभाव हुँदै गएपछि संघर्ष गर्न थाले त्यसपछि तिनीहरूले मानव रगत पिउन बाध्य हुन थाले । तर जहाँ मानिसहरू पानी भण्डार गर्छन्, त्यहाँ एनोफिलिस लामखुट्टे (मलेरिया रोग ल्याउने) सजिलै तरिकाले आउन सक्छ । तिनीहरूले आफ्नो प्रजन कूलर, गमलाहरू र क्यारीहरू जस्ता ठाउँहरूमा पैदा गर्छन् । तर, पानीको अभाव हुने बित्तिकै उनीहरूले रगत पिउन मानव वा अन्य जीवहरूमाथि आक्रमण गर्छन् । -एजेन्सी

किराना पसलमा गई ग्राहकः हजुर यहाँ के–के पाइन्छ होला ?
पसले आफ्नै धुनमा हुन्छ…।
ग्राहकः पसलेले न सुनेपछि । (अलि ठूलो ठूलो स्वरमा…) हजुर यहाँ के के पाइन्छ होला ?
पसले झर्किदैः सबैथोक पाइन्छ के चाहियो ।
ग्राहकः उसो भए रेखा थापाको नम्बर दिनु न ।

……………………………………………………………………………………………………………………………………………………………………………………………………………

स्कुलको एउटा बिल्डिङमा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै ‘ल अब स्कुल आउनुपरेन’ भन्दै खुशी भइरहेका थिए ।
तर त्यही बच्चाहरुको भीडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा टिचरले सोधेछः बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भइराखेका छन् त ?
विद्यार्थीः बिल्डिङमा आगो लागेर के गर्नु सर तपाईं त जिउँदै हुनुहुन्छ नि ।

…………………………………………………………………………………………………………………………………………………………………………………………………………

कालेलाई ठूलै लट्री परेछ अनि एउटा कपडा पसल खोल्यो ।
यस्तैमा एकदिन गोरेको बुढी कपडा किन्न कालेको दोकानमा गइछ । एउटा रातो साडीतिर देखाउँदैः त्यो रातो साडीलाई कति हो ?
काले जिस्किँदैः एक किस ।
गोरीले एकछिन सोचेपछिः ठीक छ, प्याक गरिदिनुहोस् ।
कालेले खुसी हुँदै प्याक गरिदिन्छ अनिः खोइ त मेरो किस ।
गोरीः म घर गएर सासुलाई पठाइदिन्छु है…भन्दै दोकानबाट जान्छे ।

हामीले नुन कहिलेदेखि खान थाल्यौं ?

नुनको स्वाद चाखिसकेको कसैले पनि नुनबिनाको खाना रुचाउन सक्दैन । तर नूनको बारेमा थाहा नपाएका प्राचीनकालका मानिसहरु चाहिँ के गर्थे होलान् त ? उत्तर सहज छ– उनीहरु नुनबिना नै खानेकुरा खाने गर्थे ।
वास्तवमा, अमेरिका तथा संसारका कतिपय ठाउँका मानिसहरुलाई युरोपियनहरुले खानेकुरामा नुनको प्रयोग गर्न सिकाएका थिए । अझै पनि मध्य अफ्रिकाका कतिपय स्थानहरुमा नूनलाई विलासिताको वस्तु मानिन्छ । त्यहाँ नूनलाई धनी मानिसहरुले मात्रै उपयोग गर्न सक्छन् ।
हाम्रो शरीरमा नून अति आवश्यक छ । तर दूध खाने तथा मासुलाई काँचै वा पोलेर खाने समुदायको लागि थप नुनको आवश्यकतै पर्दैन । उनीहरुले शरीर विकासको लागि आवश्यक पर्ने मात्राको नुन, त्यही दूध र मासुबाट नै पाइरहेका हुन्छन् । तर शाकाहारी तथा मासुलाई उसिनेर खानेहरुका लागि भने थप नूनको आवश्यकता पर्दछ ।
मानिसले घुमन्ते जीवन त्यागेपछि नुनको प्रयोग गर्न थालेको पाइन्छ । विशेषगरेर खेतीपातीको युगमा प्रवेश गरेपछि मानव जीवनमा नुन अभिन्न अंग बन्न पुगेको देखिन्छ । त्यसो त मानव जीवनमा नुनको महत्व खानालाई स्वादिलो बनाउने वा शरीरलाई आवश्यक पर्ने तत्वको अर्थमा मात्र सीमित छैन । यसको आफ्नै सांकेतिक महत्व पनि रहेको पाइन्छ । प्राचीनकालमा देउतालाई बली दिइँदा बलीको साथै नुन पनि दिने गरिन्छ । त्यसबेला नूनको आफ्नै विशेष धार्मिक महत्व रहेको पाइन्छ ।
खानेकुरालाई लामो समयसम्मका लागि सुरक्षित गर्नको लागि पनि मानिसहरुले नुनको प्रयोग गर्ने गरेको पाइन्छ । नुनको यही गुणले गर्दा यसलाई लामो समयसम्म सुरक्षित रहने वस्तुको प्रतीकको रुपमा पनि लिने गरेको पाइन्छ । एक समयमा युरोपतिर कुनै पनि सम्झौता वा लिखत गर्नुपर्दा नुन हालेको खानेकुरा खाएर तथा खुवाएर गर्ने गरिन्थ्यो । यसो गर्दा त्यो सम्झौता वा लिखत पक्का र दिगोकालसम्मको लागि भएको मानिन्थ्यो । हाम्रै नेपाली समाजमा पनि कसैकोमा नून हालेको खाना खाएपछि उसको भलाइ मात्रै गर्नुपर्छ भन्ने मान्यता कायमनै रहेको छ । भनाइ नै छ– नुनको सोझो गर्नू ।
नुनको महत्व मानिसले बुझ्दै गएपछि यसको व्यापारिक महत्व पनि स्थापित हुँदै गयो । रोचक त के छ भने, इटालीको एउटा प्राचीन सडकको नाम नै नुनको बाटो रहेको छ । यसको नाम यस्तो हुनुको कारण चाहिँ प्राचीनकालमा त्यही बाटो भएर नुन ल्याउने गरिनाले हो ।
हामीले कतै काम गरेवापत लिने मासिक तलबलाई अंग्रेजी भाषामा ‘स्यालरी’ भनिन्छ । यो शब्द पनि नुनबाट नै आएको हो । प्राचीन रोमनकालमा सैनिक वा अफिसरहरुलाई तलबको साटोमा नुन नै दिने गरिन्थ्यो । यसबाट पनि त्यसबेला नूनको कति व्यापक महत्व थियो भन्ने अनुमान गर्न सकिन्छ ।

दुर्लभ वन्यजन्तु हाब्रेको प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?
–इलामको सन्दकपुर
नेपालको संविधान २०७२ बमोजिम नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार को हुने व्यवस्था रहेको छ ?
–महान्याधिवक्ता (भाग १२, धारा १५७–१६१ सम्म महान्यायाधिवक्ता को व्यवस्था रहेको छ ।)
नेपालको नयाँ राष्ट्रिय गानको सार्वजनिक कहिले भएको हो ?
–२०६४ साउन १८
अफ्रिका महादेशमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ?
–भेल्ड
नेपाल सरकारद्वारा प्रदान गरिने अलंकारहरू कतिवटा छन् ?
–९ वटा
नेपालले सर्वप्रथम कुन देशसँग श्रम सम्झौता गरेको थियो ?
–कतार
सार्कले कुन वर्षलाई वातावरण वर्षका रूपमा मनाएको थियो ?
–सन १९९२
नेपालमा भौगर्भिक विभागको स्थापना कहिले भएको थियो ?
–२०२४ सालमा

७ वर्षीय बाबु अभिनय र चित्रकलामा खप्पिस

धरान लक्ष्मीचोकका बाबु पराजुली अभिनयमा खप्पिस छन् । ७ वर्षका मात्रै उनी अभिनयमा पोख्त बन्दै गएका छन् । धरानस्थित होलिगार्डेनमा चार कक्षामा पढ्दै गरेका बाबु चित्र कोर्न पनि खप्पिस छन् । नृत्य, चित्रकला, खेलकुदमा भाग लिँदै आएका उनले भविष्यमा हिरो र बिजनेश म्यान बन्ने लक्ष्य लिएको बताए । उनी अभिनयमा निकै खारिएका छन् । ‘अहिले म अभिनय सिक्दैछु, पछि गएर हिरो र विजनेश म्यान भनेर चिनिन चाहन्छु ।’
बाबु निश्चल पराजुली र आमा भावना राईका छोरा उनी सानैदेखि चकचके र केही गरिरहने स्वभावका थिए । उमेर बढ्दै जाँदा अहिले जस्तो अभिनय भनेपनि गर्न सक्छन् । अहिले आमाछोराले बनाएको टिकटक भिडियो चर्चामा छन् । आमाछोराले बनाएको सन्देशमूलक तथा कमेडी खालको टिकटक भिडियोले अहिले धेरैको मन जितेको छ । ७ वर्षीय छोरालाई हिरो बनाउने लक्ष्य लिएको निश्चल बताउँछन् । ‘अहिले बाटो देखाउने हो, तर जसको इच्छा पनि आफ्नो छोरा हिरो नै होस् भन्ने चाहना हुन्छ, त्यही भएर हिरो नै बनाउने लक्ष्य लिएको हो, भनौं, कलाकार बनाउन चाहन्छु ।’ उनले भने ।

अन्त्यमा लेख, रचना पठाउने बारेको सूचना

रमाइलो शनिबार स्तम्भ प्रत्येक शनिबार प्रकाशन हुन्छ । यसका लागि आफ्ना बालबालिकाका प्रतिभा, कथा, कविता, गीत, गजल, चुट्किला, सामान्य ज्ञान, आफ्नो विचार, चित्रकला, विज्ञानसँग सम्बन्धित कुरा, रमाइलो सामग्री आदि हाम्रो कोशी आवाजको इमेल [email protected] मा पठाउन सक्नुहुनेछ । सामग्री पठाउँदा शुक्रबारसम्म पठाइसक्नुपर्नेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप